तीन सातादेखि युवती बेपत्ता

सीता चौधरी

निर्मल घिमिरे, बर्दिया- मगरागाडी सोनपुर–५ की २१ वर्षीय सीता चौधरी मंसिर २९ गतेदेखि बेपक्ता भएकी छन्। तीन सातासम्म पनि छोरीको अत्तोपत्तो नलाग्दा परिवारका सदस्य चिन्तित भएका छन्। २९ गते बेलुका ७ बजेसम्म घरमै रहेकी उनी त्यही राति हराएकी बाबु कुकुरा थारूले बताए। ‘मंसिर २९ गते हराएकी छोरीको अवस्था थाहा नपाउँदा परिवारका सबै चिन्तित छौं,’ उनले भने। गाउँले सबै मिलेर नेपालगन्ज, धनगढी, बर्दिया र भारतीय सीमावर्ती गाँउमा खोज्दा पनि पत्ता लागेको छैन।

विगतका यस्तै घटनामा अपहरण गरेर फिरौती माग्ने गरेको भए पनि अनुसन्धानमा घटनाको प्रकृति बेग्लै भएको प्रहरीले जनाएको छ। ‘बाँकेको केटासँग विवाहको कुरा फिक्स भएको थियो,’ बाबु कुकुराले भने,‘केटाले आफ्नो घर देखाउन लगेको थियो, फर्केपछि छोरी बेपत्ता भइ।’ केटासँग बुझ्दा केही थाहा नभएको नपाएको जवाफ पाएको उनले बताए।

‘त्यस दिन हराएकी छोरी अहिलेसम्म फर्केकी छैने,’ उनले भने, ‘आउँछे कि भन्दाभन्दा तीन साता बितिसक्योे।’ छोरीले मोबाइल बोकेर हिँडेकी भए पनि अहिले स्वीच अफ भएको उनले बताए।सीता हराएको खबरले धेरै दिनदेखि गाउँ शोकमा परेकोसाथी शर्मिला बिकले बताइन्। ‘साथीको खबर बुझ्न आएकी हुँ,’ जिल्ला प्रहरी कार्यालयमा भेटिएकी उनले भनिन्, ‘यत्रो दिनसम्म खबर नपाउँदा बिक्षिप्त भएकी छु।’ सीता कक्षा ९ मा अध्यनरत थिइन्।

…आफन्त र टेलिफोनमार्फत् काठमाडौंसम्म खोजी गरे पनि कतै पत्तो नलाग्दा चुलोमा राम्रोसँग दुई छाक पाकेको छैन,’ छिमेकी देवबहादुर भाटले भने। स्थानीयका अनुसार गाडीमा काम गर्ने बाँके नौबस्ता बस्ने पे्रमी प्रेम चौधरीसँग सीताको विवाह हुने भएको थियो। ‘प्रेम र सीताको प्रेमसम्बन्ध थाहा पाएपछि दुवैका परिवार विवाह गरिदिन सहमत भएका थिए,’ एक स्थानीयले भने, ‘केटाले घर देखाएर फर्काएको दोस्रो दिनदेखि केटीको अवस्था अज्ञात छ।’

उनका अनुसार हराएको दिन सीताको भिनाजुले फोन गर्दा प्रेमसँग भएको बताएकी थिइन्। अर्को दिन दिदीले प्रेमलाई फोन गर्दा मगरागाडीमा एक्लै भएको बताएपछि बेपत्ता भएको परिवारलाई थाहा भएको हो। परिवारका अनुसार त्यस दिन राति फोनमा प्रेमसँग सम्पर्क भएको देखिएको छ भने अर्को नम्बर ९८४३३०२५०० मा पनि सम्पर्क भएको कल डिटेलले देखाएको छ। नयाँ नम्बर कहिले स्वीच अफ हुने र खुल्ने गरेको छिमेकी भाटले बताए। प्रहरीले सीताको प्रेमी प्रेमलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। प्रेमीबाट पनि सीताको अवस्थाबारे केही नखुलेको प्रहरीले बताएको छ। शंकास्पद ठाउँमा खोजी गर्दासमेत केही पत्तो नलागेको प्रहरी निरीक्षक अरुण सिंहले बताए।

 

Leave a Reply

Your email address will not be published.