बुद्धसेन चौधरी– नेपालमा हिमालदेखि तराईसम्म र मेचीदेखि महाकालीसम्म छरिएर रहेका विभिन्न जातीय समुदायका आ–आफ्नै किसिमका संस्कृति र परम्परा छन्। यस देशमा रहेका संस्कृतिलाई जति वर्णन गरे पनि कम हुन जान्छ। अनादिकालदेखि तराई र भित्रि मधेसमा छरिएर बसोवास गरी आएका संस्कृतिका धनी आदिवासी थारु समुदायको पनि आफ्नै छुट्टै परम्परा र संस्कृतिहरु छन्। यस जातिका अनेक चाँड पर्वमध्ये जितिया पनि एक हो। यो पर्व हरेक वर्ष आश्विन कृष्ण पक्ष सतमी, अठमी र नवमी तिथि अर्थात् विजयादशमीको धटस्थापनाको दिन देखि ९-१० दिन अगाडि मनाइने परम्परा रहिआएको छ। आदिकालदेखि थारु महिलाले हर्षोलाशपूर्वक यो चाँड मनाई ब्रत बस्ने भए पनि पछि थारु समुदायमा मिसिन आएका अन्य जातीय समुदायका महिलाले पनि मनाउँदै आएकाले यसलाई सम्पूर्ण तराईबासीका साझा पर्वको रुपमा पनि लिइएको पाइन्छ।
यस पर्वमा दाजुभाइले दिदी बहिनीलाई ससुरालीबाट माइती ल्याउने चलन छ। दाजुभाई नहुने दिदी बहनीलाई माइती पक्षका अन्य नातेदारले पनि आफ्ना चेलीबेटीलाई लैजाने गर्छ। यो ब्रत माइतीमा नै लिने चलन छ। कारणबस माइती जान सकेन भने् आफ्नो घरमा पनि ब्रत लिन सकिन्छ। केही कारण वस माइती पक्षबाट लिन आएन वा खबर गरेन भने आफैं माइत जाने चलन छैन्। पर्वभन्दा १,२ दिन अगाडि माइती पक्षले लिन आउने परम्परा भए पनि नयाँ नयाँ दुलहीलाई त कृष्णाष्टमी भन्दा अगाडि नै माइती ल्याउने चलन छ। आफूलाई लिन आउने नातेदार तथा कोसेली लैजानको लागि चेलीबेटीले हप्तौ अगाडिदेखि तयारी गरिरहेका हुन्छन्। लिन आउने को स्वागतको लागि विशेष किसिमको परिकार जुटाएका हुन्छन्, जसमा परेबाको मासु पनि एक हो। माछा मासु नखानेको लागि त्यस्तै किसिमको चाँजो बाँजो मिलाएको हुन्छ।
यो पर्वमा विवाहित महिलाले मात्र उपवास बसी ब्रत लिने मान्यता रहे पनि यसको सफलताको लागि परिवारका अन्य सदस्यको भूमिका र जिम्मेवारी महत्वपूर्ण रहेको हुन्छ। केटाकेटीहरु आ–आफ्ना मामा घरमा भएकोले उनीहरु बेग्लै किसिमको उमंग र स्वतन्त्रता महसुश गरी रमाइरहेका हुन्छन् भने धेरै दिनको अन्तराल पछि भेंट भएका दिदी बहिनी तथा सखी सहेंलीहरु एक आपसमा हँसी ठट्ट्यौलीका साथै आफ्नो आफ्नो कथा व्यथा साटा साटमै मस्त रहेका हुन्छन्। अन्य सदस्यहरु श्रद्धालु ब्रत बस्नेहरुको लागि सर–समानहरु जुटाउनमा नै लागिपरेको हुन्छन्। यस प्रकार गाउँघरमा आनन्द पूर्ण वातावरणको श्रृजना भइ सबैजना दुःख, कष्ट र समस्याहरुलाई थाती राखी आ–आफ्नो कामसँग रमाइरहेका हुन्छन्।
यस पर्वमा जितमहान देउताको पूजा गर्ने गर्छ। जित भनेको जित्नु अर्थात् विजय प्राप्त गर्न हो भने महान् को अर्थ विशाल वा ख्याती प्राप्त गर्नु हो। जित र महान यी दुई शब्दको समिश्रणबाट जितमहान बन्न गएको हो। सफलताको प्रतिकको रुपमा सूर्यको छोरा जित महानको ब्रत बस्ने तथा पूजा गर्ने बेग्लै विधि छन्। यो ब्रत हरेक साल लिनुपर्छ। ब्रत बस्नको लागि शुद्ध दिन अर्थात् आश्विन कृष्ण पक्ष सतमी तिथिको दिन शनिबार लाइ (नुहाई धुवाई, तयारी), अठमी तिथि आइतबार उपास (पानीसमेत नखाइ भोकै बस्ने) र नवमी तिथि सोमबार पारन (विधिपूर्वक भोजन सुरुवात) गर्ने तिथि मिति परेको साल हुनुपर्छ, अनिमात्र यो ब्रतको सुरुवात गर्न सकिन्छ।
लाइ अर्थात् नुहाएर सुरु गर्ने दिन व्रतालुहरु बिहानै सबेरै उठेर नदी, खोला, पोखरी, इनार इत्यादिमा गई नुहाइ धुवाइ गरी माटो (चिकनी माइट) र पिना (खैर)ले कपाल पखाली घिरौला (घेरा) को पातमा घिरौलाको फूल, माटो र पिना पूर्वतिर फर्केर भिजेकै कपडा लगाइ चाढाउने गर्छन्। दिनभरी खानपिनको तयारीमा व्यस्त रहन्छन्। पुरुषहरु नदी, पोखरी, तलाउ इत्यादिमा गइ माछा मार्छन्। यस पर्वमा खानपिनको खासै बन्देज नभए पनि मासु खाने चलन छैन भने केही खाने कुराहरु अनिवार्य नै हुन्छ। जस्तै : माछा, ओल (एक किसिमको माटो मुनि फल्ने तरकारी), मरुवा (कोदो), इत्यादि। यसरी सरसमानहरु जुटाइ साँझ सबेरै खानपिन गरी सुत्छन् र निसी राति नै उठेर विभिन्न किसिमको परिकारहरु पकाउनमा जुट्छन्। खानपिनको तयारी भइसकेपछि सबेरै अर्थात् काग कराउनुभन्दा अगाडि सप्तमी तिथिभित्र नै देउताघरको दलिनमा पूर्व फर्केर घिरौलाको पातमा दुई ठाउँमा चिल्ही र सियारीनलाई दही, च्युरा, गुँड, सुपारी चढाउछन्, त्यसपछि खानपिन गर्छन्, जसलाई दर खाने (ओटघन) भनिन्छ। यसबारे एउटा उखानै छ।
जितिया पावैन बर भारी!
धियापुता के ठोइक सुताबी!!
अपना ल्या बैठे भैर थारी!!!
अर्थात्, यो पर्व एकदम कठिन र महत्वपूर्ण पर्व हो। यसमा आफ्नो सन्तानहरुको लागि नै व्रत बस्ने भएपनि राति विभिन्न परिकारहरु पकाउने र खाने बेलामा साना साना केटा केटीहरुले कठिनाइ उत्पन्न नगरोस् भनेर उनीहरुलाई थपथपाएर सुताउने गर्छन् र आफूहरु थालभरि मिठोमिठो परिकारहरु लिएर खाने गर्छन् साथै खानसक्ने बाल-बच्चालाई उठएर खुवाउने गर्छन्।
दिउँसो व्रतालु दिदीबहिनीहरु सामुहिक रुपमा आँगन वा दुवारमा चारकुने सानेा पोखरी खन्छन्। पूजाको लागि डालो तयारी गर्छन, जसमा विखमान (विषेश किसिमको कर्कलो) को पात, केराको पात, घिरौलाको पात र फूल, जितियाको फूल, तुलसीको पात, हल्दीको फूल, बौटरा (सानो केराउ), अक्षता (अर्वा चौर), करुतेल (तोरीको तेल), सिन्दुर, सिकी, गौरा खर, फलफूल, दही, च्युरा, सखर, धानको मोइर, रातो पहेलो कालो रंगको ध्वजा, इत्यादि रहेका हुन्छ। सबैजना विधि पुर्वक तयारी भइसके पछि कथा वाचकले कथा प्रारम्भ गर्छ। कथामा पृथ्वीको उत्पतिदेखि ब्रह्मा, विष्णु, महादेवको जन्म र मानव श्रृष्टि तथा अन्य जीवजन्तुहरुको उत्पति सम्बन्धि पौराणिक धारणाहरुको वर्णन गरेको छ।
पौराणीक कथन र हाल रहेको बिस्वास अनुसार प्राचीन समयमा उत्तरी भारतीय प्रायद्धिपमा सारीवाहन नाम गरेको एउटा महाप्रतापी थारु राजा थियो त्यसको मसवासी नाम गरेकी एउटी राजकुमारी थिइन्। राजकुमारी बिहान सबेरै सूर्य उदाउनुभन्दा पहिला नै नदीमा स्नान गरी आफ्नो वासस्थानमा फर्कि पूजाआजा गर्ने गर्थिन्। एक दिन मसवासीलाई उठ्न ढिलो भएछ र स्नान गरी फर्कदा सूर्य उदाइ सूर्यको किरण मसवासीको शरीरमा पर्न गइ त्यसको प्रभावले गर्भ रहन जान्छ। समय पुगेपछि मसवासीबाट एउटा बालकको जन्म हुन्छ। बालक हिँडडुल गर्न थालेपछि आफ्ना उमेरका अन्य बालबच्चाहरुलाई कुनै पनि कुरामा जित्ने भएकोले उसलाई सबैले जितुवा नामले बोलाउन थाल्छ भने बाबुको नाम थाहा नभएकोले उसलाई अनेर्वा पनि भन्ने गर्छन्। एक दिन सबैजना मिलेर उसलाई हराउने उपाय सोच्छन्। आमाको नाम लिएर घर भित्र छिर्ने र बुवाको नाम लिएर घर बाहिर आउने अन्धाअन्धिको खेल खेल्छन्। सबैजना घरबाट बाहिर आउछन् तर जितुवालाई बुवाको नाम थाहा नभएकोले घरभित्रबाट बाहिर निस्कन सकिरहेको हुंदैन्। यो कुरा थाहा पाइ मसवासीले आएर जितुवालाई तिम्रो बुवाको नाम सूर्य हो भनी जानकारी गराउछिन्। त्यसपछि जितुवा सूर्यलाई भेट्न भनी घरबाट निस्कन्छ। निकै दिनपछि सूर्य मानवको रुप धारण गरी जितुवालाई दर्शन दिन्छ र म नै तिम्रो बुवा सूर्य हुँ भनी जितुवालाई, घर फर्कन सल्लाह दिन्छ। आजदेखि तिम्रो नाम जितमहान रह्यो। तिमी गएर गाउँ नगरमा सबैलाई सुनाइदिनु कि आश्विन कृष्णपक्ष सप्तमी तिथिमा लाइ अष्ठमीमा उपास र नवमीमा पारन गरी निष्ठा पूर्वक यो व्रत जसले गर्छ त्यसलाई सन्तान प्राप्ति हुनुका साथै सन्तान सुखसमृद्ध रहन्छ। त्यही विश्वास अनुसार हालसम्म यो व्रत बस्ने चलन रही आएको छ। अहिले पनि थारु समुदायमा बाल बालिकाको नाम राख्दा उसको स्वभाव र बानी व्यहोरा अनुसार राख्ने चलन छ। थारुहरुको थाक वंश र कुलको पहिचान उनीहरुको पूर्खाकै नामबाट हुन्छ र कुल देवताको रुपमा पनि आफ््कनै पुर्खालाई पुज्ने गर्छन्। त्यसकारण यो पर्वसँग थारुहरुको वंशानुगत सम्बन्ध रहेको छ।
जित महानको भनाइ अनुसारको समय आएपछि गाउँ र नगरको दिदीबहिनीहरु शर्वदा नदी किनारमा जम्मा भइ व्रत बस्न नुहाइरहेको देखेर त्यही नदी किनारमा रहेको पाकैरको रुखमा गुँड बनाएर बसेको चिल र रुखको धोधरमा बस्दै आएको स्याल पनि एक आपसमा सल्लाह गरी जितमहानको व्रत लिन्छन्। व्रतको क्रममा चिलले निष्ठा पूर्वक विधि पुर्याएर उपवास वसी व्रत पुरा गर्छिन भने स्याल राति लुकेर मासु खाई ब्रत भ्रष्ट गर्छिन जसको परिणाम अर्को जन्ममा चिलको बच्चाबच्ची हुन्छ भने स्यालको हुँदैन र हुँदा पनि बच्चाहरु मरेर जान्छन्। यसको कारण पछि स्यालले पूर्व जन्ममा गरेको जितिया पर्वको परिणाम हो भनेर थाहा पाउँछ। त्यसपछि उनीहरु पुनः अर्को जन्ममा दिदी बहिनीको रुपमा जन्म लिन्छिन्, जसलाई एउटा ऋषिले बिहे गरेर लैजान्छ। उनीहरुको सेवाबाट प्रभावित भई कदु (चिल) लाई दुइटा अण्डा दिन्छ, जस मध्येबाट एउटा अण्डा भुईंमा झरेर सिमलको रुख बन्छ भने अर्को अण्डा गरुड बन्न जान्छ। बोता (स्याल) लाई एउटा अण्डा दिन्छ जसबाट सर्प (करिया दराद) जन्म लिन्छ। आमाहरुको कारण गरुड र सर्प दुई भाईमा झगडा भइ लडाई हुन्छ, जसमा गरुडको जित हुन्छ। त्यस जितपछि गरुड निकै घमण्डी बन्छ र संसारमा मलाई जित्ने कोइ पनि छैन भनी गुमान गर्छ तर त्यसको घमण्डलाई बसहा गोरुले आफनो नाकको हावाबाट उडाई गरुरको घमण्ड चकनाचुर गरी दिन्छ। यस किसिमले जितिया कथा समाप्त हुन्छ। कथा समाप्त भए पछि भाईले दिदी बहिनीलाई सिकीको धनुष र सिकी कै वाणबाट तिन चोटी पिठ्यूमा हान्छ, अखर छोरा छोरा भएका माइज्यू वा काकी वा भाउज्यूहरु कुशबाट ब्रतालु महिलाहरुलाई दात कोट्याइ दिन्छ तथा कथा सुनिरहदा बीच बीचमा कथा वाचकको आदेशानुसार कहिले सूर्य त कहिले जितमहान तथा गरुड, चील, स्याल आदिको नाममा खनेको पोखरी नजिकै पूर्व फर्केर पूजा गर्नु पर्छ। पूजा समाप्ति पछि कथा वाचकलाई दान दिइ बिदाइ गरी सरसम्मानहरु डालोमा राख्छन्। त्यस दिन गाँउ घरमा जितमहानको मुर्ती बनाएको ठाँउमा पूजा आजा गर्नुका साथै मेला पनि लागेको हुन्छ।
साँझ परिसकेपछि गाउँघरमा रातभर विभिन्न किसिमको नाच जस्तै धुमरा, सोरठी, मान, झमटा इत्यादि नाच गरेर व्रतालु तथा अन्य सबैले मनोरञ्जन गर्ने परम्परा रहिआएको छ।
अन्तिम दिन बिहान सूर्य उदाएपछि घर आँगन गोवर माटोले लिपपोत गरेर नुहाइ धुवाइ गर्न जाँदा डालोमा भएको सम्पूर्ण पूजा सामग्रीहरु पोखरी, नदी इत्यादिमा प्रवाह गरी नुहाइ धुवाइ गर्ने गर्छन्। घर आइसके पछि आँगनमा पूर्वतिर फर्केर चौका बनाई सिन्दुर र तेलले दुइवटा ठाडो धर्का तान्छन्, बीचमा पानको पात राखी त्यस माथि सुपारी, दही, च्युरा, बौटरा, अक्षता, तुलसीको पात चढाउँछन्। उक्त समयमै गौरा खर कान्छी औला र बुढी औलाको सहायताले सानो सानो टुक्रा भाँची क्रमशः पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशातिर तिन चोटी फाल्ने गर्छन्। पूजामा जलढार (जल चढाउनु) गरी पाँच वटा बौटरा, पाँच वटा अक्षता दाँतमा नछुवाइकन निल्छन्, अलिकति दही, च्यूरा खाएर भोजनको सुरुवात गर्छन् त्यसपछि आफूखुशी खान्छन्। चढाएको दही, च्यूरा केटाकेटीहरुलाई प्रसाद स्वरुप बाँड्छन् भने पान र सुपारी आफै खाने गर्छन्। त्यसदिन गाउँघरमा माछा हैन मासु खानामा अनिवार्य हुने गर्छन्। टोल टोलमा खसी काटेको हुन्छ। आफू खसी काट्न नसक्नेले किनेर भए पनि खान्छन्। त्यसको भोलिपल्ट वा पछि आफ्नो चेलीवेटी तथा भान्जा भान्जीहरुलाई नयाँ नयाँ लुगाफाटो र विभिन्न किसिमको कोसेलीहरु सहित विदाइ गरी सके पछि यो पर्व यस वर्षको लागि समाप्त हुन्छ।
यस प्रकार जितिया पर्वको महत्वपूर्ण स्थान छ। यसको बारेमा एउटा कथन नै छ। जस अनुसार कुनै पनि व्यक्ति ठूलो आपत विपत वा दुर्घटनाबाट बच्छन् भने त्यसलाई सबैले भन्ने गर्छन्, “जो रे जो तोहर महताइर खर दिन जितिया पाथ ने रहौ ताव तु बचल्या” अर्थात् तिम्रो आमा निष्ठा पूर्वक शुद्ध दिनमा यो जितिया ब्रत बसेकोले गर्दा नै तिमी बाँच्न सफल भयौ।
यो पर्व भाइबहिनी बीचको स्नेहपूर्ण मिलन हो भने दुई कुटुम्ब र अन्य नातेदारहरु बीचको सम्बन्ध प्रगाढ बनाउने एउटा माध्यम पनि हो। संसारका जति पनि उत्पतिहरु छन्, सबै एका आपसमा जोडिएको हुन्छ र कुनै एकको बिनास भएमा त्यसको असर सबैलाई पर्छ भन्ने सन्देश यो जितिया पर्वले दिइएको छ। यस कथामा आमा र सन्तान बीचको पनि घनिष्टता दर्शाएको छ भने कुनै पनि काम निष्ठा तथा नियम पुर्वक विधि पुर्याएर गरेमा सफलता अवश्य हात पर्छ भन्ने कुराको जानकारी समेत गराएको छ। कथाको अर्को पक्ष सबैले मिलेर बस्नु पर्छ, कसैले पनि घमण्ड गर्नु हुँदैन किनकि यस संसारमा वीरभन्दा पनि वीर छन्। त्यसकारण यस पर्वको पौराणिक कालमा जति महत्व थियो आज यसको महत्व झन बढेर गएको छ।
नोट : तस्बिरहरु गत वर्ष नाचघरमा आयोजित जितिया कार्यक्रमको हो।