आक्रमण भरतको सरलता

कमल खत्री- घरेलु फुटबलका नम्बर एक स्ट्राइकर भरत खवास जब मैदानमा उत्रन्छन्, विपक्षीको टाउको दुख्न थालिहाल्छ। उनलाई गोल गर्न नदिनुलाई नै विपक्षी ठूलो सफलता मान्छन्। मैदानमा उत्रनासाथ विपक्षी रक्षकले निगरानी राख्न थालिहाल्छन्। मैदानमा आक्रामक भरतको जीवनशैली भने निकै सरल छ। 
पछिल्लो समय नेपाली फुटबलरको आर्थिक अवस्था राम्रो बन्दै गएको छ। यससँगै उनीहरूको जीवनशैली मंहगो हुनु स्वाभाविक हो। राष्ट्रिय टिमका कप्तान सागर थापा, अनिल गुरुङ र सन्दिप राई कार चढ्छन्। अन्य धेरै खेलाडीसँग महंगा मोटरसाइकल छन्। शुक्रबार बिहान भेट्दा भरत नीलो रङको पल्सर मोटरसाइकलमा थिए। नर्थफेसको कालो ज्याकेट, एडिडासको ट्राउजर र जुत्ता भरतको मनपर्ने पहिरन हो। पुरानो कन्भर्स पनि भरतलाई मनपर्ने जुत्ता हो।
विशेष कार्यक्रममा सर्ट र नीलो रङको जिन्स लगाएर जाने भरत आफूलाई हनुमानको भक्त भन्न रुचाउँछन्। रामायणका भरत रामभक्त थिए, फुटबलर भरत भने हनुमानभक्त रहेछन्। कुपन्डोल बस्दै आएका उनको दैनिकी नजिकैको हनुमान मन्दिर दर्शन गरेसँगै सुरु हुन्छ। आफ्नो खेल भएको दिन खाली पेट र अरु बिहान ब्रेकफास्टपछि मन्दिर पुग्छन् उनी।
भगवानप्रति आस्था राख्ने भरत ‘म्याच’ मा जाँदा आफूले लगाउने पहिरनमा निकै ध्यान दिने गरेको बताउँछन्। कालो एडिडासको ट्राउजर, एडिडासकै पुरानो जुत्ता र रातो रङको ब्याग उनका लागि विशेष पहिरन हो। भरत भन्छन्, ‘प्रायः अघिल्लो खेलमा गोल गर्दा लगाएका लुगा नै पछिल्लो गेममा लगाउने गर्छु।’
बिहान सात बजेतिर उठ्ने भरत आफैं खाजा बनाएर खान्छन्। कोठामा एक्लै बस्ने भएकाले उनका लागि यो बाध्यता पनि हो। हल्का जगिङ गरेर कुपन्डोलमा साथीहरूसँग भेट्न पुग्छन्। कुपन्डोल फ्रेन्ड्स क्लब नजिकको चिया पसल धेरै फुटबलरका लागि भेट्ने थलो बनिसकेको छ। नजिकै क्लब भएकाले फ्रेन्ड्सका खेलाडी हरेकजसो बिहान जम्मा भइहाल्छन्। भरतको पनि साथीहरू भेट्न त्यहीँ पुग्ने गर्छन्। उनका साथी विराज महर्जन, जितेन्द्र कार्की, सन्तोष महर्जन बिहान कुपोन्डोल नै पुग्छन्। शुक्रबार बिहान उनीहरू कुपन्डोल पुगेर राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि सातदोबाटो जाने तयारीमा थिए।
करिब एक घन्टा कुपन्डोलमा बिताएपछि सुन्धारास्थित आर्मी हेडक्वार्टरको मैदानमा दैनिक अभ्यासको लागि भरत पुग्नैपर्छ। आर्मीको खेलाडी भएकाले अनुशानमा बढी ध्यान पुर्‍याउनुपर्छ। त्यसैले उनी समयमै मैदान पुगिहाल्छन्।
अभ्यास सिध्याएपछि बिहानको खाना टिमसँगै आर्मी मेसमा हुने गरेको छ। भरत भन्छन्, ‘सबै साथीले सँगै खाँदा रमाइलो हुन्छ, साँझ कोठामा चाहिँ फ्राइराइस खाने गर्छु।’
कोठामा हुँदा राति फुटबल हेर्छन्। आफूलाई मन पर्ने खेलाडीको शैलीलाई उनी युटुबमार्फत नियाल्छन्। फेसबुकको लत उनमा कम नै छ। साथी र समर्थकहरूसँग एकैचोटि कुरा गर्नुपर्ने भएकाले च्याटलाइन अफ गरेर मात्र चलाउने गरेको उनले बताए।
प्रायः शनिबार थकाली खाना खाने भरत मंगलबार वसन्तपुर गणेशस्थान पुग्छन्। त्यहाँ उनकी ललितपुर पाटनकी प्रेमिकाले साथ दिन्छिन्। भरत पाँच वर्षअघि च्यासल एकेडेमीमा बस्दा सुरु भएको प्रेमको कोपिला फक्रन थालिसकेको छ।
प्रेमिकाको नाम सोध्दा लजाउँदै भरतले भने, ‘मलाई धेरै माया गर्ने उनले मेरा हरेक खेल हेर्न छुटाउँदिनन्। प्रशिक्षणको समयबाहेक प्रायः हाम्रो भेट भइरहन्छ।’
पहिले पुलिस क्लबबाट खेलेका भरतको कमाई त्यति धेरै छैन। अहिले आर्मी क्लबबाट खेल्ने उनी सहसेनानी हुन्। विवाहबारे भरतले भने, ‘भविष्य सुरक्षित देखेर विभागीय टोली रोजेको हुँ, कमान्डो टे्रनिङ सिध्याएपछि बिहे गर्ने सोच छ।’
फुटबलका साथै उनले पढाईलाई पनि निरन्तरता दिइरहेका छन्। लगनखेलस्थित पिनाकल कलेजमा बिबिएस तेस्रो वर्षमा पढैछन् उनी। फुटबल, आर्मीको टे्रनिङसँगै अध्ययन पूरा गर्नु पर्ने चुनौति थपिएको छ। २२ वर्षीय भरत भक्तपुरको खरिपाटीमा हुने करिब २७ महिने सहसेनानीको तालिम पूरा गर्दैछन्।
भरत परिवारमा कान्छो छोरो हुन्। फुटबलमा रुचि राख्ने दाइ अमृत पनि आर्मीकै जागिरे हुन्। राम्रो खेलाडी बन्न दाइले धेरै सहयोग गरेको भरत सुनाउँछन्। भरतको खेल टिभीबाट प्रत्यक्ष प्रसारण हुँदा बुबा रबिला हेर्न छुटाउँदैनन्। आमा मनकुमारीलाई भने उनको खेल हेर्न डर लाग्दो रहेछ। ‘आमाले मैले खेलेको हेर्न सक्नुहुन्न,’ मोरङमा रहेकी आमालाई सम्झँदै भरतले भने, ‘खेलमा चोट लाग्दा आत्तिनु हुँदोरहेछ, मलाई विपक्षीले धकेल्दा त रुनु हुन्छ रे!’

नागरिक दैनिक साभार

One thought on “आक्रमण भरतको सरलता

Leave a Reply

Your email address will not be published.