भैँसी चराउनेबाट निकास निस्कन्नः गजुरेल

उदयपुर- नेकपा-माओबादीका उपाध्यक्ष सीपी गजुरेलले भैँसी चराउने राष्ट्रपतिले देशलाई निकास दिन नसक्ने बताएका छन्। क्रान्तिकारी पत्रकार महासंघ उदयपुरद्वारा शुक्रबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा गजुरेलले निकासका लागि पटकपटक म्याद थप्ने राष्ट्रपतिबाट समस्या समाधान हुने कुनै छाँट नदेखेको बताए।
‘गोरु दुहुने वर्तमान अवस्थामा गाई-भैंसी पाल्ने राष्ट्रपतिले कसरी निकास दिन सकून्’ ठट्यौली पारामा बोल्दै गजुरेलले भने, ‘दलहरु त के, अहिलेसम्म राष्ट्रपति नै निकासको नजिक पुग्न सकेका छैनन्।’ उनले बाबुराम भट्टराईले कुनै हालतमा राजीनामा नदिने र दिइहाले पनि उनको ठाउँमा प्रचण्ड प्रधानमन्त्री हुने हुनाले देशले अझै निकास पाउने कुनै सम्भावना नदेखिएको ‘भविष्यबाणी’ पनि गरे।

उनले प्रचण्ड विदेशी षडयन्त्रकारी समूहको नेपाली खलनायक भएको अरोप लगाउँदै नेपालमा राजनीतिक असफलता हुनुमा विदेशीको हात रहेको र त्यसको सम्पर्कसुत्र प्रचण्ड रहेको दाबी गरे। नेपालको संविधान नबन्नुमा प्रमुख जिम्मेबार एमाओबादी, कांग्रेस र एमाले भएको उनको दावी थियो। त्यसमा पनि प्रमुख दोषी प्रचण्ड नै भएको आरोप दोहोर्‍याउँदै उनले भने, ‘एमाओबादी, कांग्रेस र एमालेका कारण संविधान नबनेको हो, त्यसमा पनि प्रमुख दोषी प्रचण्ड नै हुन्।’

Leave a Reply

Your email address will not be published.