धोका दिनेका लागि मोबाइल

एजेन्सी- जापानी मोबाइल कम्पनी फुजित्सुले एफ सिरिजको मोडल उहिल्यै सार्वजनिक गरेको हो। समयक्रमसँगै ती मोडलभन्दा नयाँ र आधुनिक सेट बजारमा आइसके। अझ अहिले त स्मार्टफोनको जमाना छ। यस्तो बेलामा पनि जापानमा त्यो पुरानो फ्िलप गर्न मिल्ने मोडल अचम्म लाग्ने गरी लोकप्रिय छ। धोकेबाजहरुलाई नभई नहुने सुविधा भएकोले उक्त मोडल लोकप्रिय रहेको कुरा ‘वालस्ट्रिट जर्नल’ले पत्ता लगाएको छ। 
विवाहित जोडीले आफ्ना पार्टनरलाई धोका दिँदै लुकी–लुकी सम्बन्ध विस्तार गर्न मोबाइलले जति सजिलो बनाएको छ, त्यति नै जोखिम पनि बढाएको छ। यदि तपाईंले एसएमएस, मिस कल वा कल डिटेल डिलिट गर्न बिर्सनु भयो भने घरमा महाभारत हुन्छ। लुकीछिपी अन्यत्र सम्बन्ध गाँस्ने धोकेबाज जोडीहरूलाई लक्ष्य गरी यस्ता ह्यान्डसेट बनाइएको रहेछ।

के विशेषता छ त यसमा? गोपनीयताको ग्यारेन्टी। तपाईंले प्राइभेट भनेर कुनै नम्बरलाई छान्नुभयो भने त्यो नम्बरबाट आउने मिस कल, एसएमएस र भ्वाइसमेलहरु यो सेटले आफसेआफ लुकाइदिन्छ। अर्थात्, धोका दिने जोडीहरुले बिनाशंका आफ्नो सम्बन्ध कायम गरिराख्न पाउँछन्। फोन लक गरिराख्नै पर्दैन।
टाइगर उड्सले यस्तो फोन प्रयोग गरेको भए समस्यामै पर्ने थिएनन् समेत भन्छन् जापानी प्रोफेसर नात्सुनो। खासमा यस्तो सुविधाको मोबाइल फुजित्सुले सन् २००२ मा बनाउन थालेको हो। जापानी जोडीहरु धमाधम यस्तै कारणले टुक्रिन थालेको घटना धेरै सुनेपछि कम्पनी यस्तो मोबाइल बनाउन तम्सिएको थियो।

अब अहिले पुराना मोडललाई फेज आउट गर्दै नयाँ स्मार्टफोनतर्फ ध्यान दिइरहेका छन् कम्पनीहरु। फुजित्सु पनि त्यस्तै गर्दै छ। प्राविधिक रूपमा अलि परिवर्तन गरेर त्यस्तै सुविधा दिन खोजे पनि ग्राहकहरुले पुरानै खालको सुविधा माग गरिरहेका छन्।
त्यसो त अमेरिकाको कल एन्ड टेक्स्ट इरेजरले पनि एन्ड्रोइडका स्मार्टफोनहरुका लागि त्यस्तै एउटा आयप बनाएको छ। ब्ल्याक लिस्टमा राखेका मान्छेहरुको फोन र एसएमएस यसले लुकाइदिने गर्छ। आयप आफैँ पनि लुकेको अवस्थामा हुन्छ प्रयोगकर्ताले कोड नहानेसम्म। पाँच डलर तिरेर किन्नुपर्ने यो आयपको आइफोन संस्करण पनि छिट्टै ल्याउने तयारी भइरहेको छ। एन्ड्रोइड संस्करण भने १० हजार वटा बिक्री भइसकेको छ।

Leave a Reply

Your email address will not be published.