अमेरिकी राष्ट्रपति निर्वाचनका केही अनौठा तथ्य

वासिङटन, एजेन्सी– अहिले विश्वको ध्यान अमेरिकामा २१ गते मंगलबार हुने राष्ट्रपतिको निर्वाचनमा तानिएको छ। यसपालीको राष्ट्रपति चुनावमा राष्ट्रपति बाराक ओबामा दोस्रो कार्यकालका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार छन् भने रिपब्लिकन पार्टीका तर्फबाट मिट रोम्नी राष्ट्रपतिका उम्मेदवार छन्। प्रस्तुत छ, अमेरिकाको राष्ट्रपति निर्वाचनबारे केही अनौठा र रोचक तथ्य।

निर्वाचन सधैं मंगलबार हुन्छ
सन् १९४५ मा नोभेम्बरको पहिलो मंगलबार राष्ट्रपति निर्वाचन भएपछि मंगलबार निर्वाचन हुने प्रथाजस्तै बनेको छ। १९ औं शताब्दीमा अमेरिका कृषिप्रधान मुलुक भएकाले किसानलाई निर्वाचन केन्द्र पुग्न निकै समय लाग्थ्यो। शनिबार समेत खेतीपातिको काम गर्ने उनीहरू आइतबार हिंडेर सोमबार मत खसाल्न मतदान केन्द्र पुग्न गाह्रो थियो। बुधबार बजारमा अन्न बेच्ने दिन भएकाले घर फर्किसक्नु पर्थ्यो। साताको अन्त्यमा मतदान गर्ने प्रयास त्यसअघि नै असफल भइसकेकाले सातामा मतदानका लागि मंगलबार नै उपयुक्त मानियो। त्यसपछि अर्थात सन् १९४५ मा मंगलबार मतदान भएपछि त्यही प्रथा चलिरहेको छ
अमेरिकामा राजनीतिज्ञले कालो चश्मा हत्तपत्त लगाउँदैनन्
के तपाईले कहिल्यै बाराक ओबामा वा जर्ज बुश वा बिल क्लिन्टले कालो चश्मा लगाएको देख्नु भएको छ? अमेरिकी राजनीतिज्ञका कालो चश्मा लगाएका तस्बिर खिच्न वा फेला पार्न सितिमिति सकिँदैन। अमेरिकालीहरू मुलुक हाँक्ने आफ्ना नेताको आँखामा आँखा जुधाएर कुरा गर्न चाहन्छन्। अमेरिकालीको विचारमा आँखा छोपेर कुरा गर्ने व्यक्ति विश्वासयोग्य हुँदैनन्। त्यसैले उनीहरू नेताले कालो चश्मा लगाएको मन पराउँदैनन् क्यार!
नेभादामा ‘कसैलाई मत दिन्न’ भन्ने मतदान गर्न पाइन्छ
अमेरिकाको दक्षिण पश्चिमी राज्य नेभादामा मतपत्रमा उल्लेखित उम्मेदवारलाई मत दिन मन नलागे मतदान गर्नेले ‘नन् अफ द क्यान्डिडेट्स’ अर्थात ‘कुनै उम्मेदवारलाइै मत दिन्नँ’ भन्ने विकल्पमा मतदान गर्न पाउँछन्। स्पेनिस भाषामा ‘हिउँले ढाकिएको’ अर्थ हुने नेभादामा सन् १९७६ देखि उक्त व्यवस्था गरिएको हो।
ओबामाको बुढी औंला
यसपालीको राष्ट्रपति चुनावको रोम्नी र ओबामाबीचका सबै तीन चुनावी बहमा ओबामाको बुढी औंला प्रशस्त देखियो। ती बहसमा ओबामाले आफ्ना कुरा राख्दै धेरै पल्ट मुठ्ठी बन्द गरेर बुढी औंला ठाडो पारेको देखियो। बडी ल्याग्वेंज विशेषज्ञ प्याटी उड शायद ओबामालाई उक्त सांकेतिक हतियार प्रयोग गरी मतदातालाई प्रभावित गर्न सिकाइएको अनुमान गर्छिन्।
एकपल्ट जिते जिन्दगीभरिलाई नोकरी पक्का
अमेरिकामा अर्को एउटा अचम्मको चलन छ। रिपब्लिकन उम्मेदवार रोम्नीले म्यासाचुसेट्सको गभर्नर पद छोडेको ६ वर्ष भइसके तापनि अमेरिकालीहरू उनलाई अझै गभर्नर भनेर सम्बोधन गर्छन्। यसैगरि अमेरिकालीहरू बोल्दा एउटै वाक्यमा राष्ट्रपति ओबामा, राष्ट्रपति बुश र राष्ट्रपति क्लिन्टन वा अर्को कुनै पूर्वराष्ट्रपतिको नाम लिन्छन्। लेखक डेनियल स्यानिङ यसबाट अमेरिकामा गभर्नर र राष्ट्रपतिलगायत पदको ओज र गरिमा व्यक्त हुने बताउँछन्। डेनियलका अनुसार त्यस्तो सम्बोधनले अमेरिकी लोकतन्त्र र त्यहाँ ती पद महत्वपूर्ण रहेको संकेत गर्छ। उनका विचारमा अमेरिकामा गभर्नर वा राष्ट्रपति हुनु भनेको जज वा डक्टर हुनुजस्तै हो। जज र डक्टरलाई रिटायर भएपछि पनि जज र डक्टरकै सम्बोधन गरिएजस्तै गभर्नर र राष्ट्रपतिजस्ता पद पनि हुन् भन्ने मान्यता अमेरिकालीको भएको डेनियल बताउँछन्।
दुवै उम्मेदवारले बराबर मत पाए के हुन्छ?
अमेरिकामा इलेक्टोरल भोटका आधारमा राष्ट्रपतिको निर्वाचन हुन्छ। सबै राज्यका कुल ५ सय ३८ इलेक्टोरल मतमध्ये राष्ट्रपति निर्वाचित हुनका लागि उम्मेदवारले कम्तिमा २ सय ७० इलेक्टोरल मत पाउनु पर्छ। यदि तोकिएको इलेक्टोरल मत नपाएमा वा दुई उम्मेदवारको इलेक्टोरल मत बराबर भएमा त्यहाँको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सले राष्ट्रपति चुनाव गर्छ। अहिलेको स्थितिमा यस्तो अवस्था आए रिपब्लिकन रोम्नी राष्ट्रपति निर्वाचित हुने पक्का छ। किनभने अहिले हाउस अफ रिप्रजेन्टेटिभ्समा रिपब्लिकन पार्टीको प्रभुत्व छ। तर यस्तो भए उपराष्ट्रपतिको छनौट माथिल्लो सदन अर्थात सिनेटले गर्नेछ। अहिले सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत भएकाले बराबर इलेक्टोरल मतका कारण रोम्नी राष्ट्रपति निर्वाचित भए जो डेमोक्रेटिक उम्मेदवार बिडेन उपराष्ट्रपति बन्ने निश्चित छ।
एक तिहाइ जनसंख्याले राष्ट्रपति तय गर्ने
मंगलबारको निर्वाचनमा ओबामा वा रोम्नी राष्ट्रपतिमा जिताउन खासगरी ३३ प्रतिशत अमेरिकाली जनसंख्याको महŒवपूर्ण भूमिका हुनेछ। त्यहाँका बढी जनसंख्या भएका चार राज्य कि त पुरै रोम्नीको समर्थनमा छन् कि त ओबामाको। ती राज्यमा दुवै उम्मेदवार चुनाव प्रचारका लागि समेत गएका छैनन्। यसरी पुरै जनसंख्या एउटा उम्मेदवारलाई समर्थन गर्ने/नगर्ने अनिर्णित मतदाता भएका राज्यले राष्ट्रपतिको चुनावमा कसलाई जिताउने महŒवपूर्ण भूमिका निर्वाह गर्नेछन्। त्यस्ता अनिर्णित राज्यमा ३० प्रतिशत मतदाता रहेको अनुमान छ। टेक्सास, जर्जिया, इलिनोइसलगायत ३५ राज्यका ७० प्रतिशत मतदाताले कसलाई मत दिने पक्का भएकोले बाँकी मतदाताको मत निर्वाचनमा निर्णायक हुनेछ।
नर्थ डकोटामा मतदाता सूची चाहिँदैन
त्यहाँको राज्य नर्थ डकोटामा मत खसाल्न मतदाता सूचीमा नाम हुनु पर्दैन। त्यहाँ मत खसाल्नका लागि १८ वर्ष उमेर पुगेको अमेरिकी नागरिक हुनुपर्छ र ३० दिन उक्त राज्यमा बसेको हुनुपर्छ। नर्थ डकोटामा सन् १९५१ मा मतदाता सूचीको व्यवस्था हटाइएको हो।

One thought on “अमेरिकी राष्ट्रपति निर्वाचनका केही अनौठा तथ्य

Leave a Reply

Your email address will not be published.