चुनौतिले ऊर्जा दिन्छ

रुक्मिणी चौधरी

२०४६ सालको जनआन्दोलनका बेला रुक्मिणी चौधरी १२-१३ वर्षको मात्र हुनुहुन्थ्यो । उहाँका बुबा चितवन जिल्लाको क्षेत्र नं. –४ का नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा राँके जुलुस, बन्द र हडतालहरू हुन्थ्यो । घरमा बैठक बस्दा प्रहरीको गाडी आएमा रुक्मिणी बुबालाई खबर गर्ने काम गर्नुहुन्थ्यो । बुबा बैठकको समय बाहेक अरु समयमा कहिल्यै घरमा बस्नु हुदैँनथ्यो । प्रहरीले रुक्मिणी र उहाँकी दिदीलाई थानामा लगेर बुबा कहाँ बस्नुहुन्छ देखाउ भनेर सोध्थ्यो र कहिलेकाँही खानेकुरा दिएर पनि फकाउँथ्यो । ‘तर हामी भन्दिनन्यौं, काकाहरू थुनामा लिन गएपछि हामीलाई छाडिदिन्थ्यो’, उहाँ ती दिनहरू सम्झनुहुन्छ ।
रुक्मिणी चौथरीका बुबा कृष्ण गुरौ थारुले नेपाली काङ्ग्रेसमा रहेर ४० वर्ष लामो राजनीति गर्नुभयो । चुनौतिहरूसँग सामना गर्न मन पराउने रुक्मिणीलाई पनि बाल्यकालदेखि नै बुबाले गर्नुभएको काम देखेर ‘म पनि राजनीति गर्न सक्छु’ भन्ने आँट आउँथ्यो । तर, २०५४ सालमा दाङको देउखुरीमा बिहे भएपछि केही वर्ष रुक्मिणी उताकै परिवेशमा बाँधिन पुग्नु भयो र उहाँले केही वर्ष गृहणीकै रुपमा समय बिताउनुभयो । उहाँको श्रीमान् सनातनदेव सत्गौवा थारु गाविसको प्राविधिक सहायक पदमा कार्यरत हुनुहुन्थ्यो । रुक्मिणी भन्नुहुन्छ, ‘तर मेरो श्रीमान्को जागीर स्थायी हुने बेलामा राजनीतिकरण भयो । त्यतिबेला एमालेका नेता गाविस अध्यक्ष हुनुहुन्थ्यो । मेरो ठूलो बुबा परशुनारायण चौधरी थारु राप्रपामा भएकाले एमालेले हामीहरूलाई पनि राप्रपा भएको र मेरो माइती चाहिँ काङ्ग्रेस भएको भन्दै मेरो श्रीमान्लाई जागीरबाट हटाउन खोज्यो । तर, दुई महिना बाकी छँदा मैले नै श्रीमान्लाई त्यो पद छोड्न लगाएँ ।’ सोही बेलादेखि नै रुक्मिणीले मनमा अठोट लिनु भयो ‘कुनै न कुनै दिन म पनि देशको नीति निर्माण गर्ने ठाउँमा पुग्नेछु’ भनेर । चितवनमा जन्मे हुर्केकाले रुक्मिणीलाई दाङको थारु भाषा बोल्न आउँदैनथ्यो । त्यसैले नेपाली भाषा बोल्दा मातृ भाषा बोलेन भनेर समाजले हेप्न थालेपछि उहाँले थारु भाषा सिक्नकै लागि दाङमा महिला प्रौढ शिक्षा पढाउन थाल्नुभयो । त्यसरी पढाँउदा उहाँ सहभागीहरूलाई नेपाली भाषा पढाउनुहुन्थ्यो र उनीहरूबाट थारु भाषा सिक्नुहुन्थ्यो । यसरी महिला प्रौढ शिक्षामा काम गर्दै जाँदा उहाँको काम राम्रो देखिएपछि जिल्ला शिक्षा कार्यालय र अनौपचारिक शिक्षा केन्द्रले उहाँलाई काम गर्नका लागि प्रस्ताव गर्‍यो ।
त्यसपछि उहाँले जिल्ला शिक्षा कार्यालयबाट नियुक्ति लिएर उत्प्रेरकको काम गर्नुभयो । २०५८ साल तिर महिलाको आय आर्जन र बचत तथा ऋण कार्यक्रम दाङ जिल्लामै परिक्षणको रुपमा थियो । सामुदायिक अध्ययन केन्द्रमार्फत संचालित त्यो कार्यक्रम ३ वटा जिल्लामा निकै सफल भएको हुनाले अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरले अहिले देशव्यापि रुपमा प्रत्येक निर्वाचन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । अहिले उहाँ दाङ जिल्लाको श्री सिसहनियाँ सामुदायिक अध्ययनको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । २०६१ सालमा उहाँले नेपाल परिवार नियोजन केन्द्रिय कार्यालयद्वारा सञ्चालित चेलिबेटि बेचबिखन न्यूनिकरण परियोजनामा दाङ जिल्लाको सामुदायिक परिचालकको रुपमा ३ वर्ष नियुक्ति लिएर काम गर्नुभएको थियो । संविधानसभाको चुनाव अघि काङ्ग्रेस पार्टी त्याग्नु भएकी रुक्मिणीका अनुसार पार्टीको सिद्धान्त गलत नभए पनि त्यसभित्र व्यक्तिवादी प्रवृत्ति हावी रहेको र समावेशीको नाममा थारुहरूलाई भोट बैंकको रुपमा प्रयोग मात्र गरिएको छ । अन्तरिम संविधानमा नेपालका २० वटा जिल्लालाई मधेस घोषणा गरेपछि जातीय संख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन हुनुपर्छ भनेर ‘संयुक्त थारु राष्ट्रिय मोर्चा’ को नामबाट उहाँ पनि आन्दोलनमा सरिक हुनुभयो । लक्ष्मण थारु सो मोर्चाको अध्यक्ष हुनुहुन्थ्यो । रुक्मिणीका अनुसार ‘संयुक्त थारु राष्ट्रिय मोर्चा’ ले आन्दोलन गरेकोबेला प्रहरीको दमनमा परेर निक्कै कुटाई खाएर उहाँको देब्रे खुट्टा भाँचिएको थियो र मरी भनेर सुरक्षाकर्मीले उहाँलाई छोडेका थिए । त्यतिबेला १८ दिनसम्म आन्दोलन भयो । ‘महिलाको नेतृत्व मैले गरेको थिएँ, झण्डै ५ सय महिला जुटाउँथे’, उहाँ भन्नुहुन्छ, ‘ किन नेतृत्व गरिस् भनेर सुरक्षाकर्मीले कुट्थे ।’ आन्दोलनको १३ औँ दिन निकै क्षति भएपछि सरकारले मोर्चालाई वार्तामा बोलायो । त्यतिखेर उहाँ हस्पिटलमा खुट्टाको उपचार गराउँदै हुनुहुन्थ्यो । त्यहीँबाट वैशाखी टेकेरै वार्ता गर्न बालुवाटार गएको उहाँ सम्झनुहुन्छ । २०६४ फागुन १८ गते सरकार र उहाँहरू बीच ५ बुँदे सम्झौता भयो । संविधानसभाको निर्वाचनमा नजाने भन्दा आफूहरूलाई राजावादी भएको आरोप लागे पछि त्यही आन्दोलनबाट संयुक्त थारु राष्ट्रिय मुक्ति मोर्चा र सङ्घीय राष्ट्रिय गणतान्त्रिक मोर्चाका केही घटक मिलेर ‘सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च’ गठन गरी त्यसैमार्फत निर्वाचनमा भाग लिएको रुक्मिणी बताउनुहुन्छ । उक्त निर्वाचनमा उहाँको पार्टीका ९६ जना समानुपातिक उम्मेद्वार सूचीमा परेकोमा दुई जना मात्रै अन्तिमसम्म आइपुगे, जसमध्ये उहाँ पनि एक हुनुहुन्छ । राजनीति गर्छु भन्ने सोच भएपनि संविधानसभाको सदस्य बन्छु भनेर नसोचेको रुक्मिणी बताउनुहुन्छ । ‘तर पार्टीले नाम सूचीमा राखेर निर्वाचन आयोगमा पठाइसकेको रहेछ’, उहाँ भन्नुहुन्छ, ‘रेडियोबाट नाम आएपछि बल्ल थाहा पाएँ । अनि निर्वाचनको प्रचारप्रसारमा लागें ।’ आफूलाई राजनीतिमा आउन घरपरिवारबाट पनि सहयोग मिलेको रुक्मिणी बताउनुहुन्छ, ‘बच्चाहरू मेरो सासुले स्याहार गर्नु हुन्थ्यो । पञ्चायतकालमा सासु गाविस अध्यक्ष हुनुहुन्थ्यो र अहिले उहाँ स्वयम्सेविका हुनुहुन्छ ।’ ससुराले समेत चुनाव प्रचारका लागि व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेको रुक्मिणीको भनाइ छ । संविधानसभा सदस्य बन्नु अघि सिंहदरबार समेत पस्नु नभएकी रुक्मिणीलाई एकैचोटी कानुन निर्माण गर्ने निकायमा आफ्नो दलको नेतृत्व गरेर आउनु उहाँका लागि कम चुनौतिपूर्ण थिएन । तर, ती चुनौतिलाई सामना गर्दै उहाँ अघि बढ्नु भयो । संविधानसभामा आएपछि सहज ढङ्गले संविधान बन्ला र सबैको सुनुवाइ होला भन्ने आशा लिए पनि सोचे जस्तो नभएको रुक्मिणी बताउनुहुन्छ । आफूले गर्न नसकेको भन्दा पनि गर्न नपाएको भन्ने उहाँको भनाइ छ । संविधानसभामा दलगत विचार हावी रहेको र महिला, आदिवासी जनजाति र अन्य पछाडि पारिएका समुदायका कुरा कमै मात्र सुनिने गरेको पनि रुक्मिणीले त्यहाँ अनुभव गर्नु भएको छ । रुक्मिणी संवैधानिक समिति र सार्वजनिक सुनुवाइ विशेष समितिका सदस्य हुनुहुन्छ । संविधानसभा र विषयगत समितिमा रुक्मिणीले राज्यको हरेक निकायमा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भनेर आवाज उठाएको बताउनुहुन्छ ।
देश सङ्घीयतामा जाँदा ऐतिहासिक पृष्ठभूमि र भाषा क्षेत्रको आधारमा आत्मानिर्णयसहितको स्वायत्त गणराज्य स्थापना हुनुपर्छ भनेर पनि उहाँले मुद्दा उठाउनुभएको छ । यस्तै, नयाँ संविधानमा आदिवासी÷जनजातिहरूको अधिकार सुनिश्चित गर्ने महासन्धि आइएलओ १६९ को कार्यान्वयन, धर्म निरपेक्ष राज्य, प्राकृतिक स्रोतसाधनमा आदिवासी जनजातिको अग्राधिकारलगायतका मुद्दाहरू पनि उहाँले उठाउँदै आउनुभएको छ । तर, आदिवासी÷जनजातिको मुद्दामा ठूला दलहरूमा ‘कानमा तेल हाल्ने’ प्रवृत्ति रहेको पनि उहाँ बताउनुहुन्छ । महिलाका मुद्दामा नेपालका सबै महिलालाई एउटै बास्केटमा राख्नु नहुने उहाँको तर्क छ । नेपाली महिलाहरू बीच पनि जातीय, भाषिक, आर्थिक, धार्मिक, सांस्कृतिक र सामाजिक विविधता रहेकाले महिलाहरू बीच समानता ल्याउन ५१ प्रतिशत महिलाको जनसंख्याको आधारमा कोटा प्रणालीमा जानुपर्नेमा उहाँ जोड दिनुहुन्छ । नागरिकताको मुद्दामा नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले बिहे गरेको १५ वर्षपछि मात्र अङ्गिकृत नागरिकता पाउने तर नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले बिहे गर्ने बित्तिकै वंशजको आधारमा नागरिकता पाउने व्यवस्था गलत रहेको उहाँको बुझाइ छ । साथै संवैधानिक निकायमा नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलालाई विशेष छुट दिन नहुने पनि उहाँको तर्क छ । नागरिकतामा महिला र पुरुष दुबैलाई बराबर अधिकार हुनुपर्ने उल्लेख गर्दै अङ्गिकृत नागरिकतामा दुबैलाई १५ वर्ष छुट वा दुबैलाई १५ वर्षको समय राख्नुपर्छ भन्ने पनि उहाँको विचार छ । तर, पार्टीको ह्विपले बाँधिएका कारण महिलाहरू महिलाका साझा मुद्दामा एकै ठाउँमा आउन समस्या रहेको उहाँ देख्नुहुन्छ ।
साथै संविधानसभामा महिलाले बोल्ने अवसर कम पाउने गरेको पनि उहाँले देख्नु भएको छ । तर, संविधानसभामा आफू आफ्नो दलको नेता र एक्लो भएकाले आफ्ना भनाइहरू राख्ने अवसर पाउने गरेको उहाँ बताउनुहुन्छ । ‘अरु दलका नेता र अध्यक्ष सबै पुरुष छन् र पुरुष प्रधान सोच भएकाले महिलाले अवसर पाउदैनन्’, उहाँको भनाइ छ, ‘तर सधैभरी दलकै नेताले मात्र बोल्नुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन ।’ तर, राष्ट्रिय राजनीतिमा आउँदा जति सजिलो होला भन्ने रुक्मिणीले ठान्नुभएको थियो, काम गर्दै जाँदा त्यो भन्दा विपरित पाएको अनुभव उहाँलाई भएको छ । समग्रमा संविधानसभाको आफ्नो अनुभवलाई रुक्मिणी सकारात्मक रुपमा लिनुहुन्छ । ‘राष्ट्रिय राजनीतिमा आउँदा गाउँमा बसेर नेतालाई आफ्ना छोराछोरीलाई जागिर लगाइदेउ भनेजस्तो सजिलो नहुने रहेछ’, उहाँ भन्नुहुन्छ, ‘दलीय भागभण्डा हुने, त्यसमाथि हाम्रो जस्तो सानो दलको कुरै नसुन्ने प्रवृत्ति पनि त्यहाँ रहेछ ।’

अङ्ग्रेजीमा पढ्नुस्
चौधरीको ब्यक्तिगत विवरण
पुरानाम: रुक्मिणी चौधरी
ठेगाना स्थायी : सिसहनीया–२, अर्नाहनपुर, दाङ
अस्थायी : शान्तीनगर—३४, काठमाण्डौं
सम्पर्क ठेगाना : ९८४१०८१६९७ (मो)
जन्म मिति : २०३४/५/१५
जन्म स्थान : शुक्रनगर–२, बसहाठ्ठा, चितवन
आमाको नाम : स्वं धर्मी गुरौ थारु
बुबाको नाम : स्व. कृष्ण गुरौ थारु
श्रीमान्को नाम : सनातनदेव सत्गौवा थारु
शिक्षा : एसएलसी उत्तीर्ण
राजनीतिक दल : सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
निर्वाचन प्रणाली : समानुपातिक प्रतिनिधित्व

महिला सभासद् समूह(ककस)बाट साभार [नोट : रुक्मिणी चौधरीबारेको यो लेख संविधान सभा जिवितै रहेका बेला लेखिएको हो।]

2 thoughts on “चुनौतिले ऊर्जा दिन्छ

  1. dherai ramro lagyo tapaiko barema padhera tapaiko jasto arupani vayo vane tharu samaj yati bichhidaina ra mero suv kamna 6 tapailai

Leave a Reply

Your email address will not be published.