क्षेत्रीय कारागारका १२ कैदी फरार

इटहरी- सुनसरी जिल्लाको झुम्कामा रहेको क्षेत्रीय कारागारबाट गएराति १२ जना कैदी फरार भएका छन्। फरार हुने कैदीहरुमा सात भारतीय, चार नेपाली र एक बङ्गलादेशी नागरिक रहेका छन्। उनीहरु डकैती, ज्यान मुद्दा, अपहरण, खोटा नोट चलन र नक्कली नागरिकतालगायतका आपराधिक कार्यमा संलग्न भएको अभियोगमा लामो समयदेखि कारागार जीवन बिताउँदै आएका थिए।

फरार कैदीमध्ये कारागारका चौकीदारसमेत रहेका बङ्गलादेशी नागरिक अस्रफ अलि अन्सारी विभिन्न अपराधमा संलग्न रहँदै आएका कुख्यात व्यक्ति रहेका छन्। यस्तै अन्य कैदीहरुमा भारतीय नागरिक सरफराज मिया, दिनेश भनिने बमबम यादव, धीरेन्द्र यादव, मुमताज मिया, जाकिर मिया, सुवास मिया, सुवास झा तथा नेपाली नागरिक रमेश यादव, विनायक यादव, फारुक मिया राय र रमेश सदा रहेका छन्।

ती कैदीहरु कारागारको बुर्जा नम्बर २ र ४ को बीच भागमा रहेको खुल्ला स्थानमा सुरुङ खनेर फरार भएका हुन्। उनीहरु रातको १२ देखि १ बजेको समयमा कारागारबाट बाहिरिएको प्रहरीले अनुमान गरेको छ। कारागारमा रहेका अन्य कैदीले प्रहरी प्रशासनकै मिलेमतोमा कैदीहरु भागेको बताएका छन्। कारागारमा कुल ६१५ कैदी रहेकामा बिहान ५ बजे प्रहरीले रोलकल गर्दा कैदी सङ्ख्या नपुगेपछि मात्र बाहिरी प्रशासनले कैदी फरार भएको अनुमान लगाएको थियो।

नेपाल र भारतमा समेत थुप्रै अपराध गरेका र दुवै देशमा खोजीको सूचीमा रहेका कैदीहरु मिलेर एक वर्षदेखि सो क्षेत्रमा सुरुङ बनाउने योजना बनाएको हुन सक्ने जानकारी दिँदै त्यहाँ रहेका कैदीले सो क्षेत्रमा कसैलाई पनि जान नदिने गरेको बताएका छन्।
उनीहरुले सुरुङ खन्नका लागि पस्नी, फलामको डन्डी, खुर्पी, सावेललगायतका उपकरण प्रयोग गरेको फेला परेको छ। कैदीहरु फरार भएको विषयमा प्रहरी प्रशासन गम्भीर रहेको बताउँदै पूर्व क्षेत्रीय प्रहरी प्रमुख पर्शुराम खत्रीले फरार कैदीको खोजीका लागि सीमा नाकाहरु सिल गरिएको र खोजी कार्यलाई तीव्र पारिएको जानकारी दिनुभयो। रासस

Leave a Reply

Your email address will not be published.