पूर्व लडाकुहरुको धर्ना जारी

काठमाडौं- एमाओवादीका अयोग्य पूर्व लडाकुहरूको संस्था बहिर्गमित जनमुक्ति सेना नेपालले विभिन्न १२ सूत्रीय माग राख्दै एमाओवादीको कार्यालय पेरिसडाँडामा धर्ना जारी राखेको छ। गत मङ्सिर १३ गते सुरु भएको धर्नामा आर्थिक अवस्था कमजोर हुँदै गएका गत केही दिनदेखि एक छाकमात्र खाएर धर्ना दिनुपर्ने बाध्यता आएको सङ्घर्ष समितिका संयोजक लेलिन विष्टले जानकारी दिए।
बहिर्गमित जनमुक्ति सेनाको अयोग्यको बिल्ला खारेज हुनुपर्ने, बहिर्गमित जनमुक्ति सेनालाई सम्मानजनक मूल्याङ्कन कदरपत्रसहित सम्बोधन गरिनुपर्ने, स्वेच्छिक अवकाश रोज्ने जनमुक्ति सेनासरह एकमुष्ट आर्थिक प्याकेज उपलब्ध गराउनुपर्ने, राज्यको कुनै पनि निकायमा बहिर्गमित जनमुक्ति सेनालाई २५ प्रतिशत आरक्षण कोटा छुट्याउनुपर्ने माग रहेको उनले बताए।
धर्ना कार्यक्रममा करिब ४००/५०० बहिर्गमित लडाकुको सहभागिता रहेको थियो। बालबच्चासहित ३०/३५ जोडी पूर्वलडाकु पनि धर्नामा सहभागी भएका उनले जानकारी दिए। संयोजक विष्टले माग पूरा गराउन नेपाल सरकार, राष्ट्रपति, प्रधानमन्त्री, शान्तिमन्त्री, विभिन्न राजनीतिक दलहरूलाई ध्यानाकर्षणसमेत गराइसकेको उल्लेख गरे।
धर्नामा रहेका जनमुक्ति सेनाका लडाकुहरुका बालबच्चा तथा धर्नामा बसेका लडाकुहरु चिसोका कारण बिरामीसमेत हुन थालेकाले उपचार गर्नसमेत कठिनाइ भइरहेको संयोजक विष्टले बताए।
धर्नामा बसेदेखि आफूहरुलाई कोही पनि पार्टी नेताहरुले भेट्न नआएको र शान्ति मन्त्रालयमा १० बुँदे सहमति भए नि सहमति कार्यान्वयन नभएकामा उनले आपत्ति जनाए। रासस

Leave a Reply

Your email address will not be published.