विश्वकुमार शर्मा- नेपालीको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) यही कात्तिक २६ गतेदेखि सुरु हुँदैछ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको पहिलो दिन कात्तिक २६ गते बिहान १० बजेर १८ मिनेटबाट त्रयोदशी तिथि आरम्भ हुन्छ। त्यसकारण यो साँझ दैलोमा यमराजलाई स्मरण गरी आह्वान स्वरुप दीपदान गरिन्छ।
पुराणका अनुसार यस पर्वमा यमराज आफ्ना दैनिक कार्य स्थगन गरी बहिनी यमुनाकहाँ पाँचदिनसम्म पाहुना भई बस्ने र बहिनीद्वारा पुजिएका यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ।
कात्तिक २७ गते सोमबारका दिन त्रयोदशी उदयकाल रहेकाले बिहान धार्मिक मान्यताअनुसार कागलाई पूजा गरी विविध खानेकुरा दिने काम हुन्छ। कागको पूजा गरी काग तिहार मनाउनु उपयुक्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
नेपाली समाजमा कागलाई सन्देशवाहकका रूपमा पनि लिइन्छ। कसैको घरआँगनमा एकाबिहानै काग कराएमा त्यस घरमा पाहुना आउने विश्वास गरिन्छ।
यो दिन कागको पूजा नगरी खाएमा पापको भागी बनिन्छ भन्ने जनविश्वास छ।
कात्तिक २८ गते मङ्गलबार बिहान सूर्य उदयकाल ६ बजेर ३४ मिनेटसम्म चतुर्दशी उप्रान्त औँसी तिथि परेकाले बिहान अर्थात् रातको अन्तिम प्रहरमा शरीरमा तेल घसी स्नान गर्ने र सोही दिन नरकचतुर्दशीका अवसरमा नर्कि बगाउने (दुनामा फलफूलसहित बत्ती बालेर पूजा गरी नदी वा तलाउमा बगाउने) चलन छ।
यमपञ्चकमा लक्ष्मीको वास तेल तथा पानीमा हुने भएकाले तेल लगाई नुहाउँदा मनोवाञ्छित शुभ प्राप्त हुने जन विश्वास रहेको छ। कुकुरको पूजा गर्ने, साँझ प्रदोश र अर्धरात्री कालमा धनकी देवी लक्ष्मीको पूजा आराधना तथा दीपावली गर्नु उत्तम रहेको छ। यस रात्रिलाई शुखरात्रिका नामले चिनिन्छ।
लक्ष्मीपूजा र गोवर्द्धन पूजाका दिन केटाकेटी तथा युवायुवती घरघरमा गई खेलिने देउसी, भैलोले यस पर्वलाई अझ उल्लासमय बनाउँछ।
कात्तिक २९ गते बुधबार कात्तिक शुक्ल प्रतिपदाका दिन बिहान गोवर्धन पूजा, गाई-गोरु पूजा तथा साँझ म्हः पूजा (आत्म पूजा) गर्नु उपयुक्त रहेको छ।
कात्तिक ३० गते बिहीबार कात्तिक शुक्ल द्वितीयाका दिन अर्थात् यमपञ्चकको अन्तिम दिन ३० गते मध्याह्न ११ बजेर २३ मिनेटमा भाइटीका लगाउनु उत्तम रहेको सदस्य सचिव ढुङ्गेलले बताउ ।
यसदिन दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूजा गरी भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ।
वैदिक कालमा बलि राजाले आफ्नो राज्यभर झकिझकाउका साथ दीपावली गरेर विष्णुलाई खुसी तुल्याएकाले यमपञ्चकभर तीनै लोकको राज्यभोग गर्न पाउने बरदान पाएको तथा यस अवधिमा धनकी देवी महालक्ष्मीले सबैको घरमा बास गरी धनधान्यले पूर्ण पारिदिएको कथा पनि यो पर्वसँग जोडिएको छ।
नेवारी भाषामा ‘स्वन्ति नखः’ भनिने यमपञ्चकका बेला यमराजको सम्मानमा आ-आफ्नो घर सफासुग्घर राखी, पारस्परिक द्वेषभाव हटाई दीपावलीका साथ पूजाआजा गर्नाले त्यस घरमा मानिसको अकाल मृत्यु नहुने धार्मिक ग्रन्थमा उल्लेख छ।
लक्ष्मीपूजादेखि भाइटीकासम्म सबैतिर सफा राखी दैलो-सङ्घार, झ्याल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भर्यााङ आदि ठाउँमा झलमल्ल गरी बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि भन्ने गरिन्छ। रासस