दुर्घटनामा पाँचको मृत्यु, ५२ घाइते

धादिङ- धादिङको ज्यामरुङ गाविस–७ कमेरेखानीखोला र भूमेस्थान गाविसको खहरेखोलामा आज बिहान भएको दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन्। आरुघाटबाट यात्रु बोकेर सदरमुकाम धादिङबेसीतर्फ आउँदै गरेको ना २ ख ४९८५ नम्बरको बस बिहान ९ बजेतिर सडकबाट करिब एकसय मिटर तल खस्दा एक महिला र एक पुरुषको घटनास्थलमै र एक बालक र एक महिलाको उपचारका लागि धादिङबेसी ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा धादिङ बुढाथुम गाविस–७ का लक्ष्मण दाहाल, सल्यानटार गाविसका रुपेस श्रेष्ठ, गोर्खा थुमी गाविसका मोनिका गरुङ, कान्छी गुरुङ र मीठे बराम रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा ४५ जनाभन्दा बढी घाइते भएका छन्।
बसमा सवार अघिकांश यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। काठमाडौँका लागि छुटेको उक्त बस कच्ची सडक र क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

सदरमुकाम धादिङबेंसीबाट करिब एक घण्टाको मोटर बाटोमा पुग्न सकिने उक्त स्थानमा भएको दुर्घटनाको उद्धारको लागि सदरमुकाम धादिङबेंसीबाट तीनवटा एम्बुलेन्स, दुईवटा निजी गाडी र प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षकसहित प्रहरीहरूको टोली घटनास्थलमा पुगेको थियो।
यसैगरी पृथ्वी राजमार्गको भूमेस्थान–४ खहरेखोलामा बस सडकमा पल्टिँदा सातजना घाइते भएका छन्। सडक किनारामा गाडी पल्टिएर भएको दुर्घटनाका सबै घाइतेको शिवदर्शन अस्पतालमा उपचार भएको महादेवबेंसी प्रहरीले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.