थरुहटको पहिचान र अधिकार प्राप्तिमा नैतिक इमान्दारिताको खाँचो

गोपाल दहित– विश्वमा स्थापित मान्यतालाई हेर्दा मानव जीवनमा पहिचान र आत्मसम्मान सबैभन्दा उपल्लो कोटीमा पर्छ। यो प्राप्तिको लागि जस्तोसुकै आन्दोलन र बलिदानी गर्न तत्पर हुने इतिहास छ। थरुहट तराईका धरतिपुत्र आदिवासी थारुहरुले आफ्नो पहिचान र अधिकार प्राप्तिको लागि विगत धेरै बर्षदेखि निरन्तर विभिन्न संगठनको नेतृत्वमा आन्दोलन गरी आएका छन्। पछिल्लो आन्दोलन थरुहट संयुक्त संघर्ष समितिको नेतृत्वमा २०६५ सालमा भएको थियो, जसमा ४ जना शहीद (कमल चौधरी, बिपिन खडका, रामप्रसाद चौधरी र प्रकाश चौधरी) भए, हजारौं घाइटे भए भने करोडौंको क्षति भयो। यस आन्दोलनको अगुवाई थारु आदिवासी गैसस महासंघ, नेपाल लोकतान्त्रिक समाजबादी दल, थरुहट स्वायत्त राज्य परिषद्, थारु विद्यार्थी समाज, थारु महिला समाज, थारु बौद्धिक तथा राष्ट्रिय अनुसन्धान केन्द्र, बर्दियाली थारु विकास मन्च लगायतका ९ वटा संगठनले गरेका थिए। त्यसैगरी २०६९ साल जेष्ठमा १२ वटा संगठनको सहभागीतामा थारु संयुक्त संघर्ष समितिले आन्दोलन गरेको थियो। यस आन्दोलनमा पनि एक जना धनबहादुर थनेत शहीद भए। दुबै आन्दोलनमा गरिएका सम्झौतामा रहेका राजनैतिक प्रकृतिका सहमतिका बुँदाहरुलाई कार्यान्वयन गर्न गराउनमा नेपाल सरकार अझसम्म पनि उदासिन देखिन्छ।
शासकहरुको अकर्मन्यताका कारण आन्दोलन समयको माग हुन जान्छ। २०६५ साल फागुन १५ गते तात्कालिन प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले थरुहट तराईका थारु लगायत ९२ विभिन्न जातजातिलाई मधेसी बनाउने निर्णय गरेर गम्भिर र अक्षम्य अपराध गरेको कारण आदिवासी थारुहरुले आात्मनिर्णयको अधिकार सम्पन्न थरुहट स्वायत्त प्रदेश प्राप्ति साथै आफ्नो पहिचान, आत्मसम्मान र अधिकारका लागि आन्दोलनमा होमिएका थिए, जसमा लाखौंको संख्यामा स्वतःस्फूर्त जनसागर उर्लेको थियो। अन्ततः नेपाल सरकारले ६ बुदे लिखित सहमति गरी थारुहरु थरुहट तराईका मूल आदिवासी धर्तिपुत्र हुन भनी स्वीकार गर्‍यो। आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गरी कार्यान्वयन गर्न गराउनको लागि आन्दोलनको अगुवाई गर्ने नेता तथा राज्यको प्रथम जिम्मेवारी रहन्छ। नेपालको सन्दर्भमा हेर्दा जोसुकै सित गरिएका प्रायः सबै सम्झौताहरु कार्यान्वयनको पाटोबाट हेर्दा राज्य पक्ष निकै गैरजिम्मेवार रहदै आएको देखिन्छ। किनकी राज्यपक्षमा प्रायः एक जाति, एक भाषा र एक धर्म भएकाहरुको बर्चस्व रहेकोछ। जसले बहुसंख्यक जाति, भाषा, धर्म र पहिचानमाथि खेलवाड गरी रहेको अवस्था छ। यसैगरी खासगरी ठूला राजनैतिक दलमा समेत तिनै एक जाति, एक भाषा र धर्म भएकाहरुको नेतृत्व र बहुमत छ। यसकारण राजनैतिक संरक्षण प्राप्त पनि छन्। सेना, प्रहरी र न्यायालयको अवस्था पनि त्यस्तै छ। यस्तो विषम परिस्थितिमा पहिचान, अधिकार र विकासका लागि गरिने आन्दोलनको अगुवाहरुको ठूलो परिक्षा र त्याग बलिदानीको आवस्यकता पर्दछ। थरुहट आन्दोलन गर्दा जिल्ला, क्षेत्र र केन्द्रमा गरी निकै संख्यामा नेताहरु अग्रस्थानमा आए, तर आफ्नो बिचार, सिद्धान्त, मुद्दा, अडान र थरुहट आन्दोलन प्रतिको निस्थामा के कति संख्यामा खरो उत्रिय त्यो ज्यादै महत्वपूर्ण पक्ष छ। २०६५ सालभन्दा पहिले थारुहरुको साना ठूला आन्दोलन भएकै हो, तथापि थारुहरुले आफ्नो योजना, नेतृत्व र सुझबुझमा गरेको पहिलो बृहत्तर जनआन्दोलन भनेको थरुहट आन्दोलन २०६५ नै हो।
आन्दोलनका उपलव्धिहरुलाई संस्थागत गर्ने गराउने अभ्यासमा लागी रहदा कैयन खाले हस्तक्षेपहरु राज्य, सत्तासिन राजनैतिक दल र कथित उच्च जातिय समुहबाट भई रहेको कसैबाट छिपेको छैन, सम्झौताका बुदाहरु कार्यान्वयन नगर्ने, उल्टै अखण्ड सुपको नाममा आन्दोलन उक्साउने, थरुहटका नेता तथा कार्यकर्ताहरुमाथि सांघातिक आक्रमण गर्ने गराउने र सोझा निमुखाहरुलाई सानातिना पद तथा जागिरका ललिपप, आदि यसका उदाहरण हुन्। पछिल्लो चरणमा आएर मधेसीको खोल ओढेर, थारुहरुको मञ्चमा ँम पनि थारु हुँ, मेरो जीउमा पनि थारुको रगत र वंश छँ भन्दै ँजय थरुहटँको नारा लगाउने तर संविधान सभा र मन्त्रीपरिषद्मा थारुहरुको पहिचान र अधिकार नामोनिसान मेटाउने गरी संविधान र ऐन कानून बनाउन सदा उद्दत रहने यतिमात्र होइन थारुहरुको पहिचान, आत्मसम्मान र अधिकारलाई बलीको बोका बनाई सत्ताको धक्कु, धनको तुजुक र मै खाउ मै लाउ अरु सबै मरुन दुर्बलहरु भन्ने उक्तिमा सजिलै उदाहरण बन्न सुहाउने नेता र उनको पार्टीले थरुहट आन्दोलनका केही नेताहरुलाई २०६९ साल दशैको मौका छोपी अस्टमी र नवमीको दिन एक एक वटा राजनैतिक बली चढाउन मिल्ने गरी दुई जना हुच्याउँ गर्ने बाघजस्तै नेतालाई साच्चिकै स्याल बनाई सुतुक्क चोरेर घुइयाको भाउमा पञ्चायत कालिन तात्काली माननीय खरिद बिक्री शैलीमा लिलाम बोली रातो टिका लगाई उनीहरुको राजनैतिक हत्या गरेको नाङ्गो नाँच नेपाली जनताले देखी सकेका छन्।
लिलाम बोल्नेले बोल्यो रे, राजनैतिक हत्या गर्न उद्दत रहनेले जे गर्न खोजे पनि लिलाममा बिक्ने नेताहरु, भेंडा बाख्रा जस्ता चारखुट्टे त थिएनन्, चेतनसिल मानव थिए। गाउँका सोझा निमुखा अनपढ थिएनन्, राजनैतिक चेतना भएकाहरु थिए। हरिकंगाल मगन्ते जोगी त थिएनन्, घरमा एकमाना खान र लाउन पुग्ने हैसियतका थिए। मगज बिग्रेका बौलाहा दुलुवा त थिएनन्, स्वस्थ तन्दुरुष्ट खाइलाग्दा चिल्ला गाला भएका थिए। आखिर भयो के? जवाफ आफैमा जटिल छ। सबैले बुझ्ने जवाफमा भन्दा ँनैतिकताँ हो। बुद्धि भएको तर विवेक नभएको नैतिकहीन भई व्यक्तिगत स्वार्थका लागि लम्पट हुनथालेपछि मानव पनि पशुजस्तै खरिदबिक्री हुन्छन्, चेतनसीलहरु पनि चेतनाशुन्य हुन्छन् र धनवानहरु पनि गरिव कंगाल बन्दछन् साथै बलवानहरु पनि निर्धा र लुरे हुन्छन्। सायद यसैकारणले होेला थरुहटका केही नेतामा बिचलनको अवस्था आएको हुनु पर्दछ। सामान्य विचलन अस्वाभावित होइन, तर उत्तर जाने दक्षिण गयो भने, माथि आकाश जाने तल पाताल गयो भने, त्यसैगरी जुन (मधेसी) पहिचाको विरुद्ध आन्दोलनको नेतृत्व गर्‍यो, ५ जना शहीद बनायो, हजारौं घाइटे बनायो, करोडौंको क्षति गरायो, आज आफ्नो व्यक्तिगत स्वार्थका लागि निर्लिप्त भई त्यही मधेसी (थारुहरुले सम्बोधन गर्ने परम्परागत शब्द ँबजियाँ) पहिचानमा बिलिन भयो भने जनताले अवस्य प्रस्न गर्छन्, मुतोड जवाफ दिन्छन्, र जनउक्ती बन्छ ँआखिर गद्दारहरु आफै गद्दार सावित हुन्छन्, बनाउन पर्दैन।ँ
के अब थरुहट प्राप्ति असम्भव छ? होइन, पक्क सम्भव छ। दुई चार जना थरुहट नेताहरु थरुहट पहिचान, अधिकार र विकास प्रति गद्दार, धोखेबाज, निर्लज्ज र स्थार्थी सावित भए पनि समग्र आदिवासी थारु समाज र थरुहट बासीहरु अझ पनि नैतिकवान, इमान्दार, वफादार, सुझबुझ भएका जुझारुहरु लाखौंको संख्यामा छन्, र सबैलाई विश्वास छ, थरुहट प्राप्ति हुन्छ, यसमा दुई मत छैन। जरुरत छ, धैर्यता, निरन्तरता र नैतिक इमान्दारिताको।
थरुहट आन्दोलनको मुद्दालाई संस्थागत गर्दै राजनैतिक रुपमा सम्बोधन गर्ने गराउने बैधानिक निर्विकल्प संगठनको रुपमा थरुहट तराई पार्टी नेपाल अस्तित्वमा छ। सामाजिक संस्थाहरु धेरै छन्, जस्तै थारु आदिवासी गैसस महासंघ, थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी समाज, आदि। सामुदायिक विकास, चेतना विकास, शिक्षा, स्वास्थ्य र भौतिक निर्माणका साथै आन्दोलनको शुरुवात र सहजीकरण गर्न सक्छन् सामाजिक संस्थाहरुले। तर राजनैतिक प्रकृतिका मुद्दाहरु सम्बोधनका साथै सत्तामा पुर्‍याउने सर्वश्रेष्ठ माध्यम राजनैतिक दल नै हो। झोलबोकुवा राजनीतिबाट मुक्त भई आफ्नै नेतृत्व र सहभागीतामा राजनीति गर्नको लागि थरुहट आन्दोलन, थरुहट पार्टी, थरुहट भूगोलको समाज र विकास साथै थरुहट प्राप्ति प्रति नैतिकवान, इमान्दार र जिम्मेवार हुन जरुरी छ।

3 thoughts on “थरुहटको पहिचान र अधिकार प्राप्तिमा नैतिक इमान्दारिताको खाँचो

  1. @ के अब थरुहट प्राप्ति असम्भव छ?
    =>हुनसक्छ यदि अझै पनि हामीले सशक्त कदम उठाएनौ भने |
    थरुहट तराई पार्टी नेपाल को मांग पहिले देखि नै भएको हो तर ढिलाई भए पनि खुशी लग्यो |
    हामी लाई राम्रो नेता चाहिएको छ #Lakshman जस्तो हैन | हामी लाई मार्गदर्शन गर्नुस हामी सदैब तपाई को साथ छौ |

  2. लेख राम्रो छ । थारु नैतिकवान र इमान्दार भए पनि यो अरुको जाल झेलमा पर्न जान्छ र ईमान्दारिता गुमाउन पुग्छ । त्यसकारण नैतिक इमान्दारिताको शुरुवात सबैले आफुबाटै गर्नु पर्छ अनि मात्र यो शक्तिमा परिणत हुन्छ र सार्थक परिणाम ल्याउछ ।

  3. लेख राम्रो लाग्यो तर थारु नेता मध्ये गच्छेदारको कुन नेतिक छ मलाई भनीदिनुपर्‍यो? अनि अरु नयाँ थार नेताहरुलाई इमानदारीता सिकाउने कस्ले??

    यसका साथै साइटमा लेख राख्दा अलिक जस्टफाइ गर्नुभपर्यो।गज्याङ देखियो लेखमा, दुवैतिरको लान मिलाउनु पर्‍यो है अरु ठिक छ ।

Leave a Reply

Your email address will not be published.