कृष्णराज सर्वहारी राप्ती अञ्चलमा जन्मिएर विशेषगरी थारू भाषी साहित्यको सिर्जना र त्यसको विकासमा अनवरत संघर्षशील युवा साहित्यकारको नाम हो। यसो त सर्वहारीले नेपाली भाषामा साहित्यको सिर्जना नगरेको होईन तर पनि थारू साहित्यको विविध विधामा कलम चलाउने तथा प्रकाशन गर्ने साहित्यकारहरुको अग्रस्थानमा उनको नाम लिनुपर्ने हुन्छ। साहित्यकार सर्वहारीले नेपाली तथा थारू भाषामा गरी डेढ दर्जन बढी कृतिको प्रकाशन गरी नेपाली साहित्यको फाँटलाई अझ उचो गराएका छन। त्यसबाहेक उनले केही पुस्तकहरु तथा एक दर्जन भन्दा बढी साहित्यक पत्रिकाहरुको सम्पादन समेत गरेकाछन्। बि.सं. २०२८ साल भाद्र ६ गते दाङ जिल्लाको चैलाही–६, छुटकी घुम्नामा बुबा टीकाराम चौधरी तथा आमा ज्ञानु्देवी चौधरीको माहिलो छोराको रुपमा जन्मिएका उनले २०४५ माघ २७ गते लालमटिया–१, वसन्तापुर (बाघढड्डी) निवासी गोपीप्रसाद र छुन्कीदेवी चौधरीको जेठी छोरी सुनिता चौधरीसंग मागी विवाह गरेका हुन। उनको तीन छोरी जुनु, वुनु र भुमिका क्रमशः १२, ११ र ८ कक्षामा राजधानीमा उनीसँगै रहेर पढिरहेका छन्।
सर्वहारी वालजनता उच्च मावि वनगाउँ देउखुरीबाट २०४४ मा एसएलसी गरेपछि आईए/वीए महेन्द्र बहुमुखी क्याम्पस भरतपुर दाङबाट गरेका हुन्। उनले पछि २०५९ मा त्रिवि केन्द्रीय नेपाली विभाग कीर्तिपुरबाट एमए गरे। हाल संस्कृत विश्वविद्यालयमा पीएचडीका विद्यार्थी तथा गोरखापत्र दैनिकमा थारू भाषा पृष्ठको पृष्ठसंयोजकको हैसियतले काम गरिरहेका उनी कीर्तिपुरमा बस्दछन्।
फुटल करम, (थारू भाषाको पहिलो उपन्यास), २०५५, दोसर घर जाइबेर, (थारू भाषाको पहिलो मुक्तक संग्रह), २०५६, गन्तव्य, (मुक्त कमैया सम्बन्धी उपन्यास), २०५९,समयका उच्छबासहरू, (थारू नेपाली पहिलो हाइकु संग्रह), २०५९, मामा भान्जा, (थारू भाषाको पहिलो लोककथा संग्रह), २०६०, सुख्ली, (थारू भाषाको पहिलो बालकथा संग्रह), २०६२, जोन्हू मामा, (थारू भाषाको पहिलो बालकविता संग्रह), २०६२, सर्वहारीका थारूभाषी उल्लेखनीय कृति हुन भने उनले कक्षा १ देखि ५ सम्मका थारू भाषाका पाठ्यपुस्तक सहलेखन (२०५७–२०५९) गर्नुको साथै शान्तिको खोजीमा बालबालिका २०६४ (द्वन्द्वमा परेका बालबालिकाको सत्यकथा), बिब्लियोग्राफी अफ इण्डिजिनियस इथ्निक थारू, २०६३, सहलेखन, लाल केरनी, (थारू भाषाको उपन्यास, प्रकाशोन्मुख¬), २०६४ थारू इन्डिजिनियस नलेज एण्ड प्रेक्टिसेज (सन् २००६, सहलेखन) लगायतका पुस्तकहरु समेत प्रकाशित छन्। यसबाहेक हलो जोत्ने माछा (सचित्रमय कथा, २०६६) अनारकलीको अन्तरकथा (सचित्रमय कथा, , तुलारामको चर्तिकला (सचित्रमय कथा, २०६६), सत्तलसिंहको कथा (सचित्रमय कथा, २०६६), नेपाली तथा थारू दुवै भाषामा प्रकाशित उनका कृति हुन्। त्यस्तै छट्टु स्यालको बिहे –(बालकथा २०६७), थ्ाारु लोककथा १ (२०६७), ढों ढों पों पों ( थारू भाषाको पहिलो हाँस्यब्यंग्य संग्रह, २०६८), थारू भाषा सिकौं (२०६८) पनि प्रकाशित छ। उनको थ्ाारु लोककथा १ (२०६७) ले सो बर्षको साझा लोकसाहित्य पुरस्कार पाएको छ।
साहित्यकार सर्वहारीले लील बहादुर क्षेत्रीको बसाइ उपन्यासको थारू भाषामा अनुवाद समेत गरेका छन्, जो साझा प्रकाशनबाट प्रकाशोन्मुख रहेको बुझिएकोछ। महिलाका हात, २०६४ तथा द्वन्द्वका सुस्केरा, २०६४, जीवलालके फूलरिया २०६७ सर्वहारीद्वारा सम्पादित पुस्तक हुन भने बिहान, थारू संस्कृति, पहुरा (बार्षिक पत्रिका) लावा बिहान, गुर्वावा (चौमासिक) अग्रासन, सुचारू (मासिक) हमार सैडान, दंगाली आवाज, सर्वसम्मत बाटो (स्मारिका) लगायत एक दर्जन बढी पत्रिकाको उनले सम्पादन गरेका छन्। मध्य पश्चिम साहित्य परिषद काठमाडौमा कोषाध्यक्षको रुपमा संलग्न सर्वहारीले दाङ्ग सहित्य तथा संस्कृति प्रतिष्ठानबाट पद्मनाभ—तिलकुमारी राणा पुरस्कार,२०६०, प्रतिभा सहित्य समाज, बाँकेबाट प्रतिभा साहित्य सम्मान, २०६२, थारू कल्याण कारिणी केन्द्रिय सभाबाट थारू साहित्यकार सम्मान, २०६३, लेखक संघ दाङबाट तोयाराम ईश्वरादेवी पाण्डेय साहित्य पुरस्कार, २०६३, तथा राप्ती साहित्य परिषद, दाङबाट देवीचन्द्र साहित्य पुरस्कार, २०६६, संस्कृति मंत्रालयबाट क्षेत्रीय प्रतिभा पुरस्कार २०६७, साझा लोकसाहित्य पुरस्कार, २०६७, ज्योतिसिंह साहित्य पुरस्कार, २०६८ समेत प्राप्त गरिसकेका छन्।
सर्बहारीको पहिलो प्रकाशित रचना थारू भाषामा ‘गुलावके काँटा’ (कथा) हो जुन २०४५ साल (कुँवार) मा “विहान” वार्षिक पत्रिकामा प्रकाशित भएको थियो। सोही वर्ष “सरयु” साप्ताहिकमा ‘घोराही’ शिर्षकमा कविता छापिएको थियो।
निमावि तह पार नगर्दै उनका वुवाले सामान्य ज्ञानको पुस्तक तथा मधुपर्क जस्ता पत्रिका ल्याई दिएपछि सामान्य ज्ञानमा र साहित्यमा उनको रूचि ह्वात्तै बढ्यो रे। छोराछोरीलाई कोर्सवाहेक अरू पुस्तक सबै अभिभावकले व्यवस्था गरिदिनुपर्छ पर्छ भन्ने अरु अविभावकलाई उनको सल्लाह छ। सर्बहारीले आफ्नो साहित्यको पहिलो प्रेरक व्यक्तित्वको रुपमा आफ्नो हजुरबालाई लिने गर्दछन्, जसले उनलाई सानैमा लोककथा सुनाएर साहित्यमा, आफ्नो भाषाको लोक साहित्यमा लाग्न उत्प्रेरित गर्नुभयो।
२०५१/२०५२ तिरबाटै नयाँ युगवोध र गाउँघर साप्ताहिकबाट पत्रकारिता शुरू गरेको उनले २०५३ मा डिग्री पढ्ने क्रममा काठमाडौं आउँदा काठमाडौं टेकेको भोलिपल्टै रविवार साप्ताहिकमा सम्वाददाता भएका थिए । २ वर्ष एक्लै ६० पृष्ठको सुचारू मासिक पनि चलाएका थिए। साढे चार वर्ष कामना प्रकाशनको साधना मासिकमा विशेष सम्वाददाता, १३ महिना अन्नपूर्ण पोष्ट दैनिक सम्पादकीय विभागमा पनि काम गरेका थिए। त्यहाँ साहित्यकार नारायण ढकालसँगको आफ्नो सहकार्य सुखद रहेको उल्लेख गर्न चाहन्छन्। छापा पत्रकारितामा ७ वर्ष विताएपछि रेडियो पत्रकारिता गर्न २०६० मा नेपालगञ्ज झरे। थारू मिडिया हाउस खोली एकै छातामुनि रेडियो, टिभी, छापा पत्रकारिता गर्ने सोंच अनुरूप झरेकोमा टीमवर्क नमिली सम्भव नहुँदा एकवर्षे रेडियो पत्रकारिता टुंग्याई पछि देउखुरी लमही स्वान संस्थामा आवद्ध भए उनी। उनलाई सूचना अधिकृतको नियुक्ति दिइए पनि अनौपचारिक कक्षाको निरीक्षण गर्न जानुपर्थ्यो रे। यसरी १० वर्ष पछि व्याक टुं मंगलमान भनेझै उनको पत्रकारिता पेशाको मृत्यु भै पुनः रात्री कक्षाको निरीक्षकमा झर्यो। तर स्वानको कार्यक्रममा माओवादी हस्तक्षेपपछि स्थगित हुँदा उनी पुनः काठमाडौं उक्लिए।
गोरखापत्रमा थारू भाषा पृष्ठ संयोजन गर्ने जिम्मेवारी पाएपछि उनको पत्रकारिता यात्रा पुनः फर्किएर आएजस्तो भयो। हाल आदिवासी जनजाति केन्द्रित पत्रिका जनपहुँच मासिकको सम्पादक रहे पनि मूलधारको पत्रकारिता भने छुटेको छ। आफूलाई अनुसन्धानमा लगाएको बताउने उनले एसएनभीमा ‘थारू आदिवासी ज्ञान’ तथा थारु गुरुवाहरुको अवस्थाबारे तथा मार्टिन चौतारीमा ‘मुक्त कमैयाको शिक्षामा पहुँच’ विषयमा अनुसन्धान गरे। थारु गुरुवा र मंत्र ज्ञान नामक उनको आगामी कृति हो। सर्वहारी हाल स्वतन्त्र अनुसन्धानकर्मी र स्वतन्त्र पत्रकारको परिचय दिन रूचाउँछन्।
सर्वहारीले साहित्यमा लागेर पहिचान पाएको उल्लेख गर्न चाहन्छन्। उनको बाँच्ने आधार पत्रकारिता, अनुसन्धान भए पनि साहित्य सिर्जनामा लागेर अरुको सँगसँगै साहित्यकारको पगरी गुथ्न पाएको तथा यसमा लागेर केही गुमाएको जस्तो नलागेको बताउँदछन्। आफ्नो कुनै पुस्तकले आर्थिक नोक्सानी वेहोर्नु परेको छैन भन्ने साहित्यकार सर्वहारी जुन दिन त्यस्तो लाग्ला सायद पुस्तक प्रकाशित गर्न छोडुँला भन्दछन।
साहित्य समाजको ऐना हो। त्यसैले वास्तविक समाजको यथार्थ चित्रण यसले गर्नुपर्छ। जसबाट साहित्यको माध्यमबाट आम पाठकलाई पनि समाज कतातिर गैरहेको छ? कता लाँदा राम्रो होला भन्ने मन्थन गर्न सहज होस् भन्ने सर्वहारीलाई तपाईले राप्ती तथा राप्तीको साहित्यको उन्नयनको लागि के गर्नुभएको छ तथा यसको लागि तपाईको के गर्ने योजना छ? भनी प्रश्न राख्दा यसो भन्दछन् उनी “मैले जे गरेको छुँ, राप्ती साहित्यको उन्ननयनकै लागि गरेको जस्तो लागेको छ। थारू भाषा साहित्य सिर्जनामा मैले जुन पकड वनाएको छुँ, त्यो मेरो मातृभूमि दाङ देउखुरीको पदचाप हो। थारू भाषा साहित्यमा लाग्नेलाई आफ्नो हजुरवा र हजुर आमाको नाममा निबुलाल/डोङली थारू साहित्य पुरस्कार स्थापना गरेको छुँ। यो थारू भाषा साहित्यमा लाग्नेलाई दिईने पहिलो र एक मात्र पुरस्कार हो। मेरो चाहना राप्ती क्षेत्रको यो सबैभन्दा ठूलो पुरस्कार राशीको बनोस् भन्ने हो तर के गर्नु सरस्वती र लक्ष्मी सँगसँगै हिंड्न सक्दा रहेनछन्। राप्ती क्षेत्र साहित्यमा लाग्नेहरूको वृहत ग्रन्थ सूची बनाइनु पर्छ। राप्ती साहित्य परिषदले पनि आफ्नो वार्षिकोत्सव दाङमा मात्रै केन्द्रित नगरी सबै जिल्लामा रोटेशन गर्नुपर्छ ”।
साहित्यिक अवस्था राम्रो नदेखेका युवा साहित्यकार सर्वहारीले तर खासै असन्तोष गर्नुपर्ने ठाउँ पनि छैन भनी चित्त बुझाउँछन्। विगतमा एकै भाषा, भेष, संस्कृतिलाई काखी च्यापी सरकारले जसरी खस नेपाली भाषालाई मात्रै प्राथमिकता दियो, देश संघीयतामा प्रवेश गर्दा पनि सरकारी स्तरबाट नेपालका अन्य भाषाको विकासमा ठोस कदम चालिएको छैन भन्ने थारू भाषी सर्वहारी बजेटमै यसको उचित व्यवस्था गरिनुपर्छ सुझाव दिन चाहन्छन्। नेपालका सवै भाषा/साहित्यको समुचित विकास गर्न ढिलाई गरिनु हुन्न अनि मात्रै नयाँ नेपालको अनुभूति हुनेछ भन्ने उनको सल्लाह छ।
साहित्यकार खगेन्द्र स्ांग्रौलालाई सर्वहारीको कथ्यको नवीनता तथा चित्रणको सौन्दर्ययुक्त सरलता मनपर्दो रहेछ। उनले सर्वहारीको गन्तव्य उपन्यासलाई कमैया जीवनको एक सग्लो र सजीव दस्तावेज भनेका छन् भने सर्वहारीलाई एक प्रतिभाशाली र अध्यावसायी भनी अभिव्यक्त गरेका छन्।
भविष्यको कुनै खास योजना छैन तर जति उमेर बाँच्छु लेख्न छोड्दिन भन्ने सोंच भएका सर्वहारीको जेव गरम भए त लेखेर मात्रै विताउने योजना छ तर पापी पेटको सवाल भन्छन्। छोरीहरूलाई पढाउन पनि काम गर्नैपर्छ भन्ने सर्वहारीको भविष्यमा पनि उनको बाँच्ने मेलो स्वतन्त्र पत्रकारिता र अनुसन्धान नै होला भनी भविष्यवाणी गर्दछन्। कहिलेकाही व्यापार गर्न पनि जाँगर चल्छ, तर म एक ठाउँमा जमेर बस्न आफ्नो नसक्ने समस्या भएको बताउँने सर्वहारीले अहिले आएर केही समयको लागि भए पनि मास्टरी गर्ने प्रवल इच्छा राखेका छन् तर ‘तथास्त’ कसैले भनिदिँदा रहेनछन्।
अनुसन्धानको सिलसिलामा भारतको नयाँ दिल्ली र झारखण्ड घुमेका सर्वहारीलाई भारत घुम्न धेरै पैसा नलाग्ने तथा भीसा वनाइरहनु नपर्ने हुँदा एकपटक तीर्थबर्त गर्ने बहानाले भएपनि भारत त घुम्नुपर्छ भन्ने लाग्छ। झारखण्ड क्षेत्र आदिवासी विषयको अध्ययनको लागि राम्रो ठाउँ हो, तर हाल माओवादी आन्दोलन चर्किएर गाह्रो भएको छ भन्ने सर्वहारी भ्रमणमा रुचि राख्दछन्।
शैक्षिक तथा अन्य सामाजिक क्षेत्रमा पछाडि पारिएको थारू समुदायमा जन्मिएर पनि नेपाली विषयमा उच्च शिक्षा प्राप्त गर्न सफल युवा साहित्यकार कृष्णराज चौधरी ‘सर्वहारी’ले नेपाली तथा थारू भाषा साहित्यका युवा अवस्था मै त्यति धेरै कृतिहरुको लेखन र प्रकाशन गर्न भ्याउनु उनको विलक्षण प्रतिभाको द्योतक हो भन्नु अत्युक्ति नहोला। एकातिर थारू भाषाका विविध विधाको रचना गरी सङ्ग्रह प्रकाशन गरी पहिलो कृतिकारको पगरी गुथ्न सर्वहारी सफल भएका छन् भने आफ्नो बहुमुखी प्रतिभाको राम्रोसँग उजागर समेत गरेका छन्। यति हुँदाहुँदै पनि सरल तथा अत्यन्त शालीन व्यक्तित्वका धनी कृष्णराजको जीवनबाट जो कोहीले पनि धेरै कुरा सिक्नुपर्छ जस्तो मलाई लाग्छ। कृष्णराज सर्वहारी जस्तो अत्यन्त प्रतिभाशाली व्यक्तित्व पाएर राप्तीले गर्व गर्दै उनको अनुसन्धान, लेखन तथा प्रकाशन यात्रा अनन्तसम्म फैलियोस् भन्ने कामना गर्दछु, साथै यो शव्द चित्रको यही बिट मार्न चाहन्छु।
– रमेश सुवेदी