‘टाइटानिक गर्ल’को तेस्रो बिहे

न्युयोर्क, एजेन्सी– हलिउड अभिनेत्री केट विन्सलेटले प्रेमी नेड रकएनरोलसँग न्युयोर्कमा बिहे गरेकी छन्। ३७ वर्षीया केटको यो तेस्रो बिहे हो। ‘टाइटानिक’की अस्कर विजेता अभिनेत्री केटले केही साथी र अघिल्ला सम्बन्धबाट जन्मिएका दुई बच्चाको उपस्थितिमा बिहे गरिन्।
३४ वर्षीय नेडले केही समयअघि बेलायती कानुनको सुविधाअनुसार आफ्नो वास्तविक नाम अबेल स्मिथलाई परिवर्तन गरेका हुन्। उनी बेलायती उद्योगपति रिचर्ड ब्रान्सनका भान्जा हुन्।
‘दुईको इन्गेजमेन्ट गत गर्मी याममा भएको थियो,’ केटकी प्रवक्ताले भनिन्, ‘वैवाहिक समारोह केही हप्ताअघि निकै गोप्यताका साथ सम्पन्न भएको छ।’ दुवैका अभिभावक समेत बिहेबारे बेखबर थिए।
सन पत्रिका अनुसार ‘टाइटानिक’कै सहकर्मी अभिनेता लियोनार्दो डिक्याप्रियोले केटलाई बिहेमा डोर्‍याएका थिए। केटको दोस्रो पति निर्देशक स्याम मेन्डेस हुन्, जसको फिल्म फिल्म ‘रिभोल्युसनरी रोड’मा लियोनार्दो र केटले अभिनय गरेका थिए। अहिले ४७ वर्ष पुगेका मेन्डेस अस्कर विजेता फिल्म ‘अमेरिकन ब्युटी’ र पछिल्लो जेम्स बोन्ड ‘स्काइफल’का निर्देशक हुन्। मेन्डेस र केटको सात वर्षे वैवाहिक सम्बन्ध सन् २०१० मा टुंगिएको थियो। मेन्डेसबाट केटले छोरा जोय जन्माइन्।
केटको पहिलो बिहे सन् १९९८ मा भएको थियो। फिल्म ‘हाइडियस किंकी’मा अभिनय गर्ने क्रममा केटले उक्त फिल्मका सहायक निर्देशक जिम थि्रप्लेटनसँग बिहे गरेकी थिइन्, जुन तीन वर्षमात्र टिक्न सक्यो। जसबाट छोरी मिया जन्मिएकी हुन्।
त्यसअघि सन् १९९१ मा केटको भेट ‘डार्क सिजन’का लेखक तथा अभिनेता स्टेफन ट्रेडरसँग भएको थियो। दुईबीचको अफेयर साढे चार वर्ष चलेको थियो। सन् १९९५ मा ब्रेकअप भएपनि उनीहरु नजिकका साथी रहिरहे। सन् १९९७ मा स्टेफनको हडी क्यान्सरबाट निधन हुँदा केटले फिल्म ‘टाइटानिक’को लसएन्जल्स प्रिमियर गुमाएकी थिइन्।
अस्कर अवार्डमा ६ पटक मनोनित केटले ‘द रिडर’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्।

Leave a Reply

Your email address will not be published.