फेसबुक साथी पत्नी बन्न आएपछि…

धनकुटा- लोकप्रिय सामाजिक सञ्जाल फेसबुक प्रयोग नगर्ने इन्टरनेट प्रयोगकर्ता कमै होलान् तर यही जालोको नाम लिएर चिनजानै भएको अपरिचित व्यक्तिले अप्ठयारोमा पारेको घटना बढिरहेका छन्। धनकुटाका हेमकर्ण कोइराला त्यसको पछिल्लो पात्र हुन्। चार वर्षअघि वैदेशिक रोजगारमा कतार गएका मौनाबुधुक गाविस- ८ धनकुटाका हेमकर्ण अहिले फेसबुककै कारण सामाजिक फन्दामा परेका हुन्। चार महिनाअघि फेसबुकमा भेटिएकी २२ वर्षीया सबिता अधिकारी आफू कोइरालाकी पत्नी भएको दाबी गर्दै उनको घर आएर बसेपछि हेमकर्ण अनौठो संकटमा फसेका छन्।

आफू टेम्पो चलाएर काठमाडौं बसिरहेको बताउने अधिकारीले फेसबुकबाटै कोइरालासँग लभ परेको र उनले श्रीमती बनाउँछु भनेर आश्वासन दिएको दाबी गरेकी छन्। पछिल्लो समय कोइराला बेपत्ता भएकाले सोधखोज गर्दै उनको घर आइपुगेको अधिकारीको भनाइ छ। महिलाको भावनामा खेलबाड गरेको भन्दै उनले श्रीमती नबनाएसम्म घर नफर्कने अडान लिइरहेकी छन्। कोइरालाले वाचाअनुसार सिँदुर नहालेसम्म आफ्नो ठेगानासमेत नबताउने अड्डी उनको छ।

सबिताले धनकुटा प्रहरी र महिलाअधिकारकर्मीलाई यो कथा सुनाइरहँदा तीन दिनअघि मात्रै घर आएका हेमकर्ण भने सबितासँग फेसबुकमा लभ नपरेको, बिहे गर्छु पनि नभनेको दाबी गर्दै थिए। उनी कतारमा हुँदै सबिता नामकी केटी घर आएर बसेको खबर आएपछि हतारहतार फर्केका थिए। हेमकर्णले भने, ‘मैले उनलाई बिहे गर्ने कुरा त परै जाओस्, चिनेको समेत छैन। अनि कसरी श्रीमती बनाउनू?’
फेसबुकमा सबिताले नै साथीको लागि अनुरोध गरेको र उनीसँग पारिवारिक र सामान्य कुराकानीमात्रै भएको तर कुनै सम्बन्ध नभए पनि अनावश्यक कुरा लगाएर मेरो र परिवारको बेइज्जत गर्न खोजेको कोइरालाले बताए।

कोइरालाले श्रीमतीको रुपमा स्वीकार नगरेपछि सबिताले जिल्ला सदरमुकाम आएर महिलाअधिकारकर्मी गुहारेकी छन्। सबिताको विषयमै महिला मानवअधिकार सञ्जाल, धनकुटाले कोइराला र उनको परिवारलाई बोलाएर सोमबार छलफलसमेत गरायो। दुवैले अडान नछाडेको हेमकर्णका दाजु टीकाले बताए। महिलाअधिकारकर्मीले समेत महिलाको पक्षमा मात्रै वकालत गरेर झुक्याउन खोजेको गुनासो उनले गरे।

सबिता महिला मानवअधिकार सञ्जालका कार्यकर्ताको संरक्षणमा छिन्। यो मुद्दालाई प्रशासनको सहयोगमा टुंगो लगाउने तयारी रहेको बताइएको छ।

नागरिक दैनिक साभार

Leave a Reply

Your email address will not be published.