सडक विस्तारको काम तत्काल अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले सडक विस्तार अभियान दीर्घकालीन महत्वको भएकोले एकीकृतरूपमा अगाडि बढाउन निर्देशन दिएका छन्। सडक विस्तारको काम सोचेअनुरूप अगाडि बढ्न नसकेको र जनस्तरबाट व्यापक गुनासो आएको बताउँदै उनले तत्काल सो कामलाई तीव्र बनाउन निर्देशन दिएका हुन्।

काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तारको स्थलगत अनुगमनपछि फर्केका टोलीलाई प्रधानमन्त्री भट्टराईले सो निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले जानकारी दिए।
तोकिएको जिम्मेवारी पूरा गर्नेलाई पुरस्कृत र आलटाल गर्नेलाई कानुनअनुसार कारबाही गर्न र त्यसका लागि कुनै पनि कन्जुस्याई नगर्न प्रधानमन्त्रीबाट निर्देशन आएको छ, भोलिबाटै काम गर्न सम्बन्धित निकायलाई परिचालन गरिने सचिव बाँस्कोटाले बताए।

सडक विस्तारको काम तीव्र गतिमा भए जस्तै निर्माणको कामलाई पनि तीव्रतामा सम्पन्न गर्न सकेमा मात्र अभियान प्रभावकारी हुने बताउँदै प्रधानमन्त्रीले सो अभियानको लागि कुनै पनि कुराको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे। कमभन्दा कम क्षतिमा अभियान सम्पन्न गर्नेतर्फ नै सरकारको जोड रहेको पनि उनले बताए।
प्रधानमन्त्री कार्यालयका सचिव बाँस्कोटाका नेतृत्वमा रहेको टोलीले आज बिहान काठमाडौं उपत्यकामा विस्तारको क्रममा रहेको सडकको अनुगमन गरेको थियो। अनुगमन टोलीमा ऊर्जा, सञ्चार, स्थानीय विकास, सहरी विकास, भौतिक योजना मन्त्रालयका सचिवलगायत सम्बन्धित निकायका अधिकारी संलग्न थिए।
अनुगमनलगत्तै टोलीले प्रधानमन्त्रीसँग भेट गरेर सडकको वर्तमान अवस्थाको बारेमा जानकारी गराएको थियो। राजधानीको सडकलाई व्यवस्थित तुल्याउन सरकारले काठमाडौँ उपत्यकाको १८० किलोमिटर सडक विस्तार गर्ने पहिलो चरणमा योजना तयार गरेको छ।

हालः सोही अभियानअन्तर्गत करिब ७० किलोमिटर सडक विस्तार गर्ने काम भइसकेको छ तर विस्तारका लागि भत्काइएका संरचना हटाउने र सडक कालोपत्रे गर्ने काम भने हुन सकेको छैन।
उपत्यकाभित्र सडकहरू सडक डिभिजन कार्यालय, सडक विस्तार आयोजना र काठमाडौं, ललितपुर र भक्तपुरका नगरपालिकाले आ–आफ्नो जिम्मेवारीभित्र रहेका क्षेत्रको निर्माण गर्नुपर्ने अवस्था छ। विगत एक वर्षदेखि सरकारले उपत्यकाका सडक विस्तार काम थालेकामा यसलाई प्राथमिकताका साथ सम्पन्न गर्न जोड दिँदै आएको छ। तर सडक विस्तारको काम अगाडि बढे पनि सडकमा रहेका बिजुली, टेलिफोनका तार र खानेपानीका पाइपको सरोकारवाला निकायले उचित काम नगर्दा विस्तारको काम तीव्र गतिमा अगाडि बढ्न सकेको छैन।
कतिपय स्थानमा ठेकेदारहरूका कारण पनि काम अगाडि बढ्न नसकेको गुनासो आएको अनुगमनका क्रममा देखिएको छ। अहिले कालिकास्थान, डिल्लीबजार, गैरीधारा, बालुवाटार, लाजिम्पाट, ताहाचल, छाउनी, एकान्तकुना, माइतीघर, तिनकुने, पुरानो बानेश्वरलगायत काठमाडौंका ५० स्थानमा सडक विस्तारको काम भइरहेको छ। रासस

Leave a Reply

Your email address will not be published.