चार लाखको चेक कृष्ण थारुले फर्ता गरे

कलेन्द्र सेजुवाल, सुर्खेत- लोडरको काम गर्ने एक थारु युवाले विमानस्थलमा भेटाएको चार लाख रुपैयाँको चेक बैंकमा बुझाएका छन्। बैंकले इमान्दारिताको कदर गर्दै बिहीबार उनलाई दोसल्ला ओढाएर सम्मान गरेको छ। सुर्खेत विमानस्थलमा कार्यरत लाटीकोइली, नयाँगाउँका कृष्ण थारुले बुधबार दिउँसो चार लाख रुपैयाँको चेक भेटाएका थिए। बाजुराको कोल्टीबाट तारा एयरमा सुर्खेत झरेका एक यात्रुले उक्त चेक ल्याएका थिए। बाजुरास्थित पूर्ण निर्माण सेवाले दिलिपकुमार शाहीका नाममा कात्तिक १ गते चेक जारी गरेको छ।

चेक भेटाएलगत्तै २४ वर्षीय थारुले बुबा बाँधुरामलाई जानकारी गराएका थिए। ‘मैले छरछिमेकसँग सल्लाह गरेर बैंकमा बुझाउने निर्णय गरेँ,’ राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखामा चेक बुझाउन आएका बाँधुरामले भने, ‘हामी जति गरिब भए पनि अर्काको पसिनाको धन खान सक्दैनौँ।’ कतिपयले चेक साँट्न उकासे पनि आफ्नो मनले नमानेको उनले बताए।

उक्त चेक राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाको भए पनि एनी ब्रान्च बैङ्किङ सिस्टम (एबीबीएस) भएकोले जुनसुकै शाखाबाट झिक्न मिल्ने बैंकका सुर्खेत शाखा प्रबन्धक यज्ञबहादुर बस्नेतले बताए। उनका अनुसार राष्ट्रिय वाणिज्य बैंकका देशभरका एक सय ४० शाखा एबीबीएस प्रणालीमा छन्। ‘चेक जारी गरिएको खातामा रकम पनि छ, साँटेको भए कसैले समात्न सक्ने अवस्था थिएन,’ बस्नेतले भने, ‘फेरि चेकबाहक अहिलेसम्म बैंकको सम्पर्कमा पनि आएको छैन।’

Leave a Reply

Your email address will not be published.