माघेसंक्रान्तिको रौनक सुरु, ठाउँ ठाउँमा मोहत्सव

नेपालगन्ज- माघेसंक्रान्ति आउन एक सातामात्रै बाँकी रहँदा तराईका थारू समुदायमा चहलपहल सुरु भएको छ। थारू जातिले यस पर्वलाई नयाँ वर्षको रूपमा लिने हुँदा तयारीमा जुटिसकेको हुन्। थारू जातिको बाहुल्यता रहेको बाँके, बर्दिया, दाङ, कैलाली, कन्चनपुरमा यतिबेला माघेसंक्रान्तिको रौनकता प्रवेश गरिसकेको अवस्था छ। यी क्षेत्रमा छोरीचेली, आफन्त, साथीभाइलाई निम्तो, मासुको जोह गर्नेदेखि गाउँगाउँमा माघेसंक्रान्तिमा थारू जातिले नाच्ने विशेष नाच मघौटा नाच्न सुरु गरिसकेका हुन्। पछिल्लो समयमा यस नाचमा युवादेखि बुढापाका सबै झुम्मिन्छन्।

पहिलेपहिले मायापिरतीका गीत गाउने थारू जाति अब माघी पर्वमा हकअधिकारबारे पनि आवाज उठाउन थालेको थारू अगुवाहरू बताउँछन्। माघेसंक्रान्तिको अवसरमा कतै महोत्सव त कतै सांस्कृतिक कार्यक्रम हरेकजसो दिन भइरहेका छन् भने कतै हुने तयारीमा छन्। मघेसंक्रान्तिको अवरसर पारेर दाङको रिहार मेला, बाँकेको बैजापुरमा माघी मोहत्सव, बर्दियामा बढैयाताल तथा कृषि मोहत्सव तथा अन्य जिल्लामा माघेसंक्रान्तिलार्ई लक्षित गरि सांस्कृतिक कार्यक्रम हुने भएका छन्।

बैजापुरमा हुन लागेको माघी मोहत्सवमा थारू जातिले माघेसंक्रान्तिको अवसरमा नाच्ने मघौटा नाच प्रतियोगिता तथा झाँकी प्रस्तुत गरिनेछ। माघी मोहत्सवका अगुवा सुरज चौधरीले राप्तीपारिका तीन गाविसमा थारू झाँकी प्रदर्शन गरिने तथा ३३ समूहले प्रतियोगितामा सहभागिता जनाउने बताए।

उनले माघी मोहत्सवमा आउने पाहुनालाई थारू जातिका विभिन्न परिकार चखाएर पठाउने बताए। बर्दियामा हुन गइरहेको बढैया ताल तथा कृषि मोहत्सवका सचिव पत्रकार ठाकुरसिंह थारूले, थारू नृत्य प्रतियोगिता, तथा थारू जातिका दुई दर्जन बढी स्टल रहने बताए। उनले मोहत्सवमा राष्ट्रिय स्तरका दर्जन बढी कलाकारको प्रस्तुति रहने जनाए।
मोहत्सवमा राजेश हमाल, भुवन केसी, रेखा थापा, कोमल वली, सिन्धु मल्ललगायत दर्जन बढी राष्ट्रिय स्तरका कलाकार आउन लागेका हुन्। माघे संक्रान्तिमा थारू जातिले नयाँ योजना बनाउनेदेखि छोरीचेलीलाई उपहार दिने चलन रहेको थारू अगुवा बताउँछन्। उनीहरूले नयाँ वर्षको रूपमा मनाइने माघेसंक्रान्तिमा राज्यले तीन दिन बिदा दिनु पर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published.