प्रधानमन्त्री युएई जानेभएपछि माघी महोत्सवको उद्‍घाटन सभामुखले गर्ने

थारु राष्ट्रिय माघी महोत्सवको उद्‍घाटन सभामुख ओनसरी घर्ति मगरले गर्ने भएकी छन्। थारु विद्यार्थी समाजलगायत २८ वटा संस्थाले संयुक्तरुपमा आयोजना गर्न लागेको माघी महोत्सवमा यसअघि प्रधानमन्त्रीले पुष्पकमल दाहालले उद्घाटन गर्ने तय भएको थियो। तर प्रधानमन्त्री दाहाल माघ १ गते युएई भ्रमणमा जाने टुंगो लागेपछि विकल्पमा रुपमा सभामुख ओनसरी बोलाइएको आयोजकले जनाएको छ।

शुक्रबार राजधानीमा बसेको मूल आयोजक समितिको बैठकले पुस २९ र माघ १ गते महोत्सव आयोजना हुनेछ। संयोजक चन्द्रप्रसाद चौधरीका अनुसार पुस २८ गते तीनकुनेदेखि टुडिखेलसम्म मोटरसाइकल र्‍याली हुनेछ। २९ गते बिहान ८ बजेदेखि रेडक्रसको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ। सोही दिन थारु माग मुद्दा र सबालमा अन्तर्क्रिया गरिनेछ।

अन्तर्क्रियापछि २९ गते साँझपख मनोरन्जन कार्यक्रमसँगै जीतामार्ना कार्यक्रम आयोजना गरिने संयोजक चौधरीले जानकारी दिए। पश्चिमका थारुहरुले माघीमा जीतामार्ना गरेजस्तै महोत्सवमा मौलिकपन झल्काउनका लागि यस्तो कार्यक्रम आयोजना गर्न लागिएको चौधरीले बताए।

उनका अनुसार माघ १ गते झाकी र्‍याली, उद्‍घाटन सत्र र राष्ट्रियस्तरको कलाकारहरुको प्रस्तुती रहनेछ। कार्यक्रमको थारुवान डटकमले प्रत्यक्ष प्रसारण गर्ने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published.