काठमाडौं- सरकारले पाँच विकास क्षेत्रका दस स्थानमा नयाँ सहर विकासको अभियान अगाडि बढाएको छ। निर्माणाधीन पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको छेउमा विकास गर्न लागिएको १० वटा नयाँ सहरको भौतिक पूर्वाधार निर्माण कार्य सुरु भएको छ। यातायातको सुगमता, जमिनको उपलब्धता, खानेपानीको स्रोत उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अवस्थिति, जनसङ्ख्या आदिको आधारमा प्रस्तावित सहरको २० वर्षे गुरुयोजना एवम् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार गरी चरणबद्धरुपमा आधुनिक सहरको निर्माण गर्ने कार्य थालनी भइसकेको छ।
छनोट परेका स्थानमा पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको वैरेनी–गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन रहेका छन्।
प्रत्येक सहरको आयोजना स्थलमा मध्यपहाडी नयाँ सहर आयोजना कार्यालय पनि स्थापना गर्ने तयारी भइरहेको छ। नयाँ सहर विकास आयोजना प्रमुख कृष्णराज पाण्डेका अनुसार रुकुमको चौरजहारी र अछामको साँफेबगरमा मुख्य–मुख्य भौतिक पूर्वाधार निर्माणको काम सुरु भइसकेको छ। यसैगरी सामान्यरुपमा बसन्तपुर र धादिङको बैरेनीमा पनि भौतिक निर्माणको काम सुरु भएको छ।
सहर निर्माणको यो अभियानले पाँचथरको फिदिम गाविसलाई समेट्ने छ। सो क्षेत्रमा १५ हजारको हाराहारीमा जनसङ्ख्याको बसोवास रहेको छ भने विसं २०९० सम्म एक लाख जनसङ्ख्यालाई बसोवास उपलब्ध गराउने योजना छ। यहाँको जनघनत्व प्रतिवर्ग किलोमिटर ३६४ रहेको छ। सडक यातायात पुगेको र खानेपानीको सुगम उपलब्धता भएको कारण सो क्षेत्रलाई उपयुक्त मानिएको हो।
यसैगरी तेह्रथुमको बसन्तपुर गाविसमा नयाँ निर्माण गर्न लागिएको सहरमा कोसी राजमार्ग र मध्यपहाडी लोकमार्गको सडक यातायातको सेवा उपलब्ध छ। यहाँ २५२ व्यक्ति प्रतिवर्ग किमि जनघनत्व छ। यस स्थानमा हालको कृषि क्षेत्रको २५ प्रतिशत क्षेत्रलाई आवास र मिश्रित क्षेत्रमा परिणत गर्ने सरकारको योजना रहेको छ।
बनेपा–बर्दिवास राजमार्ग र मध्यपहाडी लोकमार्ग खुर्कोट बजार भई सञ्चालनमा आइसकेको सिन्धुलीको खुर्कोट बजार पनि प्रस्तावित नयाँ सहरको योजनामा परेको छ। भीमेश्वर गाविसको १५.२५ वर्ग किलोमिटर क्षेत्रमा निर्माण गरिने यो सहरमा हाल जनघनत्व १३२ व्यक्ति प्रतिवर्ग किलोमिटर रहेको छ।
सुनकोसी नदी किनारमा रहेको खुर्कोटमा अँधेरी खोलाबाट खानेपानी उपलब्ध गराउन सकिने र अरु आवश्यक भौतिक संरचनाको प्रारम्भिक उपलब्धता भइसकेको छ। जलयात्रा तथा पर्यटन विकासको प्रचुर सम्भावना रहेको यस स्थानमा विसं २०९० सम्म एक लाख जनसङ्ख्यालाई आवास सुविधा उपलब्ध गराइने लक्ष्य छ।
यसैगरी पोखरा–काठमाडौँ पृथ्वी राजमार्ग तथा रसुवा–धुन्चे सडक सञ्जालले जाडिएको धादिङको बैरेनी गल्छी साधीखोला र त्रिशूली नदीको किनारमा अवस्थित छ। बैरेनी र कल्लेरी गाविसमा विस्तार गरिने सो सहर स्थानीय रुपमा आर्थिक केन्द्रको रुपमा विकास हुँदै गएको छ। यस क्षेत्रमा १५० वटा जति व्यवसाय सञ्चालित छ।
बन्दीपुर र भानु गाविसमा निर्माण गर्न लागिएको तनहुँको डुम्रे भन्सार काठमाडौँ–पोखरा सडक खण्ड र डुम्रे बजारबाट लमजुङ जिल्लाको सदरमुकाम बेसीसहरसम्म सडक सञ्जाल जोडिएको छ। यस क्षेत्रमा हाल ३०९ व्यक्ति प्रतिवर्ग किमि जनघत्व छ। भानु गाविसमा चुँदी खोलाले बनाएको फाँटका कारण कृषिको प्रचुर सम्भावना छ।
बागलुङको बुर्तिवाङ पोखरा–बागलुङ तथा बुटवल–पाल्पाबाट सडक यातायातले जोडिएको छ। हाल प्रतिव्यक्ति २४१ व्यक्ति प्रतिवर्ग किमि जनघनत्व रहेको यस क्षेत्रमा हालको कृषि क्षेत्रको २५ प्रतिशत क्षेत्रलाई आवास क्षेत्रमा परिणत गर्ने सरकारको तयारी रहेको बुझिएको छ। कुमालेले भाँडा बनाउने परम्परागत पेसा रहेको सो क्षेत्रमा विद्युत् सुविधा उपलब्ध भइसकेको छ।
रुकुमको चौरजहारी हवाई यातायात तथा सुर्खेत–सल्यान सडक यातायातले जोडिएको छ। विजयेश्वरी गाविसमा पर्ने यो नयाँ सहरमा हाल ३०० व्यक्ति प्रतिवर्ग किलोमिटर जनघनत्व छ।
यसैगरी दैलेखको राकम कर्णाली सिगौडी र राकम कर्णाली गाविसमा अवस्थित छ। यो पुरानो बजार भएकाले सहजै सहरको रुपमा परिणत गर्न सकिने बताइन्छ। कर्णाली नदी किनारमा अवस्थित यो ठाउँ सुन्दर सहरमा स्थापित हुने सरकारको विश्वास छ। अत्यन्तै न्यून जनघनत्व रहेको यस स्थानमा खानेपानीको सहज उपलब्धता छ।
यसैगरी अछामको साँफेबगर सिद्धेश्वर र काठमाडौं गाविसमा अवस्थित छ र साँफेबगर हुँदै सेती राजमार्ग र मध्यपहाडी लोकमार्गमा जोडिएका कारण यहाँ यातायात सहज छ। प्रतिवर्ग किलोमिटर १५३ प्रतिव्यक्ति जनघनत्व रहेको यो ठाउँ प्राकृतिकरुपमा अत्यन्तै सुन्दर र पर्यटकीय सम्भावनाले भरिपूर्ण छ।
यस्तै बैतडीको पाटन गाविसमा अवस्थित प्रस्तावित नयाँ सहर पाटन हवाई यातायात र सडक सञ्जालले जोडिएको छ। सुर्नयागाढ खोलाको किनारमा अवस्थित यो ठाउँको जनघनत्व २८७ व्यक्ति प्रतिवर्ग किलोमिटर छ।
सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा राखेको यस स्थानमा सडक निर्माणको लागि डिपीआरसमेत तयार गरिसकिएको छ। आयोजना प्रमुख पाण्डेका अनुसार डिपीआर तयार गर्न गत आर्थिक वर्षमा रु ५० लाख खर्च भइसकेको छ। प्रत्येक सहरमा भौतिक सुविधा निर्माणका लागि रु तीनदेखि पाँच अर्बसम्म खर्च लाग्ने बताइएको छ।
सहर निर्माणका लागि पहिलो चरणमा गुरुयोजना तयार पार्नुपर्ने र आगामी आर्थिक वर्षभित्रमा गुरुयोजना तयार भइसक्ने आयोजना प्रमुख पाण्डेले जानकारी दिए। अहिले ट्रयाक खोल्ने काम भइरहेको एक हजार ७७६ किलोमिटर पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको छेउमा पर्ने ती ठाउँमा नयाँ सहर निर्माणका लागि मुख्य–मुख्य पूर्वाधारको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको छ र आवश्यक पूर्वाधार निर्माण गर्न जग्गा अधिकरणको काम भइसकेको छ। ती स्थानमा पहिलो चरणमा खानेपानी, सडक, बिजुलीलगायतका पूर्वाधार निर्माणमा प्राथमिकता दिइने आयोजना प्रमुख पाण्डेले बताए।
काठमाडौंलगायतका ठूला सहरमा बढ्दो मानवीय चाप कम गर्ने उद्देश्यले सरकारले मध्यपहाडी लोकमार्गको छेउमा नयाँ सहर विकास गर्ने योजना ल्याएको हो। ती ठाउँमा सहरी पूर्वाधार तयार भएपछि नजिकका क्षेत्रबाट बसाइसराइको क्रम बढ्ने र बसोवासको चाप बढ्ने सरकारको विश्वास छ।
नयाँ सहरका लागि विश्व बैंक, एसियाली विकास बैंकलगायतका वित्तीय संस्थाबाट सहयोग लिने सरकारको योजना छ। -रमेश लम्साल/रासस