गाडीमात्र हैन, खुकुरीको धारमा बाँच्ने मेरा शुभेच्छुकको आँशु जलाए : शान्ता

shanta gadi
प्रचारप्रसार हिँड्ने शान्ता चौधरीको गाडी। इन्सेटमा जलेका टायर। तस्बिर : सन्तोष दहित

सन्तोष दहित, दाङ- नेकपा एमाले क्षेत्र नम्बर २ की उम्मेदवार शान्ता चौधरीको गाडीमा अज्ञात समूले आगजनी गरेको छ। रामपुरको विभिन्न वडामा प्रचारप्रसार गरी बेलुका घर अगाडि पार्किङ गरिएको रा१ज ३६५ नम्बर महेन्द्र जिपमा आगजनी गरेको शान्ताले बताइन्। ‘राति १० बजेसम्म घरमा खानापीन भइरहेको थियो,’ उनले भनिन्, ‘पछि सबै कार्यकर्ता सुतेपछि घट्ना घटेको हो।’ उनका अनुसार गाडीको टायर पूर्णरुपमा जलेको छ।  प्रहरी निरीक्षक राजेन्द्र अधिकारी घटनास्थल पुगेर विवरण बुझेका थिए। उनले घट्ना किन र कतिबेला घटेको भन्नेबारे अनुसन्धान भइरहेको बताए।
प्रचारप्रसारका लागि प्रयोग गर्दै आएको गाडीमा आगजनी भएपछि शान्ता चौधरीको चुनावी अभियान बिथोलिएको छ। शान्ता आज पहाडी गाविस सैघामा जाने योजना बनाएकी थिइन्। उनले आफ्नो विजय सुनिश्चत भएको देखेर विपक्षीहरुले बाधा पुर्‍याएको बताइन्।

shantaआगजनीपछि शान्ता चौधरी फेसबुकमा लेख्छिन‍्:
गएराति मैले भाडामा लिएको गाडीमा अज्ञात समूहले आगो लगायो। त्यो गाडीमात्र जलाइएको थिएन- अरबका खाडी र अफगानिस्तानलगायतका देशमा खुकुरीको धारमा बाँचेर आफ्ना रगत र पसिनाको कमाइबाट आफ्नो र बालबच्चाको गाँस काटेर मेरा शुभचिन्तकले मेरो सहयोगार्थ पठाउनुभएको रगत, पसिना र आँशु पनि जलाउने प्रयास गरियो। लक्ष्मीपुरका घरघरबाट उठाएका चामलका दानाहरूमा पनि आगो झोंसियो। मैले कुनै नव-धनाढ्य वा स्वार्थ-प्रेरित व्यक्तिबाट सहयोग लिएर त्यो गाडी भाडामा लिएकी थिइन्। चाहे नेपालभित्र होस् या परदेशमा- सबैतिरका गरिखाने वर्गको सहयोगमा चुनावी अभियान अघि बढाएकी थिएँ र बढाउँदैछु।
मेरा समस्त शुभचिन्तक दाजु-भाइ तथा दिदी-बहिनीहरू! गाडी जलाउनेहरूले वर्गीय मुक्ति र श्रमजीवी वर्गको पक्षमा मेरो संघर्ष र प्रतिबद्धतालाई जलाउन कदापि सक्ने छैनन्, न त तपाइँहरूले मप्रति देखाउनुभएको सद्‍्भाव, शुभेच्छा र विश्वासलाई नै खरानी पार्न सक्दछन् । यस्ता अवरोधले मलाई कत्ति पनि विचलित पार्न सक्ने छैनन् र म आफ्नो संघर्ष-पथमा निरन्तर लागिरहने छु भन्ने विश्वास तपाइँहरूलाई दिलाउन चाहन्छु।
केही प्रश्नहरू उब्जिएका छन्। शायद गाडीमा आगो झोस्नेहरूलाई एउटा पुस्तौंदेखि आवाजविहीन भएको सीमान्तिकृत समुदायकी महिला अघि बढ्न खोजेको मन परिरहेको छैन। शायद रातदिन पसिनामा डुबेर आधा पेटमा चित्त बुझाउन बाध्य हुने वर्गको आवाज देशको कानुन बनाउने ठाउँसम्म पुग्ला भन्ने कुराहरूले उहाँहरू तर्सिरहनुभएको छ। शायद महिलाहरू, पिछडिएको समुदाय र पुस्तैनी दासताबाट भर्खर उम्केकाहरू स्वाधीनता, अधिकार, स्वावलम्बन र वर्गीय मुक्तिका लागि अघि बढेकोमा उहाँहरूलाई जलन भैरहेको छ।
यस घडीमा मलाइ तपाइँहरूको अझ बढी साथ, सहयोग र समर्थनको खाँचो छ। मेरो लडाइँ व्यक्तिगत प्रतिष्ठाको लडाइँ हैन, श्रमजीवी, देशभक्त तथा सीमान्तीकृत वर्गको प्रतिष्ठा, स्वाभीमान र उत्थानको लडाइँ हो। मलाइ हतोत्साही पार्न खोज्ने यस किसिमका दुष्प्रयासको जवाफ आगामी निर्वाचनमा मलाई तपाइँहरूको अझ बढी साथबाट मात्र दिन सकिन्छ भन्ने मेरो विश्वास छ। अविचलित भइ यस अभियानमा साथ दिनुहुन सबैमा नम्र निवेदन गर्दछु।
– शान्ता चौधरी

Leave a Reply

Your email address will not be published.