छिटै कांग्रेसको नेतृत्वमा सहमतीय सरकार : निधि

चितवन- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले काँग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्ने पक्कापक्की भएको बताएका छन्। नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिवप्रसाद पौडेलको स्मृति दिवसको सन्दर्भमा आज नारायणगढमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले भने, “टुङ्गोमा पुग्न सानातिना विषय बाँकी रहेका छन्, बढीमा तीन दिनभित्रमा दलहरू सहमतिको सरकार बनाउन सफल हुनेछन्।”
उनले कांग्रेसको सरकार बनेलगत्तै विगतको सहमतिअनुसार स्वर्गीय पौडेललाई सहिद घोषणा गरिने पनि उहाँले आश्वासन दिए। अर्का केन्द्रीय सदस्य महेन्द्र यादवले निष्पक्ष चुनावका लागि काँग्रेसले सरकारको नेतृत्व लिन चाहेको बताए।
कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष उदयशमशेर राणाले तरुणहरू सङ्गठित नभएसम्म पार्टी बलियो नहुने भन्दै तरुणलाई सङ्गठित भएर अघि बढ्न आग्रह गरे। कारागारमा कुटपिटबाट गम्भीर घाइते भएका पौडेलको गत वर्ष पुस २ गते उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको थियो। सो पश्चात् पौडेललाई राज्यले सहिद घोषणा गर्नुपर्ने भन्दै नेपाली काँग्रेसले सरकारलाई दबाब दिँदै आएको छ।
आजै पौडेलमाथि आक्रमण भएको भरतपुर कारागारमा परिवारले त्यहाँ रहेका कैदीबन्दीलाई फलफूल वितरण गरेको थियो। रासस

Leave a Reply

Your email address will not be published.