विसर्जनको बाटोमा थारु विद्यार्थी समाज

Kari Mahtoकारी महतो- थारु विद्यार्थी समाज (थाविस) एउटा बौद्धिक थारु युवा विद्यार्थीहरुको साझा संगठन हो । तर यस संगठनमा बौद्धिक थारु युवा विद्यार्थीहरु मात्र नभई अवसरवादी र अन्यत्रबाट सञ्चालित विद्यार्थीहरु पनि आबद्ध रहेको तथ्य विस्तारै खुल्दै गएको छ । थाविस एउटा यस्तो बलियो र सशक्त संगठन हो जसले समग्र थारु समुदायकै हक अधिकार स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्न सक्दछ र खेलीरहेको पनि छ । तर यसलाई उचित तवरले व्यवस्थापन नगरिदा विभिन्न अवसरवादीहरु विभिन्न किसिमका प्रलोभनमा फस्दा सहजै अनुमान लगाउन सकिन्छ कि यसले पतनको बाटो लिएर विसर्जनको खाडीमा ओरालो लागीरहेको छ ।

अब यसलाई समयमै उचित व्यवस्थापन नगर्ने हो भने थारु विद्यार्थीहरुको स्वतन्त्र छाता संगठन थाविस निश्चित रुपमा भयावह दुर्घटनामा फस्दै जान्छ । विराटनगरको पाँचौ महाधिवेशनमा भएको नजिरको रुपमा शुरु भएको घटनाक्रम चितवन सौराहाको छैठौ महाधिवेशन सम्म आइपुग्दाको स्थिति थप जटिल बन्दै गइरहेको छ । निकै सौहार्दपूर्ण रुपमा सम्पन्न भएको पाँचौ र छैठौ महाधिवेसनको उद्घाटन सत्र र पहिलो दिनको बन्द सत्र पछिल्लो समयमा दोस्रो दिनको बन्द सत्रको निर्वाचनकै घडीमा आएर किन अगाडि बढन सक्दैन ? यसको मूल जरो पत्ता लगाई समयमै निराकरण गर्न सकेको खण्डमा अझै पनि केही बिग्रको छैन । तर थाविसका विभिन्न कालखण्डका नेतृत्व तहले विभिन्न समयमा घटेका त्रुटीहरु सच्याउनुको सट्टा बिरालाले दिसा लुकाए जस्तै गरी लुकाउन थाल्नु प्रमुख कारक तत्व हो जसले थाविसलाई विसर्जनको दिशा तर्फ डोर्‍याइरहेको प्रस्ट देखिन्छ ।

त्रुटि र गल्ती सच्याउनु पर्दछ । लुकाउनु हुँदैन । आइपरेको समस्याहरु समाधान गर्दै अगाडि बढ्नु पर्छ तर समस्यालाई थाँती राखीरहनु हुँदैन । तर त्यस्तो केही नहुँदा विद्यार्थी साथीहरुमा नैराश्यता पैदा हुँदै गएको छ ।

छैठौं महाधिवेशनको निर्वाचन सत्र रोकिनुका कारणहरु विभिन्न हुन सक्दछ तर ती बाहेकका पनि अन्य गौण तत्वहरु छन् । ती गौण कारक तत्वलाई पनि निराकरण गरिनु पर्छ । एकातिर पहिचान विरोधीहरुले थारु विद्यार्थीहरुलाई मात्र नभई सम्पूर्ण पहिचान पक्षधरहरुलाई साम, दाम, दण्ड, भेद जस्ता सबै अस्त्रहरु प्रयोग गरीरहेको बेला हाम्रा केही थारु विद्यार्थी साथीहरु झन उनीहरुकै खेलमा रमाई रमाई खेलीरहेका प्रस्ट देखिन्छ ।

ती साथीहरुले बुझ्नु पर्ने कुरा के हो भने रमाइलो वातावरण एकछिनको लागि हुन्छ, दिगो हुन सक्दैन । तर अल्पकालिन खुशीमा रुमलिरहेका साथीहरुलाई सही गाइडलाइन दिनुको सट्टा उनीहरुको खेल हेर्दै मज्जा लिइरहेका जिम्मेवार साथीहरुलाई पनि दुर्घटनाको मुख्य जिम्मेवार मान्न सकिन्छ । त्यसैले छैठौ महाधिवेशनको निर्वाचन सत्र स्थगन पश्चात यस्तो विषम परिस्थितिमा थारु विद्यार्थीहरुका विगतका नेतृत्व तहमा रहेका साथीहरुले विधानत एक ठोस कदम चाल्नु पर्ने आवश्यकता देखिन्छ ।

Tharu Student Socity, 6th Convention at Chitwan, Sauraha-10

विराटनगरको पाँचौ महाधिवेशनमा पूर्व केन्द्रिय पदाधिकारीहरु र केन्द्रिय सदस्यहरुको एक स्थायी परिषद गठन बारे विधान संशोधन प्रस्ताव पारित भएको थियो उक्त संशोधित प्रस्तावलाई क्रियाशील बनाई अहिलेको भ्याकुमलाई पुर्नका लागि जिम्मेवारी वहन गर्दै जहाँबाट प्रक्रिया रोकिएको छ त्यहीबाट केन्द्रिय समिति छनोट गरी अगाडि बढ्नु पर्ने देखिन्छ ।

अन्तमा निराश हुनुभएका साथीहरुलाई निराश नहुनका लागि पनि स्थायी परिषदले आह्वान गर्नुपर्छ । किनभने छैठौ महाधिवेशन पूर्ण रुपमा असफल नै भएको भन्न मिल्दैन । आंशिक रुपमा सफल भएको मान्नु पर्छ । विगत पाँच वटा महाधिवेशन भन्दा सबैभन्दा रौनक तरीकाले उदघाटन सत्र सम्पन्न भएको छ । विगतको महाधिवेशन भन्दा दोब्बर संख्यामा प्रतिनिधिहरु सहभागी भएका छन् ।

बन्द सत्रमा साँगठनिक प्रतिवेदन, कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पारित हुनलाई विद्यार्थी साथीहरुले यसलाई आंशिक सफलताको रुपमा लिनैपर्ने हुन्छ । हो, अन्तिम चरणको प्रक्रियामा केही जटिलता आएकै हो । निर्वाचन मण्डलद्वारा समयमै काम सम्पन्न गर्न नसकिनुको पछाडि त्यही जटिल समस्या समाधान गर्ने क्रममा ढिला हुन गएको हामीले बुझ्नै पर्ने हुन्छ ।

समस्याको समाधानको नतिजा निस्की सकेपछि सुचना गर्न नपाउदै विभिन्न जिल्लाका साथीहरुले हल छोड्नु वहाँहरुको पनि बाध्यता हो । किनकि उहाँहरुले निश्चित समयको लागि सवारी साधन लिएर आउनु भएकोले ढिलाइको कारणले थप आर्थिक भार बहन गर्ने असमर्थतालाई पनि सबैले बुझ्नै पर्छ । तर जे होस् आंशिक सफलता हासिल भएको छैठौ महाधिवेशनको सकारात्मक पाटोलाई संस्थागत गर्न नसकेको खण्डमा निश्चित रुपमा थारु विद्यार्थीहरुको गौरव र गरिमामय छाता संगठन विसर्जनकै बाटोमा ओरालो लाग्ने ठहर गर्न सकिन्छ ।

(लेखक थारु पत्रकार संघ चितवनका जिल्ला अध्यक्ष हुन्)

Leave a Reply

Your email address will not be published.