राष्ट्रपतिले गतिरोध अन्त्य गर्न सहमतिको सरकार घोषणा गर्नुपर्छ : महत

काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा रामशरण महतले दलहरूका बीचमा सहमति कायम हुन नसके राष्ट्रपतिले गतिरोध फुकाउनका लागि निर्वाचन र सहमतिको सरकार घोषणा गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा उनले पटकपटक राष्ट्रपतिबाट सहमतिका लागि दलहरूलाई बोलाउनुभन्दा अब राष्ट्रपतिले ढिला नगरी दलहरूलाई एक साताको समय दिएर गतिरोध अन्त्यका लागि आफैं अग्रसर हुनुपर्नेमा जोड दिए।
नेता महतले एकीकृत नेकपा (माओवादी)ले कुनै पनि हालतमा सत्ता नछाड्ने ठोकुवा गर्दै सहमतिको सरकार गठन गर्न सात दिनको समय दिने र सो अवधिमा पनि सहमति कायम हुन नसके आफैँ संविधानको धारा ३८ को १ बमोजिम सहमतिको सरकार गठन गर्न अघि बढ्नुपर्ने बताए।
‘निर्वाचनको मिति घोषणा, निर्वाचित हुनेको सङ्ख्या, निर्वाचनको विधि र राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा राष्ट्रपतिले दलहरूलाई समयसीमा तोक्न आवश्यक छ,’ उनले भने– ‘संसद नभएको वर्तमान अवस्थामा अनियन्त्रित भएको सरकारलाई अंकुश लगाउने एकमात्र निकाय राष्ट्रपति भएकाले अब राष्ट्रपतिलाई विवादमा ल्याएर सत्ताकब्जाको अभिष्ट पूरा गर्ने रणनीतिमा रहेको एमाओवादीलाई सत्ताच्यूत गर्नुपर्छ।’

उनले बजेटले आसन्न निर्वाचनलाई प्रभाव पार्न नहुने भएकाले सहमति आवश्यक रहेको भन्दै चालु विकासको खर्च, निर्वाचन र चालु खर्च सञ्चालन गर्ने गरी मात्रै बजेट ल्याउनुपर्छ र नयाँ कुनै पनि कार्यक्रम राख्न नहुने स्पष्ट पारे।
निजी क्षेत्रले पूर्ण बजेटको लागि दबाब दिइरहेको विषयमा असन्तुष्टि प्रकट गर्दै नेता महतले बजेट निजी क्षेत्रलाई मात्र नभई पुरै मुलुकलाई चाहिएकाले राजनीतिक मुद्दा समाधान नभई पूर्ण बजेट आउनै नसक्नेसमेत बताए। रासस

Leave a Reply

Your email address will not be published.