दाङ- पूर्वसभासद शान्ता चौधरी एक बिहान लक्ष्मीपुरको थारू गाउँमा चामल माग्दै हिँडिन्। सभासद् भइसकेकी उनले किन चामल मागिन् त ? सर्वसाधारण छक्क परे? चौधरीले हरेक घरबाट माना-मुठी गर्दै एक क्विन्टल चामल जम्मा गरिन् अनि नजिकैको पसलमा बेचिन्। चुनावी घरदैलो अभियानमा जिल्लाको पहाडी गाविस सैघा जानु रहेछ तर उनीसँग पैसा रहेनछ। अनि चामल बेचेर आएको ३ हजार बोकेर उनी सैघाको उकालो लागिन्। हरेक पार्टीका उम्मेदवार गाडीमा झन्डा फहराउँदै गाउबस्ती पसिरहेका बेला उनी भने मोटरसाइकलमा लिफ्ट मागेर चुनाव प्रचारमा हिँडिरहेकी छिन्।
लिफ्ट दिने मोटरसाइकल चालक मात्रै उनका साथमा हुन्छन्। ‘सबै कुरा पैसै रहेछ,’ उनले भनिन्, ‘मोटरसाइकल नभेटिए हिँडेरै पनि गाउँ जान्छु।’ सभासद् हुँदा कमाएको पैसाले गाउँमै घर बनाएपछि उनी अहिले खर्चविहीन भएकी हुन्। ‘पहिले घर थिएन, कतिदिन अप्ठेरो गरी बस्नु भनेर घर बनाएँ। घडेरी किनेर घर बनाउँदा उल्टै ऋण लाग्यो,’ चौधरीले भनिन्, ‘अब घर बेचुँ कि के गरुँ भन्ने भएको छ।’
एमालेबाट क्षेत्र २ मा उम्मेदवार पूर्वकमलरी चौधरी पहिलो संविधानसभामा समानुपातिक सभासद् थिइन्। जिल्लाका अन्य उम्मेदवारले सुरक्षा गार्ड पनि मागेका छन् तर उनी भने सुरक्षा गार्डलाई कसरी हिँडाउने, के ख्वाउने भन्ने चिन्तामा छिन्। ‘आफैं त कसको मोटरसाइकलमा चढौं भन्ने चिन्ता छ। गार्ड राखेर कहाँ राख्नु, के ख्वाउनु?,’ उनले भनिन्, ‘पार्टीले सहयोग दिन्छ भन्छन् तर अहिलेसम्म एक पैसा पाएको छैन।’ आर्थिक समस्याले पिरोलेपछि उनले शनिबार फेसबुकमासमेत आर्थिक सहयोगको अपिल पोस्ट गरिन्। अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएको अपिलमा उपेक्षित र उत्पीडित नागरिकको आवाज उठाउन निर्वाचनमा सहभागी भए पनि आर्थिक समस्या भएकाले सहयोग गर्न अनुरोध गरिएको छ। ऊर्जाशील समय कमलरी जीवनमा व्यतित भएकाले पनि अहिले यो अवस्था आएको उनले अपिलमा लेखेकी छन्।
आठ वर्षको उमेरदेखि कमलरी बस्न थालेकी शान्ता २०६३ सालसम्म कमलरी थिइन्। १८ वर्षको कमलरी जीवनबाट मुक्ति पाएर एक्कासि सभासद् भएपछि थारू समुदायमा लगाइने लुंगीका साथ काठमाडौ पुगेकी शान्ता त्यति बेला प्राकृतिक स्रोत, साधन समितिकी सभापतिसमेत भइन्। सभासद् भएपछि अक्षर लेख्न सिक्दै अन्तमा उनले ‘कमलरीदेखि सभासद्सम्म’ चर्चित पुस्तक लेखेकी छन्।
– दुर्गालाल कसी/कान्तिपुर दैनिक साभार