महाधिवेशनले नेतालाई भ्याक्सिन ल्याउने दाहालको दाबी

ताप्लेजुङ- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आउँदो महाधिवेशनले पार्टी र नेता दुवैलाई भ्याक्सिन लगाएर नयाँपन दिने बताएका छन्। उनले शान्ति प्रक्रियामा आउँदा विभिन्न विचार भएका शक्तिसँग साइनो गासेकोले आफूहरुको व्यवहार पनि यदाकदा बिग्रिको भन्दै महाधिबेशनले यि सबै व्यवहार सच्याउने बताए। एमाओवादी ताप्लेजुङको प्रथम जिल्ला सम्मेलनको उद्‌घाटन समारोहलाई सदरमुकाम फुङ्लिङमा संबोधन गर्दै अध्यक्ष दाहालले पार्टीको महाधिवेशनले एकता र जुझारु बनाउने उल्लेख गरे। उनले महाधिवेशनपछि पार्टीमा प्रचण्ड, बाबुराम, प्रकाश वा अरु कुनै गुट नरहने भन्दै उनीहरुको नजिकको मान्छे भनेर त्यसबाट बैतर्नी तर्ने प्रयास नगर्न कार्यकतालाई सुझाव दिए।

बिचारमा फरक भएपनि अन्तरदृष्टिमा आफ्नो पार्टीभित्र कुनै समस्या नरहेको पनि उनले बताए। उनले एमाओवादीको आगामी महाधिवेशन विकास र जनवादलाई सही ढंगबाट संश्लेषण गर्ने माध्यमको रुपमा रहने बताए। ‘यो महाधिवेशनले दिर्घकालिन शान्ति र मुलुक विकाशलाई पहिलो प्राथामिकतामा राख्ने तथा बहसले परिवर्तन गराउँछ भन्ने कुरालाई पुष्टि गर्नेछ’, दाहालले भने। उनले एमाओवादीले लिएको शान्ति र संविधानको मार्गमा देश र यहाँ दल नआई सुखै नभएको दावी पनि गरे।

आफू प्रधानमन्त्री बन्न लालायित नभएको बताउँदै दाहालले भने- ‘सहमति बन्छ भने त्यसका लागि मैले वा अरु कोही प्रधानमन्त्री भए कुनै अप्ठेरो नहुने कुरा बताउँदा, प्रचण्डलाई प्रधानमन्त्री चाहियो भनेर मिडियाबाजी भयो, सत्य त्यो होइन।’ उनले सहमतिका लागि माओवादी जस्तो सुकै लचिलो भएर पनि त्याग गर्न तयार रहेको बताए। डेकेन्द्रको मुद्दा उचालेर आफूहरुलाई क्रान्तिको मार्गबाट टाढा लैजान खोजे पनि आफूहरु बिचलित नहुने उनको तर्क थियो। ‘टाउकाको मुल्य तोक्नेहरु अहिले शान्ति प्रक्रियाबिरोधी अभिब्यक्ति दिन थालेका छन्’, उनले भने, ‘यै पाराले हो भने सबैलाई अप्ठ्यारो पर्नेछ।’

एमाओवादीका उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीको महाधिवेशनले दाहालको नेतृत्व फेरि चाहेको रहेको संकेत गर्दै भने”पार्टीले लिएको राजनीतिक निकास,बिद्यमान अवस्थामा परिमार्जन गरेर संस्थागत गर्न अध्यक्षजीले नै अगुवाई गर्नहुनेछ।’ उनले पुरानै संस्कृति र चालचलनका कारण आफूले परिवर्तनको एजेण्डा उठाउँदा स्टे अर्डर लागु हुने गरेको दुखेसो गरे।

Leave a Reply

Your email address will not be published.