खसीबोकाको बिक्री सुरु

काठमाडौं- नेपाल खाद्य संस्थानले दसैँको लागि आजदेखि खसीबोकाको बिक्री वितरण सुरु गरेको छ। संस्थानले थापाथलीस्थित अञ्चल कार्यालयबाट सर्वसाधारणलाई खसीबोका बिक्री वितरण सुरु गरेको हो।

बजारमा मासुको मूल्य निर्धारणमा व्यवसायीको एकाधिकारलाई अन्त्य गरी उपभोक्तालाई सुपथ मूल्यमा मासु उपलब्ध गराउने उद्देश्यले प्रत्येक वर्ष दसैँको समयमा काठमाडौँ उपत्यका बाहिरबाट खसीबोका खरिद गरी काठमाडौँमा ल्याएर बिक्री वितरण गर्ने गर्दछ।

अहिलेसम्म नेपालगन्जबाट खसीबोकाको स्वास्थ्य परीक्षण गरी स्वस्थ ठहरिएका ८६७ वटा खसीबोका ल्याएर थापाथलीस्थित संस्थानको अञ्चल कार्यालयमा राखिएको र खसीबोका ल्याउने क्रम जारी रहेको संस्थानका प्रवक्ता इन्द्रप्रसाद सिटौलाले बताए।
संस्थानले यस वर्ष २५ किलोसम्मको खसीबोकालाई प्रतिकिलो रु ३०४, सोभन्दा माथिका लागि रु ३१४ मूल्य निर्धारण गरेको छ। सस्थानले खरिद गर्दा ढुवानी मूल्य लागत मूल्यको आधारमा मूल्य निर्धारण गरेको प्रवक्ता सिटौलाले बताए।
संस्थानले गत वर्ष २५ किलोसम्म रु २६८ र रु सोभन्दा माथि रु २७६ मूल्य निर्धारण गरेको थियो। त्यसैगरी संस्थानले यस वर्ष करिब तीन हजार खसीबोका ल्याउनका लागि रु एक करोड ४२ लाख खर्च विनियोजन गरेको छ।

संस्थानले अष्टमीको दिनसम्म खसीबोकाको बिक्री वितरण गर्ने जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.