ओलम्पिक कमिटीको विवादले राष्ट्रको बेइज्जत भयो : प्रम

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले ओलम्पिक कमिटीमा उत्पन्न विवाद तत्काल समाधान गरिने बताएका छन्। प्रधानमन्त्री भट्टराईले ओलम्पिक कमिटीमा उत्पन्न विवादका कारण राष्ट्रको बेइज्जत भएको र शिर निहुराएर हिँड्नुपर्ने अवस्थाको सिर्जना भएको उल्लेख गरे। युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपाललाई तत्काल अन्तरराष्ट्रिय ओलम्पिक कमिटीलाई पत्राचार गर्न प्रधानमन्त्रीले निर्देशन दिए। 
आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राष्ट्रिय खेलकुद परिषदको ९४औँ बोर्ड बैठकले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले राष्ट्रको शिर निहुराउने काम गर्नेहरूलाई सरकारले कारबाही गर्ने बताए।

प्रधानमन्त्रीले भने, “खेलकुद क्षेत्र दोहोरो चेपुवामा परेको छ, यसको तत्काल समाधान खोज्नका लागि सरकार प्रतिबद्ध छ, त्यसका लागि खेलाडी तथा खेलप्रेमी सबैको सहयोग आवश्यक छ ।”

अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीभन्दा पदाधिकारी धेरै जाने प्रवृत्ति हावी भएको र त्यो आफूलाई नराम्रो लागेको बताउँदै प्रधानमन्त्रीले खेलकुद प्रतियोगितामा खेलाडी नै जाने र पदाधिकारी कम जाने वातावरण तयार पार्नका लागि कसले के गर्नुपर्ने हो तत्काल कार्ययोजना बनाउन पनि निर्देशन दिए।

उनले खेलकुद क्षेत्रलाई केही सीमित शक्तिले कमाई खाने भाँडो बनाएको र त्यसका कारण खेलकुद क्षेत्रको विकास हुन नसकेको भन्ने आफूले जानकारी पाएको बताए।

खेलकुद क्षेत्रमा देखिएको अन्यौल, लुछाचुँडी र मनोमानीको अन्त्य गर्नका लागि स्वयम् खेलाडीहरू नै लाग्नुपर्नेमा उनले जोड दिए। रासस

Leave a Reply

Your email address will not be published.