हटमेल अब हट छैन, मेसेन्जरको पनि मृत्यु

एजेन्सी- भारतीय मूलका सबिर भाटियाले विश्वकै पहिलो फ्री इमेल सेवा हटमेल शुरु गर्दा कम्ता चमकदमक थिएन। विश्व सुन्दरी ऐश्वर्या रायसित समेत उनले डेटिङ गर्न भ्याए। त्यतिखेर हटमेल साह्रै हट भएकैले माइक्रोसफ्टले समेत आँखा लगायो। बिल गेट्सको कम्पनीले किनेको केही वर्षसम्म पनि हटमेललाई कसैले आँखा लगाउन सकेन। आफ्नो फरक विशेषताकै कारण हटमेल हट भयो।
जब गुगलले एक जीबीको फ्री स्पेससहित निःशुल्क इमेल सेवा शुरु गर्‍यो, तबदेखि हटमेल ओरालो लाग्न शुरु भयो। अहिले स्थिति यस्तो भइसकेको छ कि हटमेलका मालिक माइक्रोसफ्ट, यो ब्रान्डलाई नै हटाउन लागिपरेका छन्। हटमेल ठेगाना भएकाहरूले आफ्नो मेल लगइन गर्दा अब अटोमेटिक आउटलुक डट कममा साइन इन हुने गरेको छ। प्रतिस्पर्धामा उत्रन नसक्दा हटमेलले आफ्नो ब्रान्ड गुमाउनु परेको छ।
आउटलुक डट कमको नाम र नयाँ डिजाइनमा हटमेल प्रेमीहरूको मन कसरी जित्न सक्ने हो, हेर्न बाँकी छ। प्रतिस्पर्धामा उत्रन आउटलुक डट कमले के–के नयाँ उपाय अपनाउने हो, त्यो पनि हेर्न पर्खनै पर्छ।
माइक्रोसफ्टले हटमेललाई इमेलबाट मात्र हटाएको छैन, एक जमानामा च्याटका लागि प्रख्यात मेसेन्जरलाई पनि हटाउँदैछ। पहिले हटमेल मेसेन्जर र त्यसपछि विन्डोज लाइभ मेसेन्जरको रूपमा च्याटका लागि चलेको यो सफ्टवेयर अब बन्द हुँदैछ।
माइक्रोसफ्टले यो साता १० करोड विन्डोज लाइभ मेसेन्जरका प्रयोगकर्ताहरूलाई स्काइप अकाउन्टमा स्थानान्तरण गरिने घोषणा गरेको छ। अर्थात् तपाईंले विन्डोज लाइभ मेसेन्जरकै युजर र पासवर्डमा साइन इन गर्दा स्काइप खुल्नेछ।
भ्वाइस र भिडियो च्याटका लागि नाम चलेको ब्रान्ड स्काइपलाई केही अघि मात्रै माइक्रोसफ्टले किनेको हो। स्काइपलाई माइक्रोसफ्टकरण गर्ने क्रममा यो योजना उसले सार्वजनिक गरेको हो।
त्यसका लागि प्रयोगकर्ताहरूले भने झन्झट बेहोर्नु पर्नेछ। त्यो तपाईको पुरानो विन्डोज लाइभ मेसेन्जर सफ्टवेयरले अब काम गर्ने छैन। एक जमानामा आफ्ना प्रेमिप्रेमिकासँग च्याट गरेको भनेर सम्झनाका लागि सुरक्षित राख्ने भए अर्कै कुरा, नत्र त्यसले अब काम गर्ने छैन। यसको साटो तपाईंले स्काइपको नयाँ ६.० सफ्टवेयर डाउनलोड गरी इन्स्टल गर्नुपर्नेछ। यो इन्स्टल भइसकेपछि भने तपाईंको पुरानै विन्डोज लाइभ मेसेन्जरको युजर नेम र पासवर्डले काम गर्नेछ। तपाईंले नयाँ अकाउन्ट बनाइराख्नु पर्ने छैन।
यसले के फाइदा वा के बेफाइदा गर्छ त? साढे आठ अर्ब डलर तिरेर किनेको स्काइपलाई नयाँ ढंगले चलाउन माइक्रोसफ्टले केही गर्न त आवश्यक थियो नै। यसैका लागि बलि चढाइयो विन्डोज लाइभ मेसेन्जरलाई। अब यसको प्रयोगकर्ता अझै बढ्ने छन्। स्काइपबाट फोनमा कुरा गर्न शुल्क पनि लाग्ने भएकोले माइक्रोसफ्टले यसबाट पैसा आम्दानीको पनि अपेक्षा गरेको हुनुपर्छ।
तर प्रयोगकर्ता भने त्यति उत्साहित छैनन्। १० करोड प्रयोगकर्ता थपिएपछि त्यसले स्काइपको भ्वाइस क्वालिटीलाई असर पार्न सक्ने विज्ञहरूको चिन्ता छ। अहिले स्काइप भ्वाइस क्वालिटीका लागि पनि प्रख्यात छ। विन्डोज लाइभ मेसेन्जर भने खासगरी टेक्स्ट च्याटका लागि मात्रै प्रयोग हुने गर्थ्यो।

Leave a Reply

Your email address will not be published.