छविलाल कोपिला, देउखुरी- साउने बर्षेझरी झैं निरन्तर पानीको वर्षा, लोकवस्ती भन्दा करिब ३ किलो मिटर पर, त्यो पनि अन्कन्टार जंगलभित्र। कैयौं फेरा एउटा जीप, केही मोटरसाइकल र केही मानिसहरु ओहोर–दोहोर गरिरहँदा धेरैको मनभित्र एक किसिमको उत्सुकता, एक किसिमको चासो अनि वास्तविकता बुझ्न मनभित्र उकुस–मुकुस। बिहान करिब १० बजेदेखि अर्को दिन दिँउसो १ बजेसम्म अबिराम बर्षेझरीमा पनि मानव–सवार जीपको ओहोर–दोहोरले त्यो परिवेश नै भिन्नै बनायो।
यता कार्यक्रमका सहभागीहरु आ–आफ्ना प्रस्तुतिका लागि निकै उत्साहित देखिन्थे। तर, समय र झरीले उनीहरुको मनमा थोरै निराशाका भावहरु पनि झल्किएको प्रष्टै देखिन्थ्यो। नृत्यका लागि आएको नृत्य समुह अनुकुलताको प्रतीक्षामा थियो। थारु मौलिक पहिरनमा रहेका नृत्याङ्गनाहरु त्यो कार्यक्रमको आकर्षण भिन्नै बनाएको थियो। पानी अविराम परिरहेको थियो। लामो प्रतीक्षामा पनि पानी नथामिएपछि उनीहरुको धैर्यताको बाँध फुट्यो र झरीमैं नाचें।
सन्दर्भ थारु भाषा तथा साहित्य संरक्षण मञ्च देउखुरीले प्रकाशित गर्दै आएको थारु भाषाको एक मात्र साहित्यिक पत्रिका ‘लावा डग्गर’ त्रैमासिकको चौथो वार्षिक उत्सव तथा स्रष्टा सम्मान एवम् बृहत साहित्यिक अन्तर्क्रिया कार्यक्रमको हो। कार्यक्रममा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, काठमाडौं जिल्ला लगायतका थारु साहित्यकार, लेखक तथा कविहरु एउटै मञ्चमा जुटे र आफ्ना सारगर्भिक विचारसंगै सिर्जना पनि प्रस्तुत गरे।
झण्डै ५० जनाको सहभागिता रहेको कार्यक्रममा थारु समुदायका प्रतिनिधिहरुको मात्रै एकलौटी सहभागिता रहेन, गैरथारु साहित्यकर्मीहरुले पनि संस्थागत रुपमा प्रतिनिधिमुलक सहभागिता जनाए। देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष हरि पोख्रेल, लेखक संघ दाङका सदस्य हिमोढ पहाडी, अवधी सांस्कृतिक विकास परिषदका नागेन्द्रप्रसाद यादव, पत्रकार शिवराज पन्थी र रक्तिम परिवारका केन्द्रीय सल्लाहकार एवं थारु जनसांस्कृतिक मञ्चका संयोजक नारायण योगी लगायतले कार्यक्रमको सफलताको शुभकामनासंगै आफ्ना रचनात्मक सुझावहरु पनि दिए। उनीहरुले कुनै एउटा भाषा, एउटा जाति, एउटा धर्मभन्दा पनि सबैको भाषा, संस्कृतिको सम्मान र भावनात्मक एकता ठूलो हो, भने। तर, आफ्नो मौलिक पहिचान र अस्तित्वको लागि सबै समुदायले आ–आफ्नो भाषा, साहित्य र संस्कृतिको संरक्षणमा जुट्नुपर्ने कुरा पनि राखे। भौगालिक विविधतासंगै भाषिक तथा सांस्कृतिक रुपमा समेत विविधता रहेको नेपालमा, हामी सबै नेपालीहरुले एक अर्काको मौलिक भाषा, संस्कृति र अस्तित्वलाई स्वीकार्नु पर्ने र यसैले नै सामाजिक, सांस्कृतिक तथा भावनात्मक एकताका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए।
यता थारु साहित्यकारहरुले पनि आफ्नो भाषा र साहित्य र संस्कृतिको बारेमा जामेरै छलफल गरे। उनीहरुले आफ्नो मातृभाषाका विषयमा अलि बेसी छलफल गरे। ठाउँ अनुसार सामान्य उच्चारणमा केही भिन्नता रहेपनि मूल भाषा भने एउटै रहेको कुरामा सबैले कार्यक्रममै सहमति जनाए। तर, थारु भाषाको मानक भाषा बन्न नसकेकोमा भने सबैले चिन्ता व्यक्त गरे। यसको लागि बौद्धिक एवं भाषाविदहरुबीच बृहत छलफलबाट समयमा मानक भाषा तयार गर्नु पर्ने आवश्यकता महसुस पनि गरे। भाषा, संस्कृति र कलाको धनी मानिने थारु समुदायका अधिकांश थारु लेखकहरु अन्य भाषा, साहित्य र संस्कृतिको प्रभावमा परि कलम चलाइरहेकोले आफ्नो मौलिक साहित्य ओझेल पर्दै गएकोमा दुःख पोखे। थारु समुदायमा गाइने पर्व गीत, ऋतु गीत, हरेक प्रहर–प्रहरमा गाइने लोक गीत, उखान टुक्का, गाउँखाने कथा, लोक कथा लगायत विभिन्न विधाका साहित्यहरु रहेपनि यसप्रति कसैको ध्यान पुग्न नसकेकोले लोप हुने अवस्थामा पुगेको निष्कर्ष निकाले र यसको लागि नयाँ पुस्ताको ठूलो भूमिका रहने बताए।
कार्यक्रममा भने अधिकांशले स्रष्टाहरुले लोकलयमै आफ्नो सिर्जना प्रस्तुत गरे। कैलालीकी चम्फा चौधरीले धमार, सजना, देउखुरीकी हिराकुमारी चौधरीले सजना मार्फत नारी संवेदना र पीडाहरु पोखे भने बर्दियाका सुशील चौधरी, देउखुरीका गेदुलाल चौधरी, छविलाल कोपिला, कैलालीका सागर कुश्मी लोक गीत मार्फत थारु समाजको प्रतिविम्व छर्लंङ्ग पारे र गीत मार्फत नै अधिकार पनि खोजे। यसैगरि कार्यक्रमलाई अझ उर्जाशील बनाउन साहित्यकार कृष्णराज सर्वहारी, बाँकेका सोम डेमनडौरा, बर्दियाका ठाकुर अकेला, कपिलवस्तुका रामप्रकाश चौधरी, देउखुरीका बालगोविन्द चौधरी, शिवहरि चौधरी, केवल चौधरी, शेरबहादुर चौधरी लगायतले कविता, गजल, मुक्त मार्फत विकृति र विसंगतिका विरुद्ध आवाज उठाए, भने कैलालीका चित्रबहादुर चौधरीले ‘फाटल् गोनियाँ हेर्टी ठिक्क’ भन्ने व्यंग्य लेख मार्फत थारु समाजमा रहेको गरीबी बारे वास्तविकता चित्रण प्रस्तुत गरे। तर, काठमाडौं लगायत कपिलवस्तुदेखि कैलालीसम्मका स्रष्टाहरु जम्मा भएको कार्यक्रममा चुरेको पल्लो दाङ अर्थात दाङ भनेर चिनिने घोराही र तुलसीपुरका एक जनाको पनि सहभागिता नहुँदा कता–कता खल्लो महसुस भएको थियो।
यसै अवसरमा मिरमिरे रेडियो श्रोता क्लब चैलाही–८ उत्तर मजगाउँले आफ्नो नृत्य प्रस्तुत गरेको थियो। थारु जातिको मौलिक परिहन आएका नृत्यु समुहमा दिनभरिको अविराम झरीले असहजता ल्याएपनि उनीहरुले पानीमा रुझेरै भएपनि आफ्नो कला देखाएका थिए।
कार्यक्रममा थारु भाषा तथा साहित्यका विभिन्न विधामा योगदान पुर्याएका चार जना स्रष्टाहरु सम्मानित भए। जसमध्ये लामो समयदेखि थारु र नेपाली भाषा साहित्यमा निरन्तर कलम चलाउने स्रष्टा कृष्णराज सर्वहारी (काठमाडौं), थारु र नेपाली भाषामै पत्रकारिता तथा साहित्य लेखन, विशेष व्यंग्य लेखनमा सक्रिय स्रष्टा चित्रबहादुर चौधरी (कैलाली), थारु लोकगीत लेखन तथा गायन दुबैक्षेत्रमा योगदान पुर्याएका गेदुलाल चौधरी र ‘लावा डग्गर’ त्रैमासिक पत्रिकामा निरन्तर विज्ञापन उलब्ध गराउने विज्ञापनदाता सरस्वती हार्डवेयर सिसहनियाँ–४ पिपरीका चिन्तामणि चौधरीलाई सम्मान–पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
२०६६ साल माघ माघ महिनादेखि प्रकाशन प्रारम्भ थालेको ‘लावा डग्गर’ त्रैमासिक पत्रिका अहिले १३ औं प्रकाशित गरिसकेको छ। जिल्ला प्रशासन कार्यालयमा दर्ता भई नियमित प्रकाशन हुने थारु भाषाको यो दाङको मात्र नभई नेपालकै एक मात्र साहित्यिक पत्रिका हो। यो पत्रिकाले विभिन्न समयसंगै विभिन्न विषयमा विशेषाङ्कहरु प्रकाशित गरिसकेको छ। विशेष मध्य तथा सुदूरपश्चिमी थारु भाषामा प्रकाशित हुने यो पत्रिकाको आगामी १४ औं अंक भने बाँके–बर्दिया बिशेषाङ्कको रुपमा प्रकाशित हुने भएको छ। सो अंकमा बाँके र बर्दियाका स्रष्टाहरुको मात्र सिर्जना रहने छ भने यसको लोकार्पण पनि बैशाखको पहिलो साता बर्दियामा नै हुने बताइएको छ। भाषा सम्पादन तथा व्यवस्थापनका लागि बाँकेका सोम डेमनडौरा र बर्दियाका ठाकुर अकेलालाई जिम्मेवारी समेत कार्यक्रमले तोकेको छ। पत्रिकाको यस्तो योजनाले एक आपसमा भावनात्मक सम्बन्ध प्रगाढ हुने, बजार व्यवस्थापनमा सहज हुने र सबै क्षेत्रमा बोलिने थारु भाषाको समावेशी हुने भएकोले आगामी दिनहरुमा पनि अन्य जिल्ला विशेषाङ्क निकाल्नु पर्ने सहभागीहरुले सुझाव दिएका थिए।
छलफलकै क्रममा ‘लावा डग्गर’ त्रैमासिकले संरक्षक सदस्य, आजीवन सदस्य वितरण गर्ने छलफल गरेको छ। संरक्षक सदस्यका लागि गैरथारुहरुले समेत सदस्यता लिन सक्ने बताइको छ।
थारु कल्याणकारिणी सभा क्षेत्रीय समिति क्षेत्र नं. १ देउखुरी, नेपाल आदिवासी/जनजाति महासंघ, देउखुरीका समन्वय परिषदहरु र देउखुरीस्थित गाविसहरुले व्यवस्थापन सहयोग गरेको कार्यक्रम, मञ्चका अध्यक्ष एवं पत्रिका प्रधानसम्पादक छविलाल कोपिलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि थारु भाषाको पहिलो पत्रिका ‘गोचाली’का संस्थापन सदस्य भगवती चौधरी रहनु भएको थियो। सचिव पुरन पुकारको संचालनमा भएको कार्यक्रममा रामप्रकाश चौधरीले स्वाग गरेका थिए।
फागुन ५ र ६ गते देउखुरीको गोबरडिहामा रहेको प्राकृतिक उपचार पद्दतिको विकास र पर्यटकीयस्थलको रुपमा समेत ठूलो सम्भावना बोकेको ऐतिहासिक भूमि ‘जंगलकुटी’मा गरिएको यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने थानिएको छ। काठमाडौ लगायत मध्य तथा सुदूरपश्चिमाञ्चलका थारु स्रष्टाहरुको एकै ठाउँमा छलफल गरिएको त्यस कार्यक्रममा ‘जंगलकुटी’का पूजारी देवीसिंह चौधरीले बाधनाथ बाबा जंगलकुटीको बारेमा विस्तृत जानकारी गराउनु भएको थियो।
वि.सं. १८७९ सालमा भुवनेश्वर नाथले स्थापना गरेको जंगलकुटीको प्रचार–प्रसारको अभावमा ओझेल परेको छ। सहभागी सबैले आ–आफ्नो क्षेत्रबाट प्रचारातम्क लेख आ–आफ्नो संचार माध्यमबाट प्रसारण प्रकाशन गर्ने प्रतिबद्धता जाहेर गरे।
समग्रमा यो कार्यक्रमले मध्य तथा सुदूरपश्चिमाञ्चलका स्रष्टाहरु बीच समन्वयात्मक भूमिका खेलेका छ। यसले धेरै गम्भीर–गम्भीर प्रश्नहरु पनि उठाएको छ। सबैलाई कर्तव्यबोध तथा जिम्मेवारीबोधको लागि पनि झकझकाएको छ। यसकारण आगामी दिनमा थारु लेखक एवं साहित्यकारहरुले आफ्नो मौलिकतालाई आधार बनाई र छलफलमा उठेका विषयवस्तुमा केन्द्रित रही सिर्जना गर्नु पर्ने उत्प्रेरणा प्रदान भएको छ। दाङ—देउखुरीमा पहिलो पटक विभिन्न जिल्लाहरुका स्रष्टा छलफल भएको यो ऐतिहासिक कार्यक्रमले देउखुरीवासीको पनि शीर उचो गराएको छ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर