थारु फिल्म ‘तोहरिक हम भुला न सकली’ दसैंमा

बुटवल- थारु भाषाको फिल्म ‘तोहरिक हम भुला न सकली’ दसैंमा रिलिज हुने भएको छ। ओम शक्ति फिल्मस बुटवलले बनाएको यस फिल्ममा धनी गरिबबीचको भेद्भावलाई मुख्य विषयवस्तु बनाइएको छ। धनी परिवारकी एक युवती र गरिब परिवारको एक युवाबीचको प्रेमकथा फिल्मले देखाउन खोजेको निर्माता हेमराज कठरियाले बताए। ‘केही आधुनिकता र परम्परागत विषयवस्तुलाई समेटेर तयार पारिएको छ’ उनले भने, ‘दसैंमा रिलिज हुँदैछ,अवश्य थारु फिल्मलाई माया गरिदिनुहोला।’उनले समयको मागअनुसार यस चलचित्रमा आइटम गीत पनि समावेश गरिएको बताए।

‘एउटी धनी परिवारकी बिग्रेकी छोरीको भूमिका निभाउँदैछु,’ फिल्ममा डेब्यु गरेकी नायिका बिजु खब्बासले भनिन्, ‘पैसा हैन, छोराछोरीलाई संस्कार दिनुपर्छ भन्ने यस फिल्ममा देखाउन खोजेको छ।’ गोपीकृष्ण टिभीको ‘को बन्द कलाकार’का फस्ट रनरअप दिपक पाण्डेसमेत मुख्य पात्र निर्वाह गर्दैछन्। उनले गरिब भइकन पनि धनी बाबुकी छोरीसँग प्रेम गर्न पुगेको बताए। ‘धनी र गरिबबीच प्रेम बस्दा कस्ता अवरोध आउँछ भन्ने कुरा फिल्ममा देखाइएको छ,’ उनले भने।

अर्का पात्र श्रीनिवास चौधरीले आफूले हिरोइनलाई एकतर्फी माया गरेको बारे खुलाए। ‘म बिज्जुजीलाई एकतर्फी प्रेम गर्छु,’ उनले भने, ‘तर पछि थाहा हुन्छ उनी त अर्कैसँग लभ गर्दारछिन्।’

नयाँ पिढीलाई मध्यनजर गर्दै लभ स्टोरी, एक्सन र पारिवारिक मूलधारमा बनेको यो चलचित्रका निर्देशक विवेक थापा हुन्। उनैले नृत्य निर्देशनसमेत गरेका छन्। त्यस्तै हेमराजका अलवा सावन मर्चाहा पनि यस फिल्मका निर्माता हुन्। सावन मर्चाहाकै गीतमा श्रीनिबास चौधरीले संगीता भरेका छन्।

पाँचवटा गीत समावेश भएको यस चलचित्रमा टाइटल गीत पहिलेदेखि नै चर्चामा छ। बुटवल आसपासका रमणीय स्थलमा छायांकन गरिएको यस फिल्ममा दीपक पाण्डे, बिज्जु खवास, श्रीनिबास चौधरी, चिरन बराल, कलचन्द्र पूरी, प्रदीप खडका र सावन मर्चाहाको मुख्य भूमिका रहेका छन्।

Leave a Reply

Your email address will not be published.