ओबामा कि रोम्नी ?

एजेन्सी- चार वर्षअघिको निर्वाचनमा ओबामालाई समर्थन गरेका कतिपय मुलुक अहिले पछि सरेका छन्। यसको अर्थ विश्वका विभिन्न देशले आफ्नो हितअनुसार राष्ट्रपतिका उम्मेदवार ओबामा र रोम्नीमध्ये एकलाई समर्थन गरेका छन्। विश्वमा कुन मुलुक अमेरिकी राष्ट्रपतिको कुर्सिमा कसलाई बसेको हेर्न चाहन्छन् त?
इजरेल र प्यालेस्टाइन
इजरेली मूलका अमेरिकालीहरू अहिले ओबामालाई इजरेलको हितैषी मान्न छोडेका छन्। चार वर्षअघि ओबामालाई मतदान गर्ने इजरेली मूलका मतदाताले यसपालीको चुनावमा रोम्नीलाई मत दिनेछन्। इजरेलका लागि खतरा बनेको इरानमाथि कडा नाकाबन्दी लगाउनुको साटो ओबामा नरम भएकाले उनीहरू ओबामासँग रिसाएका हुन्। यसपालीको चुनावमा इजरेली मूलका दुई लाख ५० हजार मतदाताले रोम्नीलाई मत दिने विश्वास गरिएको छ। त्यतिमात्र नभएर इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु कुटनीतिक मर्यादाविपरित गएको र अमेरिकाको चुनावमा प्रत्यक्ष हस्तक्षेप गरी रोम्नीको समर्थनमा उत्रिएको आरोपसमेत इजरेलका प्रतिपक्षी नेता सल मोफाजले इजरेलको संसदमा बोल्दै लगाएका छन्। पछिल्लो समय इरान मामिलामा ओबामा–नेतन्याहुबीच फाटो परेको बताइन्छ। यसबाहेक प्यालेस्टिनीप्रति नरम रवैया अख्तियार गरेकोमा समेत इजरेल ओबामासँग क्रुद्ध छ।
पृथक राज्यका लागि सकारात्मक भएकाले प्यालेस्टिनी भने ओबामाप्रति सद्भाव राख्ने देखिएको छ। यद्यपी कुनै पनि अमेरिकी राष्ट्रपति आफ्नो पक्षमा नहुने तथ्य प्यालेस्टिनीले राम्रोसँग बुझेका छन्। प्यालेस्टिनी लिबरेसन अर्गनाइजेसनको कार्यकारी समिती सदस्य हनान अस्रावि प्यालेस्टिनका लागि ‘ओबामा रक्षक नभएको र रोम्नी राक्षस नबन्ने’ विचार व्यक्त गर्छीन्।
अफ्रिका
ओबामाको पुर्ख्यौली मुलुक केन्याले उनको जित नचाहने कुरै भएन। केन्याबाहेक अफ्रिकाका अन्य कतिपय मुलुकले समेत ओबामा राष्ट्रपतिमा दोस्रोपल्ट निर्वाचित भए अमेरिकाको प्राथमिकतामा पर्नसकिने अन्दाज गरेकाले अफ्रिकालीहरू ओबामाको समर्थनमा देखिएका छन्। अफ्रिकालीहरू ओबामाको कति समर्थन गर्छन् भने एक अर्बको हाराहारीमा रहेका अफ्रिकालीहरुले अमेरिकी राष्ट्रपति चुनावमा मत खसाल्न पाउने हो भने ओबामा विशाल मतअन्तरबाट विजयी हुने बताइन्छ।
युरोप
सन् २००८ को चुनावमा युरोपमा ओबामामेनिया नै थियो भन्दा फरक पर्दैन। तर अहिले युरो संकटका बेला ओबामाले युरोपको समस्या वास्ता नगरेको ठान्ने युरोपेलीहरू उनीसँग असन्तुष्ट भए पनि रोम्नीको समर्थनमा लागेका छैनन्। समर्थन जुटाउन गएको जुलाईमा भ्रमण गरेका रोम्नी युरोपप्रति सद्भाव नराख्ने अनुभूति गर्ने युरोपेली उनको समर्थनमा छैनन्। सर्वेक्षणमा ५ प्रतिशत फ्रान्सेली, जर्मन र बेलायती रोम्नीको पक्षमा देखिएका छन्। जबकी ८७ प्रतिशत जर्मन र ६७ प्रतिशत फ्रान्सेली ओबामाको समर्थनमा छन्।
चीन
अमेरिकाको निर्वाचनलाई नियालिरहेको चीन अहिले चिनियाँ कम्युनिस्ट पार्टीको कंग्रेस र सत्ता हस्तान्तरणको प्रक्रियामा अल्भि्कएको छ। उसै पनि चीन अमेरिकामा आफ्नो हितबाहेक अन्य कुरामा कुनै मतलव राख्ने गर्दैन। तर अमेरिकामा राष्ट्रपतिका उम्मेदवारले सधैं चुनावमा चाइना कार्डको उपयोग गर्ने गरेका छन्। तैपनि ओबामाको शैली र सोचसँग परिचित चिनियाँ प्रशासन ओबामाका तुलनात्मक उदार नीतिका कारण उनीप्रति सद्भाव व्यक्त गर्छन्।
इरान
अनुदार इरान नीति लिने रोम्नीभन्दा इरानीहरू ओबामालाई तुलनात्मक रुपमा ठीक मान्छन्। रोम्नी इजरेलप्रति ज्यादा झुकाव राख्ने भएकाले पनि इरानीहरू उनलाई मन पराउँदैनन्। रोम्नीले जितेको खण्डमा इजरेलले इरानका आणविक केन्द्रमा आक्रमणको सम्भावना देख्छन् इरानीहरू।
रुस
अधिकांश रुसीलाई अमेरिकाको राष्ट्रपति निर्वाचनमा खासै मतलव नभएको देखिएको छ। सरकारी स्तरमा भने रुस–अमेरिका सम्बन्ध फेरि शीतयुद्धकालीनजस्तै हुन थालेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनीविरुद्धको आन्दोलनमा अमेरिकाको हात भएको आरोप लगाउने गरेका छन्। रोम्नीले रुसलाई अमेरिकाको पहिलो नम्बरको भौगर्भिक शत्रुका रुपमा ब्याख्या गरेपछि पुटिन मजाले हाँसेका थिए। अमेरिकी राष्ट्रपति निर्वाचनसँग रुसको साइनो अमेरिकी ऊर्जा नीति र पेट्रोलियमको मुल्यसँग मात्र रहेको बताइन्छ।
पाकिस्तान
अमेरिकी राष्ट्रपति चुनाव पाकिस्तानका लागि सधैं महŒवपूर्ण रहने गरेको छ। दक्षिण पूर्वी एसियामा अमेरिकाको प्रमुख सहयोगी पाकिस्तान सैनिक सहयोग र आतंकवादविरुद्धको लडाइमा अमेरिकाको मुख ताक्ने गरेको छ। अमेरिकी सहयोगका वावजुद पाकिस्तानमा अमेरिका विरोधी भावना प्रबल छ। यसबाहेक पाकिस्तानलाई ओसामा बिन लादेन मारिएपछि तालिबानको बढ्दो दबाब खप्न गाह्रो परिरहेको छ भने अमेरिकी ड्रोन हमलामा सर्वसाधारणको मृत्युले पाकिस्तान पिरोलिएको छ। तर अधिकांश पाकिस्तानी र त्यहाँको प्रशासन अमेरिकी राष्ट्रपतिमा जसले जिते पनि पाकिस्तान नीतिमा कुनै परिवर्तन नहुनेमा ढुक्क छन्।
अरब जगत
अमेरिकी निर्वाचनमा अरब जगतको चासो त्यस क्षेत्रमा भएका प्रजातान्त्रिक आन्दोलन ‘अरब स्पि्रङ’लाई भावी राष्ट्रपतिले गर्ने व्यवहारसँग छ। साथसाथै अरब जगत पृथक प्यालेस्टिनी राज्यसम्बन्धमा आगामी राष्ट्रपतिको नीति र कदमबारे चनाखो रहेको छ। ओबामा अरब जगतको आशा पूरा गर्न असफल भए पनि अरब मुलुक अझै उनकै समर्थनमा देखिएका छन्। अरब मुलुक दोस्रो कार्यकालमा ओबामाले केही गर्नेमा अझै आशावादी छन्।

Leave a Reply

Your email address will not be published.