रहेनन् हास्यकलाकार गोकुल

Gokulअर्जुन राजवंशी, झापा- हास्यकलाकार गोकुलप्रसाद राजवंशीको आइतबार निधन भएको छ। झापा घैलाडुब्बा–७ निवासी राजवंशीको बिहान २:३० बजे ६९ वर्षको उमेरमा निधन भएको हो। चित्रकला, मूर्तिकला, साहित्यकला र हास्य कलाकारको रुपमा परिचित राजवंशी पछिल्ला वर्षमा ब्लड प्रेसर र मुटुको रोगबाट पीडित थिए। २०१८ सालमा झापाको राजगढमा तात्कालीन राजा महेन्द्रको तथा २०३३ सालमा झापाकै चन्द्रगढीस्थित कलबलगुढीमा पूर्वराजा वीरेन्द्रको सवारी हुँदा उनी विशेष हास्य व्याङ्ग्य प्रस्तुति देखाएर पुरस्कृत भएङ्का थिए।
उनले नेपाल, भारत र बंगलादेशमा आफ्नो हास्यकलामार्फत् विभिन्न प्रहशन दिइसकेका छन्। उनले विशेषगरी राजवंशी समुदायको संस्कृति संरक्षणका लागि पञ्चायतकालमा नाटक प्रदर्शन र २०४६/४७ को जनआन्दोलनपछि चलचित्र निर्माणसमेत गरेका थिए। उनको एक श्रीमती, ५ छोरा र ३ छोरी छन्।
वि.सं.२००० साल भदौ ७ गते उनले राजगढ गाविस वडा नम्बर ३ बुट्टाबारीमा बुबा जितनलाल र माता आमाबतीको जेठा छोराको रुपमा जन्म लिएङ्का थिए। सानै उमेरदेखि कलाकारितामा निपूर्ण उनको परिवार वि.सं. २००६ साल कात्तिकमा घैलाडुब्बामा बसाइ सरेर आएको थियो। उनले घैलाडुब्बास्थित आदर्श माविबाट कक्षा १० सम्मको अध्ययन गरेका थिए। उनले पछि सोही विद्यालयमा शिक्षकको रुपमा काम पनि गरेका थिए। २०२१ सालमा विवाह बन्धनमा बाधेका उनले २०१८ सालमा राजगढमा तात्कालीन राजा महेन्द्रको सवारी हुँदा उनी नेतृत्वको टोलीले प्रस्तुत गरेको ढोल साहाना नाच उत्कृष्ट भएपछि राजा महेन्द्रले उनलाई १६ सय रुपैया पुरस्कार प्रदान गरेका थिए। त्यस्तै उनले २०३५/०३६ सालमा वडा अध्यक्षमा विजयी हासिलसमेत गरे। २०४६/४७ सालमा विश्वास घाट नामक् नाटक प्रदर्शन गरेका उनले २०५३ सालमा निर्माण गरेका विधुतार लेखा नामक् पहिलो राजवंशी फिल्म सर्वाधिक हिट भएको थियो। त्यसपछि उनले २०५८ सालमा अर्को एउटा हिट राजवंशी फिल्म देबसरी निर्माण गरे। यी दुई फिल्मले गोकुलप्रसाद राजवंशीलाई राजवंशीसँगै आदिवासी क्षेत्रमा थप प्रशंसनीय बनायो। त्यसपछि उनले २०६५ सालमा मोर जीवन साथी नामक् राजवंशी फिल्म निर्माण गरे।

कलाकारिता क्षेत्रमा उहाको निरन्तरको यात्राले राजवंशी समुदायको संस्कार, संस्कृति, भाषा, भेषभुषाले वास्तविक माया, मोह र संरक्षण पाएको थियो। तर आइतबार बिहानीको किरणले उनको दर्शन नपाउँदा नेपाली राजवंशी समुदायको मुहार मलीन भएको छ।

Leave a Reply

Your email address will not be published.