राष्ट्रसङ्घीय परिषद्‍ इकोसोकमा नेपाल निर्वाचित

काठमाडौं- नेपाल संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद् (इकोसोक)को सदस्यमा निर्वाचित भएको छ। राष्ट्रसङ्घको ६७ औं महासभाले नेपालसमेत १८ देशलाई उक्त परिषद्को चयन गरेको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ। तीन वर्षका लागि परिषद् सदस्यमा निर्वाचित नेपालले आगामी पुस १७ गतेदेखि कार्यभार सम्हाल्ने छ।

परिषद् सदस्यका लागि बिहीबार भएको मतदानमा एसिया प्रशान्त क्षेत्रका लागि छुट्याइएका चार स्थानमा १३१ मत प्राप्त गरी नेपाल विजयी भएको हो। नेपालले प्राप्त गरेको यो मत दुई तिहाई बहुमत हो।

एसिया प्रशान्त क्षेत्रबाट कुबेतले सर्वाधिक १८० मत पाएको थियो भने किर्गिस्तानले १६४ र तुर्कमेनीस्तानले १४० मत प्राप्त गरेका संयुक्त राष्ट्र सङ्घका प्रवक्ताको कार्यालयले जनाएको छ। यी तीनवटै मुलुक इकोसोकको सदस्यमा चुनिएका छन्।

उक्त कार्यालयका अनुसार परिषद्‍मा निर्वाचित अन्य मुलुकमा अल्बानिया, बेनिन, बोलिभिया, क्यानाडा, कोलम्बिया, क्रोसिया, हाइटी, मरिसस, नेदरल्यान्डस्, सानमारिनो, दक्षिण अफ्रिका, सुडान, ट्युनिसिया र संयुक्त राज्य अमेरिका छन्।

उक्त कार्यालयका अनुसार परिषद्का १८ सदस्य अफ्रिकी मुलुकमध्येबाट पाँच, एसिया प्रशान्त क्षेत्रबाट चार, पूर्वी युरोपेली देशबाट दुई, ल्याटिन अमेरिकी र तीन क्यारेबियन राष्ट्रका तीन तथा पश्चिमी युरोप र अन्य चार मुलुक नयाँ सदस्यमा निर्वाचित भएका हुन्। ५४ सदस्यीय उक्त परिषद्का लागि प्रत्येक तीन वर्षमा १८ सदस्यको निर्वाचन हुने गरेको छ।
यसैबीच निमित्त परराष्ट्र सचिव अर्जुनबहादुर थापाले राससलाई सङ्क्षिप्त प्रतिक्रिया दिंदै परिषद् सदस्यमा नेपालको विजय मुलुक र मुलुकवासीका निम्ति गौरव र गर्वको विषय भएको बताए।

राष्ट्र सङ्घको महत्वपूर्ण निकाय परिषद्को सदस्यका हैसियतले उक्त विश्व संस्थाको आर्थिक एवम् सामाजिक नीति निर्माण एवम् निर्धारणमा नेपालको सहभागिता एवम् प्रभावकारी हुने उनले उल्लेख गरे।

यसअघि परिषद्को सदस्यमा अर्जेन्टिना, बहमास, बङ्गलादेश, क्यानाडा, चिली, कमरोस, इजिप्ट, घाना, इराक, इटाली, मङ्गोलिया, नेदरल्यान्डस्, फिलिपिन्स, रुवान्डा, स्लोभाकिया, युक्रेन, संयुक्त राज्य अमेरिका र जाम्बिया थिए। रासस

Leave a Reply

Your email address will not be published.