राष्ट्रपतिबाट चितवन महोत्सव उद्‍घाटन

चितवन- राष्ट्रपति डा रामवरण यादवले चितवन महोत्सव २०६९ एवम् मध्यमाञ्चल औद्योगिक तथा व्यापार मेला २०६९ को आज नारायणी नदी किनारमा उद्घाटन गर्नुभएको छ। उद्योग वाणिज्य सङ्घ, जिविस, भरतपुर नगरपालिका, रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य सङ्घले संयुक्तरुपमा आयोजना गरेको महोत्सवमा उहाँले राजनीतिक दलहरूलाई नैतिकताको राजनीति गर्न आग्रह गर्नुभयो। चितवनमा अन्य दुई कार्यक्रमको उद्घाटनपछि महोत्सव पुग्नुभएका राष्ट्रपति यादवले आज प्रकाशित एक राष्ट्रिय दैनिकको आलेख वाचन गर्दै भन्नुभयो, “सत्य र निष्ठाको राजनीति सकिएको छ, गम्भीर राजनीति नैतिकता र निष्ठाबाट अलग हुन सक्दैन।”

राष्ट्रपतिले गणतन्त्रलाई संस्थागत गर्न सबै दललाई निःस्वार्थ भएर एकै स्थानमा बस्न समेत आग्रह गर्नुभयो। उहाँले २००७ सालको उपलब्धि गुमाइएको र २०४७ सालको उपलब्धिलाई व्यवस्थापन गर्न नसकिको बताउँदै २०६३ सालको उपलब्धिसमेत संस्थागत गर्न नसक्दा जनतामा निराशा पैदा भएको छ भन्नुभयो।

उहा“ले संवैधानिक निकायमा हुँदै आएको रिक्तताका कारण शासन प्रशासन कमजोर बन्दै गएकामा चिन्ता व्यक्त गर्दै भन्नुभयो, “आजैदेखि निर्वाचन आयोग खाली हुँदैछ, सर्वोच्च आदालत पनि त्यस्तै छ, यसरी कसरी आर्थिक विकास सम्भव छ।”

आर्य र मङ्गोल सभ्यताका बीचमा प्रचुर सम्भावना बोकेको नेपालको विकास नहुनाको पछाडि राजनीतिक अस्थिरता नै मुख्य कारण भएको बताउँदै उहाँले देशमा स्थायित्व नभएसम्म आर्थिक विकास हुन नसक्ने बताउनुभयो। राजनीतिक दल र सरकारको कमजोरीका कारण संविधानसभा गुमेको दोहोर्‍याउँदै उहाँले सबै दललाई एकै स्थानमा बसेर संविधानसभा चुनाव र नयाँ संविधान बनाउने आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्य, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष जीवा लामिछाने, नेपालका लागि जापानी राजदूत कुनियो ताकाहासी, वेलहोप ग्रुपका अध्यक्ष जिन विड्याङ, महोत्सव मूल आयोजक समितिका संयोजक डा तिलचन्द्र भट्टराईलगायतले आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

महोत्सव आगामी माघ ५ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा चार सय ७२ कक्ष छन्। चितवन महोत्सव हरेक दुई–दुई वर्षमा आयोजना गरिँदै आएको छ।

महोत्सव उद्घाटन हुनुअघि महोत्सव परिसरबाट निस्किएको शोभायात्रा नारायणगढ बजार क्षेत्रको परिक्रमा गरी पुनः महोत्सवस्थलमा पुगेको थियो। शोभायात्रामा सामाजिक सङ्घसंस्था, विद्यालय, क्याम्पस, व्यापारिक सङ्घसङ्गठन, जातजातिलगायत बाजागाजा र झाँकीसहित सहभागी थिए। रासस

Leave a Reply

Your email address will not be published.