मिठो माघी, राम्रो माघी

तस्बिर : इकान्तिपुरडटकम

मदन चौधरी-

हर साल आउँछ माघी, माघी आउँछ आफ्नै सुरमा
खुसीयाली छ दाङमा, खुसीयाली कञ्चनपुरमा
हर साल आउँछ माघी, माघी आउँछ आफ्नै सुरमा

चलचित्र कुरुक्षेत्रमा निर्देशक ज्ञानेन्द्र देउजाले माघीसम्बन्धी यही गीत पस्के। थारू समुदायमा नयाँ वर्षका रूपमा मनाइने माघीलाई लक्ष्य गरी यो गीत बनाएको निर्देशक देउजाको भनाइ छ। देउजा भन्छन्, ‘यो गीतले थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने माघीलाई नयाँ पहिचान दिलाएको छ।’ माघीको आगमनसँगै रेडियो, टेलिभिजनमा बज्ने यो गीतले माघी आइसकेको छनक दिन्छ। थारूले नयाँ वर्ष माघीलाई कसरी मनाउँछन् भनेर हरेक क्षेत्रका नेपालीलाई जानकारी दिन यो गीतको दृश्यले धेरै सघाएको निर्देशक देउजाले बताए।

कतै नयाँ वर्ष, कतै तिलासंक्रान्ति
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै माघीलाई थारूहरू सबैभन्दा ठूलो चाडका रूपमा मनाउँछन्। माघीलाई कतै नयाँ वर्षका रूपमा मनाइन्छ भने कतै तिलासंक्रान्तिका रूपमा। सुदूरपश्चिमका जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा यो पर्वलाई नयाँ वर्षका रूपमा एक साता मनाइन्छ। मध्य र पूर्वका थारू जिल्लामा भने यसलाई नयाँ वर्षका रूपमा नभई तिलासंक्रान्तिका रूपमा एक दिनमात्र मनाइन्छ। पुस मसान्तमा आआफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ देखि नयाँ हिसाबकिताब सुरु गर्ने चलन छ।

माघीमै घरपरिवारभित्र होस् वा गाउँ समुदायमा, आगामी वर्षका लागि खेतीपातीलगायत कुरामा नवीकरण गरिने भएकाले यस पर्वलाई नयाँ वर्ष भनिएको दाङका पत्रकार कृष्णराज सर्वाहरि बताउँछन्। थारू भाषा साहित्य तथा संस्कृति विभागका बारा प्रमुख हृदयनारायण चौधरीका अनुसार यो दिन तिलको लड्डु खाने चलन छ। तिलको लड्डु खानाले शरीरका रोगब्याध हट्ने भएकाले यस पर्वलाई तिलासंक्रान्ति भनिएको उनको बुझाइ छ।

पश्चिमका जिल्लामा जसरी माघीबाटै हरुवा–चरुवा, कमैया–कमलरी राख्ने प्रचलन छ, त्यसरी नै मध्य र पूर्वीका थारू समुदायमा पनि सोही दिनबाटै नयाँ आर्थिक कारोबारको थालनी हुन्छ। आगामी वर्षका लागि उही बरघरलाई निरन्तरता दिने वा नयाँ चुन्ने, छलफल हुन्छ। सोही बैठकले सहायक बरघर, अघारी, सघारी, गाउँको चौकीदारीजस्ता काम गर्ने व्यक्तिको छनोट गर्छ। तर नयाँ वर्ष भने सुदूरपश्चिमै मात्र किन? थारू कल्याणकारिणी सभाका अध्यक्ष चन्द्रकुमार चौधरी भन्छन्, ‘पहिले नयाँ वर्षको त्यति क्रेज थिएन। सबैले वैशाख १ गते नै नयाँ वर्ष मनाउँथे। तर थारू पहिचानका लागि भए पनि हामीले हाम्रो नयाँ वर्ष थालनी गर्नुपर्ने भएकाले माघीभन्दा उत्तम विकल्प अर्को थिएन।’

‘काठमाडौंलगायत तराईका सम्पूर्ण जिल्लामा माघीलाई महोत्सवका रूपमा मनाउन थालेका छौं,’ चन्द्रकुमारले भने, ‘यसलाई हामी नयाँ वर्षका रूपमा स्थापित गर्दै जानेछौं।’ तर यो कतिऔं नयाँ वर्ष हो भन्ने कुरा कतै निर्क्योल भएको छैन।

स्वतन्त्रताको पर्व
माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्व मानिन्छ। माघी एक दिन भए पनि अरूको मातहतमा नरही आफ्नै इच्छाअनुसार मनाउने गरेकाले यस पर्वलाई थारूहरूको स्वतन्त्रता पर्व भनिएको सर्वाहरिले बताए। ‘कमैयाहरू अरू बेला मालिकको काममै व्यस्त हुन्छन्,’ उनले भने, ‘यही एक दिन उनीहरू आफूखुसी जे पनि गर्न सक्छन्।’

माघे संक्रान्तिको अघिल्लो दिन सुदूरपश्चिमका थारू समुदायमा घरघरमा सुँगुर काट्ने चलन छ, जसलाई ‘जिता मरना’ भनिन्छ। पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी, माछालगायत परिकार बनाएर जाँडरक्सीसँग खाने गरिन्छ। ढिकरीलाई मध्य तथा पूर्वमा बगया भनिन्छ। यो विशेष गरेर तिहारमा खाइन्छ। खानपिनसँगै रातभर नाचगान गर्ने प्रचलन रहेको थारू भाषा, कला तथा संस्कृति उत्थान, रुपन्देहीका अध्यक्ष बमबहादुर चौधरीले बताए। यतिबेला सखियै हो, माघीक् पिली गुरी जाँर, मघौटा, झुमरा, छोकराजस्ता गीत सबैको मुखमा झुन्डिएको हुन्छ। तर मध्य र पूर्वका थारू समुदायमा भने ढिकरी र सँगुरको परिकारभन्दा पनि भुजाको लड्डु, तिलको लड्डु, चामलको पिठोले बनाइएको लड्डु ‘सठौरा’ खाने चलन छ। योसँगै माछामासु पनि खाने गरेको पत्रकार प्रतिमा चौधरीले बताइन्। त्यसो त आफ्नो पर्वको संस्कृति झल्काउन थारू समुदायका अन्य नृत्य र सामाचकेवा समेत प्रदर्शन गरिने उनले सुनाइन्।

सम्बन्ध प्रगाढ बनाउने दिन
माघे संक्रान्तिका दिन एकाबिहान सबैजना नजिकैको खोलामा नुहाउने गर्छन्। नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ। यो क्रिया घरबाट सुरु भई टोलछिमेक र गाउँभर फैलन्छ। यो परम्पराले थारू समुदायमा आपसी सहयोग, एकता, सद्भाव आदानप्रदान गर्ने जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीको धारणा छ।
यो पर्वका दिन नै वैवाहिक प्रक्रिया अघि बढाइन्छ। अरू दिनभन्दा यही दिन उत्तम मान्यता रहेकाले थारूहरूको विवाह प्रायः माघमै हुने गरेको प्रतिमाले बताइन्। माघीपछि नै विवाह गर्ने, घर बनाउने, कसकी छोरी कसको छोरासँग विवाह गर्ने, सगोलमा बस्ने वा छुट्टिने, कुनै जमिनदारको खेत जोत्ने वा नजोत्ने जस्ता योजना बन्ने गरेको हृदयनारायणले बताए।

‘सबैखाले कुरा खुला हृदयले भन्ने र वार्षिक योजना बनाउने दिन नै माघी हो,’ उनले भने। गाउँमा कसैसँग मनमुटाव छ भने माघीमा नुहाएर अंकमाल गरी मेलमिलाप गर्ने गरिन्छ। मन मिल्नेहरू समूहमा आबद्ध भई सेवासलाममा लाग्छन्। ‘यसले समुदायमा एकता, मित्रता, आपसी सहयोग, सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ,’ लेखीले भने, ‘कसैसँग रिसइबी छ भने माघी नुहाएर, एकआपसमा अंकमाल गरी मेलमिलाप गरिन्छ।’

यही चाड हो जसले विवाहित छोरी र बाबुआमाको सम्बन्ध पनि प्रगाढ बनाउने गर्छ। बाबुआमाले आफ्ना छोरीहरूलाई सनेस (तिलको लड्डु, सठौरा र भुजाको लड्डु लगायत खानेकुरा कोसेलीका रूपमा) दिने गर्छन्। यसले बाबुआमा र छोरीको सम्बन्ध थप आत्मीय बनाउँछ। तर पश्चिमा थारू समुदायमा भने छोरीचेलीलाई उपहारस्वरुप नगद, लत्ताकपडा दिइन्छ। जसलाई निरसाउ भनिन्छ। माघीको निरसाउ नपाए चेलीहरू आफू माइतबाट उपेक्षित भएको महसुस गर्छन्।

सुधार्नुपर्ने पाटो
माघीबाटै गाउँलाई अनुशासित बनाउन नयाँ नियमकानुन बन्छ। नियम उल्लंघन गर्नेलाई बरघरको अध्यक्षतामा जरिवानासमेत हुन्छ। र, यही चाडलाई मिलनको चाड पनि भनिन्छ। तर यी यावत राम्रा पक्षका बावजुद पनि माघीका नराम्रा पक्ष पनि छन्। पत्रकार लक्कीका अनुसार माघी सुदूरपश्चिमका थारूका लागि अहिले पनि अभिसाप मानिन्छ। जमिनदारको घरमा कमैया र कमलरी राख्ने प्रचलन माघीबाटै सुुरु हुन्थ्यो। एउटा कमैयालाई छारा गर्ने र अर्कोलाई पशु किनेजस्तै उनीहरूलाई खरिद गरी दासी जीवन जिउन बाध्य पारिन्थ्यो। २०५७ साउन २ गते तत्कालीन सरकारले कमैयालाई मुक्त घोषणा गरपछि कमैयाप्रथाको अन्त्य भए पनि कमलरी प्रथा अझै हटेको छैन। कमलरी प्रथा हटाउन थारू समुदाय र विभिन्न संघसंस्थाले पहल गरे पनि सरकारले कमलरी मुक्तिको घोषणा गर्न सकेको छैन। अरूको घरमा सानैदेखि काम गर्ने चेलीलाई कमलरी भनिन्छ। यिनीहरूलाई एकदमै न्यून ज्याला वा खाना खुवाएरमात्र राख्ने गरिन्छ। कैयौंको यौन शोषण पनि हुने गरेको पत्रकार सर्वाहरिले बताए।
भाइभाइमा मनमुटाव भए माघीमा नै अशंवण्डा गरिन्छ। यसलाई घरफुटाइ भनिन्छ। जसले यो पर्वलाई नै धावा लगाइदिएको लक्कीले बताए। यस्ता काम माघीमा नगरी अघिपछि गर्न सम्पूर्ण थारू समुदायलाई उनको सुझाव छ। यसले माघीलाई नकारात्मक प्रभाव पारिरहेकाले यस परम्पराको अन्त्य हुन जरुरी भएको उनले बताए। दारु अर्थात रक्सीबिनाको पनि के थारू भन्ने परम्परा पनि तोड्न जरुरी रहेको थारू कल्याणकारिणी सभाका अध्यक्ष चन्द्रकुमारको सुझाव छ।

Leave a Reply

Your email address will not be published.