राष्ट्रपतिको आह्‍वानलाई जनताले साथ दिनुपर्छ : उपराष्ट्रपति झा

काठमाडौं- सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले गर्नुभएको आह्वानलाई जनताले साथ दिनुपर्ने उपराष्ट्रपति परमानन्द झाले बताएका छन्। उपराष्ट्रपति कार्यालयमा आज रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उपराष्ट्रपति झाले अब राष्ट्रपतिलाई जनताले साथ दिनुपर्र्ने बेला आएको बताए। उनले भने, “अहिले राष्ट्रपतिलाई जनताको सहयोग आवश्यक परेको छ। जिल्लाजिल्लामा हस्ताक्षर अभियान चलाएर नागरिक समाजले राष्ट्रपतिलाई सहयोग गर्नु आवश्यक छ।”

सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले गरेको आह्वान सकारात्मक भएको बताउँदै राष्ट्रपतिको आह्वानले कम्तीमा दलहरुबीच छलफल सुरु हुने वातावरण सिर्जना गरेको उपराष्ट्रपति झाले बताए।
उनले अहिलेको अवस्थामा सरकारले पठाएका अध्यादेश राष्ट्रपतिले स्वीकृत गर्नैपर्छ भन्ने नरहेको बताउँदै दुरगामी असर पर्ने भएकोले राष्ट्रपतिले बजेट अध्यादेश स्वीकृत गर्नु स्वाभाविक भएको उल्लेख गरे।
सहमतीय सरकार गठनका लागि दलका नेताहरुलाई अहिले अन्तिम अवसर भएको बताउँदै उनले भने, “यो अन्तिम अवसरको पनि सदुपयोग गर्न नसके दलका नेताहरु उदाङ्गिने छन्।”
दलको नाम नलिएरै उनले भने, “अहिले कुन दलको कारणले सहमति हुन सकिरहेको छैन भन्ने कुरा जनताले थाहा पाइसकेका छन्।” उपराष्ट्रपति झाले मुलुकको आवश्यकताअनुसार दलका नेताहरुले छलफल नगरेकामा असन्तुष्टिसमेत जनाए। रासस

Leave a Reply

Your email address will not be published.