मदन चौधरी– २०५० को बेला थियो, फाटफुट बनेका थारु फिल्मले पनि राम्रो व्यापार गर्थ्यो। राम्रो व्यापार गरेकैले तराईका विभिन्न सिनेमा हलले थारु फिल्मलाई पहिलो रोजाइमा राख्थे। थारु भाषाकै फिल्मबाट करियर सुरु गरेका अभिनेता बिराज भट्ट नेपाली हुँदै हालः भोजपुरी फिल्ममा जमिरहेका छन्। तर थारु फिल्म भने जहीँको त्यहीँ छ। संख्यात्मक हिसाबले अहिले धेरै फिल्म निर्माण भइरहेका छन्। तैपनि कुनैले राम्रो ब्यापार गर्न नसकेको निर्माताहरु स्वयं स्विकार्छन्।
खस्किँदो गुणस्तरका कारण हलवालाले थारु फिल्मलाई भन्दा हिन्दी फिल्मलाई बढी प्राथमिकता दिन थालेको छ। बल्लतल्ल रिलिज गर्दा पनि दर्शक नगइदिँदा निर्माता तथा वितरक मारमा परेका छन्। थारु भाषामा बनेको ‘बउछार’ एकमात्र थारु फिल्म हो, जसले ५२ दिन मनाउन सफल भएकोथियो। ७ लाखको लगानीमा बनेको यो फिल्मले २७ लाख उठाएको थियो। थारु फिल्मका अभिनेता तथा वितरक संगत चौधरीका अनुसार पछिल्लो समयमा थारु फिल्ममा बढ्दै गएको विकृतिले गुणस्तरमा कमी आएको छ। ‘सिरियस फिल्म बनाउनेभन्दा चर्चाका लागि थारु फिल्म बनाउनेको बिगबिगी बढेको छ,’ अभिनेता संगतले भने, ‘यस्तै रहने हो भने कुन दिन यो क्षेत्र नै धरासायी बन्नेछ।’ बउछार, तागत, करम, भुइँचाल, संघर्ष जिन्दगी के, डगरलगायत फिल्ममा अभिनय गरिसकेका संगतले अहिले ह्यान्डी क्यामेराले फिल्म बनाउनेको संख्या बढेकाले थारु फिल्मको साख खस्केको बताए।
थारु भाषाको पहिलो फिल्म निर्माण गरेका परशुराम चौधरी पनि संगतको कुरामा सहमत छन्। उनी भन्छन्, ‘फिल्म थालमा पस्किएको भातजस्तो होइन, मुछेर खाइदिनलाई। जुनसुकै भाषाको फिल्म किन नहोस्, फिल्म बनाउनको लागि सबै कुराको ज्ञान हुनु जरुरी छ।’ २०४६ सालमा पहिलो थारु फिल्म ‘करम’ निर्माण गरेका उनले हालसम्म यही क्षेत्रलाई आफ्नो रोजीरोटी मानेका छन्। २०४९ सालमा आयोजित भिडियो महोत्सवमा उनको फिल्म ‘करम’ले २२ मध्ये १३ विधामा मनोनित भएको थियो। जुरी मेम्बरले उनको फिल्म हेर्न अस्विकार गरे पनि पछि त्यही फिल्मले निर्देशक, कथा, पटकथा, सम्पादन, ध्वनीलगायत सात विधामा उत्कृष्ट अवार्ड हात पार्यो। तर थारु फिल्ममा बढ्दै गएको विकृतिले भने उनलाई यस क्षेत्रबाट पलायन बनाउने त हैन बन्ने डर छ। निर्माता, अभिनेता तथा थुप्रै म्युजिक भिडियो र नेपाली फिल्मको छाँयाकन,सम्पादन र ध्वनीसमेत भरिसकेका उनले लगानीकर्ताको अभावले यो क्षेत्र धरासायी बन्दै गएको बताए। ‘नेपाल म्याक्स’बाट विभिन्न भाषाको फिल्म निर्माण गर्ने उनले जबसम्म चलचित्र विकास बोर्डमा थारु नेतृत्वकर्ता चयन हुँदैनन् तबसम्म थारु फिल्मको विकास हुन नसक्ने जिकीर गरे। हालःसम्म १७ वटा थारु फिल्म निर्माण गरिसकेका उनले सबै फिल्ममा आफैं अभिनेताको भूमिकामा देखिएका छन्।
थारु फिल्मलाई नै सबैथोक मान्ने निर्मात्री तथा अभिनेत्री सोनु थारुले पनि पछिल्लो समयमा थारु फिल्मको गुणस्तरमा कमी आएको स्पष्ट पारिन्। उनले फिल्म नबुझेका निर्माता/अभिनेता यस क्षेत्रमा हाबी भएकाले धरासायी बन्दै गएको उल्लेख गरिन्। ‘फिल्म भन्ने वितिकै हुरुक्क हुनेहरुको कमी छैन,’ उनले भनिन्, ‘कला हुनेहरुभन्दा पनि चर्चाका लागि अभिनय गर्न आउने र फिल्म बनाउने ट्रेन्डले गुणस्तर खस्केको छ।’ ‘अहिले जति नै ठूलो बजेटको राम्रो फिल्म निर्माण गर्नुस्, हलवालाले चलाउन मान्दैनन्,’ दरारकी अभिनेत्री सोनुले भनिन्, ‘ह्यान्डीक्यामेराले बनाउनेको हूल देखेर उनीहरुकहाँ म्यासेज नै गलत पुगेको छ।’ उनले यिनै कारणले गर्दा थारु फिल्म क्षेत्र धरासायी बन्दै गएको खुलाइन्। सरकारले पनि यस क्षेत्रलाई उपेक्षा गरेकाले यसको राम्रो प्रबर्द्धन र विकास हुन नसकेको सोनुको भनाई छ।
पहिले निर्मित थारु फिल्ममा अधिकांश कलाकार थारु समुदायकै हुन्थे। तर आजकल त्यस्तो छैन। फिल्ममा थारु समुदायका भन्दा अन्य समुदायका कलाकार हाबी भएको देखिन्छ। अभिनेता, अभिनेत्री, निर्देशकलगायत पनि अन्य समुदायकै हुन्छन्। के थारु समुदायमा कलाकारको कमी भएकै हो त? परशुराम चौधरी भन्छन्, ‘मैले बनाउने सबै फिल्ममा थारु समुदायकै कलाकार छनोट गर्छु। पात्र नै अरु समुदायको चाहिएको बेला मात्र अरु समुदायको छनोछ गर्छु।’ उनले थारु फिल्ममा पनि बलिउड, हलिउड र पछिल्लोपटक नेपाली फिल्ममा चलेको ‘सेक्स ओरिएन्टेड’ ट्रेन्डले गर्दा अन्य समुदायको पात्र लिनुपरेको बताए। मातृ भाषाको फिल्ममा सेक्स अपिलका दृश्य देखाउनु मनासित नभएको उनको धारणा छ। ‘हामी कमरसियल हैन, मातृ भाषाको फिल्म निर्माण गर्छौं,’ उनले भने, ‘अनि मातृभाषाको फिल्ममा सेक्स अपील देखाएर हुन्छ कहीँ? उनले प्रतिप्रश्न गरे।’ उनले त्यस्ता फिल्म निर्माताले आफ्नो समुदायको पहिचानलाई आँच आउने काम गरिरहेको खुलाए।
‘थारु फिल्मको विडम्बनै यही हो,’ वितरक संगतले भने, ‘थारुको पहिचान, भाषा, संस्कृतिलाई समेटेर फिल्म निर्माण हुनुपर्थ्यो, तर भइरहेको छैन।’ उनले थारु फिल्ममा बढ्दै गएको सेक्स ओरिएन्टेडप्रति चिन्ता व्यक्त गरे। ‘सेक्स अपिलकै फिल्म हेर्ने हो भने दर्शक हलिउड फिल्म हेर्छन्,’ उनी थप्छन्, ‘हिन्दी फिल्म हेर्न सक्छन्।’ थारु फिल्म भनेको मातृभाषाको फिल्म भएकाले सेक्स अपिललाई भन्दा पनि त्यस जातिका मुद्दालाई फिल्मले उजार गर्न सक्नुपर्छ।
यस्तो फिल्म निर्माण हुनु एकदमै निन्दनीय भएको सोनुको ठहर छ। उनले थारु फिल्मको पनि लिमिटेशनहरु बनाउनुपर्ने बताइन्। ‘थारु कलाकाहरु संगठित भएर त्यस्तो फिल्म रोक्नुपर्छ,’ सोनुले भनिन्, ‘अनिमात्र त्यस्ता फिल्मको निर्माणमा कमी हुन्छ।’ आफ्नै प्रोडक्सनको नयाँ फिल्म ‘तुम मिल गैलो’को तयारीमा रहेका उनले नेपाली चलचित्रकर्मीले पनि थारु फिल्ममा लगानी गर्नुपर्ने धारणा राखे। ‘बलिउडकै कुरा गर्ने हो भने त्यस क्षेत्रका ठूला निर्माताले भारतमा निर्माण हुने धेरै भाषाका फिल्ममा लगानी गरेका छन्,’ उनले भनिन्, ‘नेपालका ठूला निर्माताले थारु फिल्ममा पनि लगानी गरे तराईको सिने बजारलाई तताउने भोजपुरी फिल्मलाई थारु फिल्मले विस्थापित गर्नेछ।’
भारतमा निर्माण हुने भोजपुरी फिल्मले अहिले तराईको सिने बजारलाई तताइरहेका छन्। तराईको प्रवेशद्वार मानिने वीरगञ्जमा समेत भोजपुरी फिल्म निर्माण हुने भएकाले थारु फिल्मलाई भन्दा भोजपुरी फिल्म हेर्नेको संख्या बढेको छ। ‘थारु भाषामा विविधता छ, तैपनि भोजपुरी र थारु भाषा लगभग उस्तै हो,’ निर्माता प्ररशुरामले भने, ‘थारु भाषामै राम्रा फिल्महरु निर्माण गरेर तराई क्षेत्रमा बोलिने भाषामा डबिङ गर्नसके यसले भोजपुरी फिल्मलाई विस्थापित गर्ने थियो।’ यसले गर्दा नेपाली अर्थतन्त्रमा टेवासमेत पुग्ने उनको तर्क छ। ‘सरकारको ध्यान यसतर्फ नजाँदा नेपाली पैसा विदेशिएको छ,’ उनले भने, ‘नेपाली फिल्मपछिको ठूलो बजार थारु फिल्मलाई सरकारले राम्रोसँग विकास गर्नसके नेपाली अर्थतन्त्रमा टेवा पुग्नेथियो।’ नेपाली फिल्म बजारपछिको ठूलो बजार थारु फिल्म भएकाले यसतर्फ सरकारको ध्यान जान जरुरी रहेको थारु फिल्मकर्मीहरुको भनाई छ।