कमला चौधरी- ‘पातलो शरीर, कालो टिसर्ट त्यो पनि ठाउँ ठाउँमा च्यातिएका। अनि थोत्रिएको, मैलिएको हाफ पाइन्ट। छुस्स दाह्री छ। खिया परेका दात। जिङरि¨ परेको कपाल,’- बुटवलको मुख्य चोक राजमार्ग चौराहामा रिक्साको आड लिएर यात्रुको प्रतिक्षामा भेटिए रिक्सा चालक मनोज यादव। मुख्य राजमार्गमा गाडीहरु बेतोडले कुदेका छन्, कतै यात्रु पाइन्छ कि भन्ने ध्याउन्नमा थिए यादव पनि। लाइनमा अन्य थुप्रै रिक्साहरु पनि छन्।
गाडी रोकिना साथ सबैको ध्यान त्यतैतिर मोडिन्छ। अनि भन्छन् ‘कहाँ सम्म जाने हो ?’ ४५ वर्षीय यादवले रिक्सासँग सहयात्रा गरेको झन्डै दुई दसक पुगिसक्यो। रिक्सा चालकलाई धेरैले हेला गर्छन्। असिन पसिन हुँदै गन्तब्यमा पुर्याएपछि भाडा नपाएको दुःखेसो अधिकांश रिक्सा चालकका हुन्छन्। यादवको पनि दुखेसो उस्तै छ। ‘गरिब भएपछि के गर्ने हजुर रिक्सा चलाएर भए पनि बाच्नु त पर्यो,’ उनले भने। दुई छोरी,एक छोरा र श्रीमतीलाई रिक्सा चलाएरै गास बास र शिक्षाका लागि चाहिने आधारभूत खर्च जुटाएका छन् यिनले। २० वर्षमा नेपाल बहुदलीय हुदै गण्तन्त्रमा प्रवेश गरेपनि यिनको जीवनमा खासै फरक परेको छैन। पहिले पनि दिनभरि रिक्सा चलाएर साँझ-बिहानको छाक टार्ने चिन्ता थियो, अहिले उनको चिन्ता २० वर्ष अगाडिको भन्दा फरक छैन।
वीरगञ्ज स्थायी घर भए पनि यादवले सानैदेखि बुटवलमै रिक्सा चलाउँदै आएका छन्। मेहनत र दुःखले परिवारका लागि खर्च जुटाएका यिनी आङ्खनो पेसामा सन्तुष्ट भएको बताए। अरुले रिक्सा चालक भनेर हेला गरे पनि यिनलाई कुनै प्रवाह छैन। ‘म कुनै गलत बाटोमा लागेको छैन, कसैलाई दुःख पनि दिएको छैन,’ उनले भने, ‘मेहनत गर्छु खान्छु।’ जाडो होस या गमी बुटवलका गल्लीहरुमा रिक्सा लिएर यात्रुको खोजीमा भौतारिन्छन् यादव। धेरैले रिक्सा चालक भनेर हेला गरे पनि आफ्नो मेहनतमा सन्तुष्ट छन्। ‘इमान्दारीताका साथमा काम गर्नुपर्छ जे काम गरे पनि हुन्छ,’ उनले भने, ‘विदेशमा गएर दुःख पाएको सम्झँदा त स्वदेशमै रिक्सा चलाउन ठीक।’ विदेशको लाखौं रुपैयाँभन्दा स्वेदशमा रिक्सा चलाएको एक सय रुपैयाँ प्यारो छ यिनलाई। एक त विदेशको ढोका ढकढकाउन सक्ने हैसियत यादवसँग छैन। तैपनि विदेश जाने मोह राखेका छैनन्। ‘विदेशमा पनि मेहनत नगरी पैसा कमाइन्न, मेहनत गरे नेपालमै छ भविष्य,’ उनको कथन छ।
मनोज यादवको भन्दा फरक छैन अर्का ३३ वर्षीय रिक्सा चालक मीन बहादुर मोक्तानको। बुटवलमा प्रायः जिल्ला बाहिरका रिक्सा चालकहरु बढी भेटिन्छन्। कारण जिल्लामा चिनेका आफन्त र साथीहरु हुने भएकाले रिक्सा चलाउँदा हिनताबोध हुँदो हो। यसैले मोक्तान पनि रौतहटबाट बुटवलमा रिक्सा चलाउन आएका छन्। ‘आथिर्क अवस्था कमजोर छ, खेतीपातीले छ महिना पनि खान पुग्दैन,’ उनले भने, ‘अरु काममा साहुको नियन्त्रण हुन्छ, त्यसैले स्वतन्त्र कामको रुपमा रिक्सा चलाउन सुरु गरेका हुँ।’ बुबालाई सानैमा गुमाएका मोक्तानले परिवारको जिम्मेवारी सम्माल्दै आएका छन्। हुन त उनलाई रिक्सा चलाएको भनेर आफन्तजनले घृणा पनि गरे। त्यो सम्झदा कहिलेकाँही आफैँप्रति गलानी महसुस हुन्छ उनलाई।
गाउँतिरका साथीहरु विदेश गएको देख्दा जान पाए हुन्थ्यो जस्तो लाग्छ, तर विदेशमा दुःख पाएर फर्केका घटनाले स्वदेशमै रिक्सा चलाउँदा पनि खुसी हुन्छन् उनी। ‘मेरो बुबाले सानैमा देश छाडेर कहीँ नजानु भन्नुभाको थियो,’ उनी स्मरण गर्दै भने, ‘मेहनत गर्ने हो भने देशमै राम्रो कमाई गर्न सकिन्छ।’ बुटवलमा विगत एक वर्षदेखि रिक्सा चलाउँदै आएका मोक्तानले मासिक ८ हजारसम्म बचत गर्छन्। दुई महिना अगाडि दक्षिण कोरियाका लागि बुटवलमा हजारौं युवा-युवतीको लाम लागेका उनले देखेका थिए। त्यतिमात्रै होइन, फारम भर्न आएका केही युवालाई बुटवल मण्डपसम्म रिक्सामै छाड्नसमेत गए। तैपनि यिनमा विदेश जाने सोच आएन। ‘बरु दुःखै पाएर भए पनि नेपालमै बस्छु,’ उनले भने, ‘अर्काको देशमा जाने मेरो इच्छा छैन।’ कमैले सोच्छन् होला रिक्सा चलाएर परिवारको खर्च धान्छु अनि स्वदेशको माटोमा रमाउँछु भनेर। तर यी मोक्तानले भने विदेशमा दुःख पाउनुभन्दा रिक्सा चलाएर जीवन गुजारा गर्न सुझाव दिन्छन्।
यिनले रिक्सा चलाएरै ३ छोरी र एक छोरालाई शिक्षा दिलाएका छन् भने घरखर्च समेत जुटाउँदै आएका छन्। दाङ देउखुरिका ३२ वर्षीय खिमलाल भण्डारीले पनि बुटवलमा रिक्सासँग जीवन खोज्दै छन्। रोजगारी नपाएर थलिएर बस्नुभन्दा रिक्सा चलाएर भएर पनि परिवारको खर्च धान्नु उनको बाध्यता हो। ‘रोजगारी छैन, खेती गर्न जग्गा छैन,’ उनी भन्छन्, ‘रिक्सा नचलाएर के गर्ने गरिबले पाउने काम यही हो।’ देउखुरीमा पुर्ख्यौली सम्पत्ति पनि धेरै छैन। गरिबीले पढ्न नपाउँदा रिक्सा चलाक भएर जीवन गुजार्नु परेको उनको दुखेसो छ। २ छोरा र एक छोरीलाई स्थानीय सामुदायिक विद्यालमा पढाएका भण्डारीले आफूले पढन् नपाएकाले होला छोराछोरीको भष्यिलाई उज्यालो बाटोतर्फ डोर्याएर रिक्सा चलाएर पनि खर्च जुटाएका छन्। ‘रिक्सा चलाउन सामान्य मेहनतले हुँदैन,’ पसिनाले निथ्रुक भिजेका भण्डारीले भने, ‘सरकारले रोजगारी दिए हाम्रो जीवन सुध्रने थियो तर के गर्ने जति परिवर्तन भएको भनिए पनि हाम्रो दुःख जस्ताको तस्तै छ।’ यlनमा पनि देशको माया अघात छ, तर राज्यले सम्मान गर्न नसकेको दुःखेको छ। त्यतिमात्रै होइन, यात्रुहरुबाट अभद्र ब्यवहार सहनुपरेकोमा उनी दुःखी छन्। ‘हामी त मेहनत गरेर खान्छौं, उनले भने, ‘तर उल्टै पसिनाको मूल्य तिर्न खोज्दैनन्।’ उनले पनि १० हजारकै हाहारीमा मासिक कमाई गर्ने गरेको बताए।
अन्य काम नपाउने र रिक्सा चलाएर आम्दानी पनि ठीकै हुने भएकाले यही पेसा गरेको उनको भनाई छ। रिक्सा चलाउनु गरिबी नै भए पनि विदेशमा गएर दुःख गर्ने पक्षमा भण्डारी पनि छैनन्। पढेलेखेका युवाहरु दिनहुँ विदेश पलायन भइरहेका बेला यिनले भने आङ्खनो देश नछाड्न आग्रह गरे। ‘म एउटा रिक्सा चालक त देशमै बाच्न सक्छु भन्ने शिक्षित युवाहरु किन विदेश जान्छन्?,’ उनले प्रश्न गरे, ‘तपाईंहरुको यो देशमा खाँचो छ, तपाईँहरु अर्काको देशमा नजानुस्।’ बुटवलमा रिक्सा चलाएर जीवन धानेका रिक्सा चालकहरुले कष्टपुर्ण जीवनयापन गरे पनि देशको माया र इमान्दारीताका साथमा काम गरेको देखिन्छ। रिक्सा चलाएर त परिवारमा सुःख दिन सकिन्छ भने शिक्षित भनिएकाले आङ्खनै देशमा भविष्य खोज्न सकिँदैन र?