राष्ट्रपतिले पाँच दिन म्याद थप्दै भने- यसलाई अन्तिम बनाउनुस्

काठमाडौं- राष्ट्रपति रामवरण यादवले राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्न आज चौथो पटक पुनः म्याद थप गरेका छन्। सहमतीय सरकार गठनका लागि राजनीतिक दलहरुलाई पुस २ गतेसम्मको समयसीमा थपिएको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ। 
एमाओवादी, नेपाली काँग्रेस, नेकपा (एमाले) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुसँग आज बिहान राष्ट्रपति भवन शीतलविनासमा छलफल भएपछि चौथोपटक म्याद थपिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
यसअघि राष्ट्रपतिले मङ्सिर ८ गते पहिलोचोटि सहमतीय सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको थियो। उक्त अवधिमा पनि दलहरुबीच सहमित जुट्न नसकेपछि मङ्सिर १४ गते दोस्रोपटक र २२ गते तेस्रोपटक पुस २७ सम्मको समयावधि तोकेर सहमतीय सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गरेका थिए।
तर पछिल्लोपटक थपिएको समयावधिभित्र पनि दलहरुबीच सहमति जुट्न नसकेपछि फेरि समयावधि थपिएको हो। गत जेठ १४ गते संविधानसभा भङ्ग भएयता गहिरिँदै गएको राजनीतिक सङ्कटको समाधान भेटिएको छैन। निर्वाचनमा जाने विषयमा भने दलहरु एकमत देखिएका छन्।
सत्तारुढ गठबन्धनका दलहरुले यही सरकारलाई सहमतीय सरकारको स्वरुप दिनुपर्ने भनाइ राख्दै आएका छन्। साथै संविधानका अन्तर्वस्तुमा समेत प्याकेजमै सहमति खोज्नुपर्ने उनीहरुको अडान छ।
तर कांग्रेस, एमालेलगायतका दलहरु भने राष्ट्रिय सहमतिको लागि यो सरकारको बहिर्गमन आवश्यक रहेको अडानमा छन्। काँग्रेसले भने पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ जसलाई अन्य प्रतिपक्षी दलहरुले समेत समर्थन जनाएका छन्।
आज भएको छलफलपछि नेताहरुले तोकिएको समयावधिभित्र नै सहमति जुटाउने बताए। उनीहरुले राष्ट्रपति यादव छिटो सहमति होस् भन्नेमा चिन्तित हुनुभएको बताउँदै सहमतिको विकल्प नभएको बताए।
नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले चाँडो सहमति होस् भन्ने सबैको भावना रहेको बताउँदै त्यसका लागि थप पाँच दिनको समय दिन आग्रह गरिएको बताए। “पाँच दिनभित्र सहमति गर्न अधिकतम् प्रयास हुन्छ, राष्ट्रपति पनि छिटो सहमति हुनुपर्छ भन्नेमा चिन्तित हुनुहुन्छ”, अध्यक्ष खनालले भने।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले अहिले राष्ट्रसामु रहेको समस्याको समाधान खोज्न सबैले फराकिलो ढङ्गले सोच्नुपर्ने बताए। मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले प्याकेजमा सहमति हुने र तोकिएको सयममै सहमतीय सरकार गठनका लागि प्रयास जारी रहने बताए। रासस

Leave a Reply

Your email address will not be published.