थारू गुर्‍वाको ज्ञान

कृष्णराज सर्वहारी- विभिन्न समुदायमा स्वास्थ्य उपचारका लागि परम्परागत पद्धति यद्यापी छ। त्यस्तै थारू समुदायमा हालसम्म गुर्‍वा तथा बैडवा स्वास्थ्य उपचारको संवाहक मानिन्छन्। गुर्‍वाको खास विशेषता, उसलाई आदर गरिने कारण भनेको उसमा निहित मन्टर ज्ञान हो। यहाँ थारू गुर्‍वाहरूको परम्परागत उपचारपद्धति तथा बैडवाहरु (वैद्य) को जडिबुटी ज्ञानबारे चर्चा गरिन्छ।
आछट हेर्ना
गुर्‍वाकहाँ उपचारका लागि आउने जुनसुकै बिरामीलाई झारफुक गर्नु अघि सबैभन्दा पहिला पढिने मन्टरलाई गुरसुरावन भनिन्छ। गुरसुरावन भनेको एक प्रकारको गुरु भक्ति, गुरु स्तुती हो। गुर्‍वाले उपचारको पहिलो चरण आछट हेर्छन्। चामल जोड बिजोड अनुसार रोगीलाई भूतप्रेत लागेको खुट्याउँछन्। गुर्‍वाकहाँ विरामी आफै तथा प्रायः विरामी परिवारका सदस्य पातमा थोरै आछट (अक्षता) लिएर विरामीलाई के भएको हो भनेर देखाउन जान्छन्। गुर्‍वाले फलाना बतन घरको भएको फलानालाई यति समस्या किन भएको हो? कसको कारणले खेल (दुःख) पायो? म बीरा पाऊँ भन्छन्। दुःख दिने तँ पितृ देउता होस् कि? पूजमानी/ठानी, लैहरिक (माईतीको) देउता होस् कि? कुन ठाउँको होस् तँ? भूत पे्रत, देवी दुर्गा, डायन बोक्सी, गहिरी गन्ज्रीक (गहिरो गल्छी), वनवनेर (जंगल) वनझाले/वनताले (बनझाँक्री) को होस् तँ? आदि भनेर गुर्‍वाले दुःख दिनेको परिचय माँग्छ।
पाटी बैठ्ना

आछट हेरेर बिरामी ठीक नभएपछि गुर्‍वाले दोश्रो चरणको रुपमा पाटी बस्छ। गोलाकार सानो प्लेट आकारको माटाको पालामा खाने तेल राखी, रुवाको बाटी बनाएर सल्काई कसुंगाको कैन बनाएर हल्लाउँदै मन्टर गुनगुनाएर पाटी बसिन्छ। पाटी बस्दा शुरुमा दीयोलाई स्थिर भएर बस्न मन्टर पढिन्छ। जस्तोः
सुनको दीयो, रुपको डोरी, मैले बसालेको बस्, मेरो गुरुले बसालेको बस्, ए दीयो ढुंगाझैं स्थिर भएर बस्। माथिको मन्टर भन्न बिर्सिएमा बोक्सीले कैन काटेर गुर्‍वाको छातीमा खस्ने सम्भावना हुने उनीहरू बताउँछन्।
गुरै कर्ना
आछट हेरेर, पाटी बसेर पनि बिरामी ठीक नभएमा गुरै गरिन्छ। यी तीनै क्रियाकलापमा गुर्सुरावन, सम्वन्धित रोगको मन्टर तथा अन्तमा देउतालाई धन्यवाद दिन दुहाईको मन्त्रोच्चारण गरिन्छ। आछट हेर्ने तथा पाटी बस्ने काम गुर्‍वा एक्लैले सम्पन्न गर्छ भने गुरै गर्न उसलाई सहायक केशौका चाहिन्छ। ब्यक्तिगत गुरैबाहेक हरेरी, असारी लगायत सामूहिक पूजामा गुरै गर्न पालो अनुसार प्रत्येक घरबाट नगद उठाई चल्ला किनिन्छ।
मन्टर ज्ञान
गुर्‍वाले धेरै मन्टर ज्ञान राख्छन्। जस्तो आधा कपाल दुःखेमा अधकपारी फुक्ने मन्टर, पुरै कपाल दुःखेमा कपारबठ्ठी मन्टर, पेट दुःखेमा पेटबठ्ठी फुक्ने मन्टर आदि। त्यस्तै, बोक्सी बहकाउने मन्टर, डंकिनी बोलाउने मन्टर, डायन मार्ने मन्टरदेखि दुश्मनले छाडेको बाँन (मन्टर बाण) बीच बाटोमै मन्टरले रोक्न सक्ने क्षमता, कथम्कदाचित दुश्मनले हुलका (रगत छाद्ने) बाँन हानी सकेको अवस्थामा रोक्ने मन्टर पनि कतिपय गुर्‍वाले राख्छन्।
महिलाहरूको प्रायः समस्या महिनावारीको बेला हुन्छ। महिनावारी नभएमा, अनियमित भएमा, केही कारणले बिग्रेमा महिनावारी बनाउने मन्टर ज्ञान पनि थारू गुर्‍वाले राख्छन्। नियमित महिनावारी भएर पनि बच्चा नजन्मिए बाँझो कोख हराभरा पार्ने मन्टर, त्यस्तै एक बच्चा भएर अर्को नभएमा आधा कोख जगैना मन्टर पनि फलाक्छन्। युवाका कुरा काट्न नसकेर कोहीले त युवतीलाई मोहनी मन्टर पनि लगाइदिन्छन् तर यस्ता गुर्‍वालाई समाजमा राम्रो मानिदैन।
राती कतै जाँदा पढिने मन्टर, सुजी लोहार घर जानेबेला पढिने मन्टर, कुकुर बाँध्ने मन्टर, राती सुत्नेबेला पढिने मन्टर, आधा रातमा चोर नलाग्ने मन्टर, हैजा भएमा गाउँमा पस्दा पढिने मन्टर ज्ञान पनि गुर्‍वाले राखेका हुन्छन्। कुर्कुच्चा दुःखेमा, जिउ दुखेमा, घाँटी सुन्निएमा पढिने मन्टर, आँखामा फुलो परेमा फुक्ने मन्टर, लगातार ज्वरो आइ निको नभएमा जन्टर बनाउँदा पढिने मन्टर, आँखा आधा रातो भएमा फुक्ने मन्टर, भीडभाडमा मुुर्छा परे झकाउ, दवाउको मन्टर पनि गुर्‍वासँग हुन्छ।
बिहे, मृत्यु आदिमा सामूहिक भोज गर्दा खाना राम्रो पाकोस् भनेर तेल साज्ने मन्टर, असिना पानी रोक्ने मन्टर, आगलागी भएमा फुक्ने मन्टर अर्थात् आगो कम गर्ने मन्टर, आगो बाँध्ने मन्टर पनि गुर्‍वाहरूले जानेका हुन्छन्। कैलालीका डेशबन्ढ्या गुर्‍वा भलमन्सा चौधरीले ब्यापार, ब्यावसाय नचलेमा राज मोहनी मन्टर पढेर सुनाएका थिए।
गुर्‍वाहरूको जडिबुटी ज्ञान र वैज्ञानिक परीक्षण
प्रायः सबै थारू गुर्‍वाहरू जडिबुटीबारे ज्ञान राख्छन्। उनीहरु पशुको रोगको उपचार समेत गर्छन् तर थारू बैडवा (वैद्य) हरूले मन्टरको तुलनामा जडिबुटीको प्रयोग बढी गर्छन्। अझ केही बैडवाहरूसँग कुनै मन्टर ज्ञान पनि हुँदैन। थारू आदिवासी जडिबुटी ज्ञान र यसको अभ्यास पुस्तक (२०६६) मा थारू बैडवाहरूले प्रयोग गर्ने ३ सय ३९ प्रकारको जडिबुटीको संकलन र प्रयोग विधिबारे वर्णन छ।
२०६५ सालमा यो पंक्तिकार बैडवा शिवलाल चौधरी तथा जडिबुटी ज्ञान राख्ने उनकी आमा वैडीन्या प्रदेशनी चौधरीको घर चुहा–५, ठाकुराद्वारा, कैलाली गएको थियो। चुहा क्षेत्रमा प्रख्यात वैडवा भनेर यिनलाई जानिँदो रहेछ। यिनले क्यान्सर र एचआइभी एड्सबाहेक सबै रोगको औषधी दिने गरेको बताए। आफूहरूले रोगीको नाम दर्ता नगरेपनि निमोनिया रोगी सोह्र हजार बढीलाइ ठीक गरेको दाबी गरे। ठूला अस्पतालमा औषधी गरेर निको नभएकाहरू आउने तथा तिनका एक्सरे रिपोर्ट आदि हेरेर जडिबुटी औषधी दिँदा रहेछन्।
शिवलालले निमोनियाको लागि छत्तीस प्रकारको औषधी मिलाएर जन्टर बनाउने तथा त्यो धुपाएर मंगलबारको दिन मात्रै बाँध्ने गरेको बताए। सधैँ जडिबुटी औषधी बनाइरहेकोले हातमा औषधीको असर हुँदा निमोनिया भएका केटाकेटीको टाउकोमा आफ्नो हात राख्ने बित्तिकै आधा रोग दूर हुने उनले सुनाएका थिए। अझ तिनले ३६ प्रकारको औषधी मिलाएर बनाएको जन्टरको प्रसंगले मलाई छक्क पारिरहेको थियो। मलाई पत्यार नलागेपछि ती औषधी बारे साधेँ। उनले फटाफट नाम टिपाए–
(१) परेवाको दिशा (२) मुसाको दिशा (३) विजयसाल काठको टुक्रा (४) सालक माछाको खपटा (५) घघांेरको लठ्ठी (६) टिपुरको लठ्ठी (७) हुक्का काठ (८) मन्चिटा काठ (९) सेंउहार (सिउँडी) (१०) बाघको दुध (११) गरुलको हाड (१२) सारसको हाड (१३) हात्तीको हाड (१४) शाहीको हाड (१५) जामुनको बोक्रा (१६) गोहीको हाड (१७) गौलोचन (१८) भोजपत्र (१९) सिसा (२०) रेलको टिकट (२१) डुंगामा ठोकिने किला (२२) हठ्ठा जोरी (२३) चौरी गद (२४) विषमारी ढर्रा (२५) रक्तचन्दन (२६) भँवाइ (२७) छतिवन (२८) पर्झी (२९) मौंहराइन फल (३०) भवंर मेट (३१) अग्यारी खर (३२) झरबरवा (३३) बटुल्या (३४) उल्टा कुँर (३५) अँख्चिम्काको जरा (३६) बरियारा।
जन्टरमन्टरको सामान्य विभेद के हो भने जन्टरले शरीरसँग टाँसेर प्रभाव उत्पन्न गर्छ भने मन्टर शव्द रुपमा प्रभाव उत्पन्न गर्छ। तर बैडवा शिवलालले यी छत्तीस थरीका औषधीको नाम टिपाएपछि मलाई उनको जडिबुटी ज्ञानमै अविश्वास हुन गयो। यिनले लोककथामा सुनिने बाघको दुध कहाँबाट ल्याउँदा होलान्? प्रतिबन्धित हात्ती, गोहीको हड्डी, रक्तचन्दन काठको कसरी जोहो गर्दा होलान्? तिनले महिलाको महिनावारी बिग्रेमा, लगातार रगत बगेमा पनि करीब दर्जन जडिबुटी मिलाएर जन्टर बनाउने गरेको बताए। महिनावारी बिग्रेकोमा पनि बाघको दुध सिफारिश गरेका थिए। तिनले जन्टर बनाएको पारिश्रमिक जम्मा १०१ रुपिँया लिने गरेको सुनाएपछि मलाई लाग्यो, यिनको जन्टरमा परेवा र मुसाको दिशा र केही जडिबुटी मात्रै हुँदो हो।

२०६९ साउन २० र २१ गते दाङदेउखुरीको चैलाही गाविसस्तरीय गुर्‍वाहरूको गोष्ठीमा उपस्थित करीब १८ जना सबै गुर्‍वाहरूले आफूहरूले धेरथोर जडिबुटी ज्ञान राख्ने बताएका थिए। तर आधुनिक औषधीको प्रभावले जडिबुटी औषधी खोज्न आउने सेवाग्राही कमै भएकोले आफूहरूले जानेको सीप पनि विर्सिन थालेको उनीहरूको भनाई थियो। थारू वैडवा ज्ञानको जडिबुटीको प्रयोगबाट मृगौला, पिसाबथैलीको पत्थरीका विरामी निको भएका छन्। हड्डी मर्किएका विरामी झन् चाँडै निको भएका छन्। विना अपरेशन हाइड्रोशिल हर्निया आदि रोग ग्यारेन्टीका साथ निको पार्ने जडिबुटी ज्ञान पनि छ। तर अब वैज्ञानिक परीक्षण विना थारूहरूको परम्परागत ज्ञानलाई कसैले पत्याउनेवाला छैन। यदि यस ज्ञानलाई वैज्ञानिक आधार तयार गर्ने हो भने थारू बैडवा तथा गुर्‍वा ज्ञानलाई वैज्ञानिक रुपमै विश्लेषण, बहस र अनुसन्धानको खाँचो छ।
(साभारः २०६९ चैत १०, गोरखापत्र)
प्रस्तुत लेख लेखकको थारु गुर्‍वा र मंत्र ज्ञान (२०६९) पुस्तकमा आधारित छ।

Leave a Reply

Your email address will not be published.