मदन चौधरी- अढाइ दशकअघि रेकर्डिस्टका रूपमा फिल्म लाइन छिरेका परशुराम चौधरी आज आफैं अभिनय गर्छन्, पटकथा लेख्छन्, निर्देशन गर्छन्। छायांकन, सम्पादक, ध्वनि र पार्श्व संगीतमा समेत उनको अनुभव छ। सुनसरी झुम्कामा जन्मेका उनले २०४० सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रोनिक्समा डिप्लोमा गरे। लगत्तै नेपाल टेलिभिजनमा एक वर्ष जागिर खाएर छाडिदिए। दस वर्ष म्युजिक नेपालमा काम गर्दा हजारौं गीत रेकर्डिङ गरेको उनको अनुभव छ।
फिल्मको निर्देशन र छायांकनमा कोर्स गर्न सिंगापुर गएपछि उनको कामले गति लियो। आफ्नै समुदायप्रति केही गर्ने अठोटपछि उनी थारु भाषाको फिल्म बनाउन कस्सिए। ‘त्योबेला म एकमात्र चौधरी थिएँ, यो पेसामा,’ उनले भने, ‘मेरो समुदायका लागि मैले केही नगरे कसले गर्ने?’ उनले आफूले इख लिएरै थारु भाषाको पहिलो फिल्म ‘करम’ बनाउने निधो गरेको बताए।
तीन लाखमा यसको निर्माण सकेका चौधरीले डेक, जेनेरेटर र टिभी बोकेर गाउँगाउँ फिल्म देखाए। ‘त्यही फिल्मले मलाई चिनायो,’ उनी सम्झन्छन्, ‘लगत्तै मेरो फिल्म भिडियो महोत्सवमा सेलेक्ट पनि भयो।’
२२ विधाको महोत्सवमा १३ विधामा मनोनीत हुने एकमात्र फिल्ममा ‘करम’ परेपछि उनी थप उत्साहित भए।
सुन्धारामा निर्णायक मण्डलले फिल्म हेरिरहँदा परशुराम रत्नपार्कतिर बरालिए। मध्यान्तरमा उनी त्यहाँ पुग्दा ‘चौधरी भाइ खोइ’ भन्दै निर्णायकहरूले खोजी गरिरहेको सुने। उनले पक्कै पनि निर्णायकले ‘खत्तम फिल्म बनाइस्, यस्तो नि फिल्म हुन्छ’ भन्दै गाली गर्ने सोचे। त्यस्तो भएन। निर्णायकबाट राम्रो फिल्म बनाएको टिप्पणी सुनेपछि उनको खुसी अझ बढ्यो।
उनले महोत्सवमा निर्देशन, कथा, पटकथा, ध्वनि, कलाकार, फिल्मलगायत सात विधामा उत्कृष्ट अवार्ड पाए। ‘प्रायजसो अवार्ड वितरण हुँदा मेरै नाम सुनिन्थ्यो,’ उनले सम्भि्कए, ‘सात विधामा अवार्ड पाएर धेरै खुसी भएँ।’ प्रत्येक पाँच किलोको सातवटा अवार्ड ग्रहण गर्दा उनीसँग ३५ किलो जम्मा भएको थियो। उनले बोक्न नसकेर श्रीमती र आफन्तलाई बोकाएर अवार्ड घर लगेको बताए।
त्यसपछि परशुरामले फर्केर हेर्नु परेन। ‘अवार्ड पाएर यो क्षेत्रमा झन धेरै काम गर्ने जाँगर आयो,’ उनी सुनाउँछन्, ‘परिश्रमको फल जो पाएको थिएँ।’ उनी आफू थारु फिल्मको निर्देशक भनेर चिनिँदा गौरव महसुस गर्छन्। ‘थारुको कोखबाट जन्मेर मलाई गौरव लाग्छ,’ उनले भने, ‘त्यसैले प्रेरित भएर मैले थारुका धेरै फिल्म, टेलिसिरियल र डकुमेन्ट्री बनाए। उनी अझै पनि एनटिभी प्लसमा थारु भाषाको टेलिसिरियल बनाउँछन्।
उनको खुबी थारु फिल्मको निर्देशन र अभिनयमा मात्र होइन, पश्चिम बंगालमा बन्ने बंगाली, सुरजापुरी भाषाको फिल्ममा पनि त्यत्तिकै माग छ। बंगाली भाषाको फिल्म ‘साप कन्या, काहार कसुर’को निर्देशन र अभिनय गरिसकेका उनले हाल ‘जीवनेर संघर्ष फिल्म’मा निर्देशक र मुख्य अभिनेताका रूपमा अभिनय गर्दैछन्। मैथिली, भोजपुरी फिल्ममा समेत अभिनय गरिसकेका छन्।
‘भागी के रेखा’, ‘सैंया भेल जमैया’, ‘बेटी’लगायत फिल्ममा उनले निर्माण, निर्देशन र मुख्य भूमिकामा अभिनय गरे। उनी अहिले पनि थारु राजनीतिक विषयमा फिल्म बनाउँदैछन्। ‘राणाकालदेखि अहिलेको गणतन्त्रसम्मै थारु समुदायका कोही न कोही राजनीतिमा सक्रिय छन्,’ उनले भने, ‘उनीहरुको भूमिका कस्तो रह्यो, को कुन पदसम्म पुगे, को मन्त्री बने, यिनै विषय फिल्मले समेट्ने छ।’
नेपालको चौथो ठूलो जनसंख्या भएको थारु भाषाको फिल्ममा लगानी नबढ्नुमा उनी सरकारको पनि दोष देख्छन्। चलचित्र विकास बोर्डको सदस्यसमेत रहेका उनी थप्छन्, ‘भर्खर हिरोइन बनेका रेखा थापाका लागि ठूल्ठूला राजनीतिकर्मी प्रचण्ड, बाबुरामलगायतले लबिङ गर्छन्, म यही क्षेत्रमा २६ वर्षदेखि काम गर्नेका लागि कसले लबिङ गर्नु?’ उनले चलचित्र विकास बोर्डमा राम्रो व्यक्ति चयन नभएसम्म नेपाली चलचित्रको विकास नहुने तर्क दिए।
उनले खोलेको संस्था तराई आदिवासी कला सांस्कृतिक प्रतिष्ठानले पुसमा लहानमा थारु फिल्म महोत्सव गर्ने तयारी गरेको छ। यसले स्थानीय फिल्मकर्मीको हौसला बढाउने उनले विश्वास गरेका छन्।