किन हराउँदैछ थारु समुदायको ‘बुक्रही’ घर

सन्तोष दहित- दाङ- केही वर्षअघि मात्र दाङ जिल्लामा थारुका परम्परागत ‘बुक्रही’ घर देख्न पाइन्थ्यो। यस्तो घर थारु समुदायका लागि विशेष पहिचान विषय पनि हुन्थ्यो। ‘बुक्रही’ घर देख्ने वित्तिकै आफू थारु बस्तीमा रहेको भन्न गाह्रो हुँदैनथ्यो थारु समुदायलाई। सबैले थारु समुदायको बस्ने घर हो भनेर चिन्दथ्यो बुक्रही घरलाई। तर अवस्था फेरिएको छ। हिजोआज थारु गाउँमा बुक्रही घर कमैमात्र देख्न पाइन्छ। पछिल्लो समयमा इँट्टा, ढुङ्गा, सिमेन्टको विभिन्न प्रकारका घर बन्न थालेपछि दाङ उपत्यकामा थारु समुदायको घर बुक्रही लोप हुने अवस्थामा पुगेको छ।

देउखुरी क्षेत्रमा भने भुइतले अर्थात् बुक्रही घर देख्न पाइए पनि परम्परागतको थारु घर भने विरलै देख्न पाइन्छ। बढ्दो आधुनिकतासँगै थारु समुदायको घरको आकारमा पनि परिवर्तन देखिन थालेको थारु बुद्धिजीविको भनाई छ। थारु कल्याण कारिणीसभा दाङका अध्यक्ष चन्दप्रसाद चौधरीका अनुसार मान्छेले आधुनिक घरमा बस्न मनपराउने भएकाले पनि परम्परागत थारु घर लोप हुँदै गएको हो। ‘परम्परालाई जोगाउने भन्दा पनि देखा सिखिमा बढी ध्यानदिने चलन बढ्दै गएको छ,’ उनले भने, ‘यसमा थारु समुदायपनि अछुतो रहन सकेन।’ उनका अनुसार अहिले थारु समुदायहरुको बाहुल्यता भएको गाँउमा जाने हो भने कुन थारुको घर, कुन अरु जातिको घर छुट्याउनै गाह्रो हुन्छ।

पहिलेको जमानामा थारु समुदायको र अरु समुदायको घर सजिलै छुट्याउन सकिने तर अहिले अवस्था बदलिएको उनको भनाई छ। पहिले थारु समुदायको घर भुइतल्ला भएको हुन्थ्यो। तर अहिलेका थारु समुदायका सबै मान्छेहरु भुइतले भन्दा पनि तल्लाभएको घरमा बस्न रुचाउने भएकोले नयाँ पुस्ताले तल्ला भएको अर्थात् पक्की घर निर्माण गरी बस्न थालेको चौधरीले बताए। थारु जातिको धार्मिक आस्थालाई जोड दिने हो भने थारुका देवता तला भएको घरमा खासै रुचाउँदैनन्। थारु गुरुवा (पुजारी)का अनुसार थारु देवताहरु एक तले घरमा बस्छन्। ‘अहिले मानिस बस्ने घर मात्रनभएर देवता बस्ने घरसमेत पक्की बनाउन थालिएको एक जना थारु गुरुवाले बताए। थारु समुदायको साझा दिउठन्वामा भएको भुइह्यारको घर कच्ची भएकाले पनि अहिले प्रायः थारु गाँउमा रहेको भुइह्यारको घर जिर्ण अवस्थामा छ।

थारु समुदायका पुर्खाले तल्लाभएको घर भन्दा पनि भुइतले घरमा बस्ने रुचाउने भएकाले पनि पहिलेका पुर्खाले त्यो घर बनाउँदै आए पनि अहिलेका नयाँ पुस्ताले यसप्रति चासो नदिएको नमूना थारु ग्राम कार्यसमितिका अध्यक्ष बेभुलाल चौधरीले बताए। उनले भने- आफ्नो पहिचान झल्काउनको लागिभए पनि एउटा सानो घर चाहि परम्परागत थारु घर अर्थात भुइतले निर्माण गर्नुपर्ने आवश्यता छ।
आफूले बस्ने घर तल्ला भएको बनाए पनि देवता राख्नको लागि भने त्यही परम्परागत थारु घर निर्माण गर्नुपर्ने जरुरी रहेको चौधरीको भनाई छ।

हेकुली ८ हेकुलीका भीमबहादुर चौधरीले प्रत्येक वर्ष घर छाउनुपर्ने लिपपोत गर्नुपर्ने भएकाले पनि पूर्खाहरुले बस्दै आएको परम्परागत थारु घरमा बस्न छाडेर पक्की घरमा बस्न नसके पनि कच्ची इट्टाको घर निर्माण गरेर बस्ने गरेको बताए। अहिले यो घर बनाएपछि पहिलाजस्तो झन्झट नहुने उनको धारणा छ। पहिला त घर छाउनको लागि खर खोज्न जानुपर्ने तर आजभोलि खर किनेर पनि नपाइने भएकाले सबैले तल्ला भएको घर बनाउन र टिन, खपटा, टाइलले छाउने गरेको चौधरीले बताए।
ssantosh851@gmail.com

Leave a Reply

Your email address will not be published.