बुद्धसेन चौधरी- माघी थारुहरुले मनाउने बिभिन्न पर्बहरु मध्ये एक महत्वपूर्ण पर्व हो । यो प्रतेक बर्ष माघ १ गते मनाउने चलन रहिआएको छ। यो माघ महिनामा मनाउने भएकोले यसलाई माघी वा माघेसंक्रान्ति पनि भनिन्छ। यहि दीन सुर्य धनु राशीबाट मकर राशीमा प्रबेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ। तिलको महत्वपूर्ण स्थान रहेकोले तिलासंक्रान्ति पनि भनिन्छ। यसमा बर्ष भरिको हर हिसाब फर्छौट गरि आउने सालको लागि योजना बनाउने भएकोले आर्थिक बर्षको रुपमा लिईन्छ भने नयाँ सालको रुपमा पनि मान्ने गरिन्छ।
यो पर्वले थारु समुदायमा बिषेश महत्व राख्दछ। हप्तौ अगाडी देखी थारुहरु यसको तयारीमा जुटेको हुन्छ। यस पर्वको अवसरमा थारुहरुको घरमा प्रशस्त अन्न रहने हुनाले बर्ष भरिको हर हिसाब फर्छौट गर्नुको साथै अगामी बर्षको लागी योजना अनुसार कामदार नियुक्ति गर्नुको साथसाथै बिभिन्न कामको लागी अन्य समुदायहरुबाट सम्झौता पनि गर्ने गर्दछ जस्तै कामी समुदायबाट फलामको कामको लागि, ठकुर समुदायबाट कपाल काट्ने काम सम्बन्धी, बाहुन समुदायबाट पूजापाठको, दर्जी समुदायबाट लुगा सिउनको लागि र अन्य समदायबाट कामको प्रकृति अनुसार एक बर्षको लागि काममा राख्ने र हटाउने सम्झौता गर्ने गर्दछन्। यसै अवसरमा थारु समुदायमा गाँउमा मुलि चुन्ने पनि परम्परा छ भने चौकिदार र गोराइत पनि यसै समयमा राख्ने चलन छ।
घर, आँगन लगायत अन्य स्थानहरुको बिषेश किसिमले सरसफाई गर्नुको साथ साथै लिपपोत गरि चिटिक्क पारेको हुन्छ । यस पर्वले थारूको बीचको सम्बन्ध सौह्रार्दपूर्ण र मजबुत बनाउनुको साथै पुरानो रिसईबि समेतलाई हटाउने गर्दछन्। जे जस्तो किसिमको मनमुटाउ भए पनि निसंकोच मान्यजन तथा पुर्खाको हातबाट शुभआशीर्वाद थाप्ने र शुभकामना आदान प्रदान गर्ने गर्दछन् । यस पर्वमा विभिन्न किसीमका मीठा-मीठा परिकार बनाई खाने चलन छ । माछा मासुका सौखिन थारू जाति माघीको तयारीका लागि माघी आउनुभन्दा एक हप्ता पहिलेदेखि माछा मार्छन । सो अवसरमा खसी, बंगुर, हाँस,परेवा ईत्यादि मार्ने गर्दछन् । शाकाहारीहरु भने त्यसै अनुसारको बन्दोबस्त मिलाएको हुन्छ । माछा मासुको अलावा तिलको लड्डु, मुरहीको लड्डु, च्यूराको लड्डु, मकैको लड्डु, ढिकरी, तेलपौर रोटी इत्यादि खाने चलन छ । काठमान्डौमा थारुहरु बसोबास गर्दा देखी मनाईदै आए पनि सरकारले २०५९ साल देखी सार्वजनिक बिदा दिने निर्णय गरे पछी बिषेश महोत्सवको रुपमा मनाउदै यहाँको बासिन्दाहरु सँगै तरुल, घिउ,चाखु पनि खाने गर्दछ । खानपिनको लागि कुनै बन्देज नभए पनि विहानै नुहाइधुवाई गरेर घरको देउतालाई जल चढाई ठूलाबडाको आशीर्वाद लिई मात्र खानेकुरा खान्छन् । यस पर्वमा थारुहरुले चेलिबेटीहरुलाई आ आफ्नो गच्छे अनुसार दान र उपहार दने गर्दछन् । जसलाई निसराउ भनिन्छ । यसको अवसरमा महिनौ सम्म थारु समुदायले चेलीहरुलाई उपहार पठाई रहन्छ। यो समयमा थारु गाँऊमा दैनिक जसो पाहुना आउने र जाने क्रम चली रहन्छ ।
अरु पर्व जस्तै यसमा पनि नजिकको धार्मिक स्थलमा मेला लाग्ने गर्दछ । जसमा यो समुदायले सबै किसिमको दुखलाई बिसाएर मनोरञ्न गरिरहेको हुन्छ । साँझ पख बिभिन्न किसिमको नाच गान गरि मनोरञ्जन गर्दछन् जसमा थारुहरुको मौलिक नाच प्रमुख रहेको हुन्छ । आज कल आधुनिक नाच पनि गर्ने गर्दछ ।
माघी महोत्सवमा थारू संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभूषा, थारूहरूको मौलिक खानाको परिकार घोंघी, ढिक्रीलगायत फुड फेस्टिबल एवं सांस्कृतिक झाँकी, नाचगानजस्ता कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ । यसले थारुहरुको आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ । यसबाट थारुको आफ्नो पहिचानको संरक्षण भएको छ भने देश देखि बिदेश सम्म थारु सँस्कृतिको प्रचार प्रसार भई पर्यटन प्रवर्धनमा पनि टेवा पुगेको छ । यसले नेपाल अधिराज्य भरि छरिएर रहेको थारु समुदायलाई एकताबद्ध हुन सहयोग पुर्याउछ ।
यो पर्व थारु समुदायको मुख्य पर्व भए पनि नेपालमा बसोवास गर्ने अन्य समुदायहरुले पनि आ आफ्नै परम्परा अनुसार मनाईने गरेकोले यो एउटा राष्ट्रिय पर्वको रुपमा रहेको छ । सरकारले सार्वजनिक विदा दिए पनि यसलाई प्रवर्दन र सँरक्षण गर्नको लागि खासै केही गरेको पाईदैन । थारुहरु स्वम तथा थारु संस्कृतिको संरक्षण र विकासको लागि स्थापित संघ संस्थाहरुले बिषेश पहल गर्नु पर्ने देखिन्छ भने सरकारले यसको संरक्षण र सम्बर्धनको लागि थारु समुदाय सँग समन्वय गरि नितिगत योजना बनाई त्यसलाई कार्यान्वयन गर्नु पर्दछ ।