सशस्त्र प्रहरी बल र सुदूरपश्चिमाञ्चल विजयी

धनगढी- यहाँ जारी प्रथम महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता २०६९ अन्तर्गत आज भएका खेलमा विभागीय टीम सशस्त्र प्रहरी बल (एपिएफ) र घरेलु टीम सुदूरपश्चिमाञ्चल विजयी भएका छन्। स्थानीय रङ्गशालामा भएको पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई १४–० गोलले पराजित गरेको छ।

एपिएफका लागि अनु लामाले चार र रञ्जना दर्जीले तीन गोल गरी हयाटि्रक गरिन् भने सजना राना र मनमाया लिम्बुले समान दुई तथा प्रमिला राई, लक्ष्मी पौडेल र मिरा महर्जनले समान एक/एक गोल गरेका थिए। प्रतियोगितामा मध्यपश्चिमाञ्चल टीमले पाएको अवसर सदुपयोग गर्न नसक्दा ठूलो अन्तरले हार बेहोर्नुपर्‍यो।

यसैगरी आजै भएको दोस्रो खेलमा घरेलु टीम सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई ७–० ले हराउँदै बाजी मारेको छ। सुदूरपश्चिमाञ्चलका लागि निरा सुनारले हयाटि्रक गर्न सफल भइन्। त्यस्तै सविना चौधरी, अमृता जैसी, सीमा चौधरी र हेमा चौधरीले समान एक/एक गोल गरेकी थिइन्।
आजको जीतसँगै एपिएफ लिग अङ्क तालिका आधारमा छ अङ्कका साथ अग्रस्थानमा पुगेको छ। आज पराजय ब्यहोरेको पश्चिमाञ्चलले यसअघि पनि नेपाल आर्मीसँग १४–० गोलले पराजित भएको थियो।
त्यस्तै आज पराजित हुने मध्यपश्चिमाञ्चलले यसअघि पनि नेपाल प्रहरीसँग ७–० गोलले हार ब्यहोर्नुपरेको थियो। भोलिको पहिलो खेल नेपाल प्रहरी र मध्यमाञ्चल तथा दोस्रो खेल नेपाल आर्मी र पूर्वाञ्चलबीच हुने कार्यक्रम छ। रासस

Leave a Reply

Your email address will not be published.