थारुहरु नेपालका आदिवासी हुन् : प्रधानमन्त्री

DSC07496विर्तामोड- प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा सहयोग गरिदिन थारु समुदायलाई आग्रह गरेका छन्। झापको विर्तामोडस्थित नयाँ बसपार्कमा आयोजित थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशको उद्‍घाटन गर्दै माघ ८ गते बन्ने नयाँ संविधान निर्माणका लागि सहयोग गर्न आग्रह गरेका हुन्।

माघ ८ गते नै संविधान निर्माण हुने दोहोर्‍याउँदै उनले आदिवासी जनजाति तथा थारु समुदायले आन्दोलन नगरी संविधान निर्माणमा सहयोग गर्न आग्रह गरे। ‘थारु आन्दोलनका बेला सरकारसँग सहमति भए, आदिवासी जनजातिसँग सरकारले सहमति भए। ती सबै सहमतिहरु सरकारले चाँडै पूरा गर्नेछ,’ उनले भने, ‘सबैको आ-आफ्नै पहिचान भएकाले पहिले भएका सहमतिहरु चाँडै सरकारले पूरा गर्छ।’ थारुहरु देशका आदिवासीसमेत भएकाले सहयोग गर्ने विश्वास रहेको उनले बताए।

थारु कल्याणकारिणी सभाका पूर्वमहामन्त्री राजकुमार लेखीले माघ ८ गते संविधान नबने सत्ताबाट लखेट्ने र आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्रीले त्यसको जवाफ दिँदै लेखीलाई आन्दोलनको सट्टा संविधान निर्माणमा सहयोग जुटाइदिन आग्रह गरे।

संविधान निर्माणप्रति संसार नै चासो देखाएकाले माघ ८ गते जसरी पनि संविाधन बन्ने उनले विश्वास दिलाए। ‘संविधानप्रति अहिले भारत, चीन, युरोपियन युनियन, अमेरिकाजस्ता देशहरुले चासो देखाइरहेका छन्। त्यतिमात्र हैन, नेपाली जनता पनि संविधानको ब्यग्र प्रतिक्षामा छन्। त्यसैले पनि स्थायित्व, अमन चयनका निम्ति माघ ८ गते संविधान जाी हुन्छ।’

उच्चस्तरीय राजनीतिक संयन्त्रमा नआए पनि संविधान निर्माणमा सहयोगी भूमिका खेलिदिन प्रधानमन्त्री कोइरालाले नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलाई आग्रह गरे। ‘राजनीतिक संयन्त्रमा नआए पनि वैद्यजीले सहयोगी भूमिका निर्वाह गरिदिनुहुन्छ भन्ने विश्वास लिएको छु।’

देशमा चाँडै नै कायापलट हुने बताए। पिटिए/पिडिएजस्ता सम्झौता भइसकेकाले अब नेपालमै पैसा र डलर फल्ने उनले बताए। माओवादी सशस्त्र युद्धको त समाप्ति भएको स्मरण गराउँदै उनले नेपालमा चाँडै नै अमन चैन र स्थायित्व स्थापित हुन गइरहेको दोहोर्‍याएका थिए।

Leave a Reply

Your email address will not be published.