थारु पत्रकार संघ मोरङ अध्यक्षमा गच्छदार

सुनिल चौधरी/मोरङ।

थारु पत्रकार संघ नेपालले तराईका २६ वटा जिल्लामा आफनो शाखा बिस्तार गर्ने क्रममा पूर्वको मोरङमा बुधबार शाखा गठन गरेको छ। संघका केन्द्रीय कोषाध्यक्ष शैलेन्द्र चौधरीको प्रमुख आतिथ्यमा एल.एन गच्छदारलाई अध्यक्ष पदमा सर्वसहमतिले चयन गर्दै सात सदस्य समिति रहनेगरी मोरङ शाखा गठन गरेको हो।

नेपाल पत्रकार महासंघ शाखा बिराटनगरको सभाहलमा गठन भएको नयाँ कार्यसमितिमा उपाध्यक्ष मीना विश्वास, कोषाध्यक्ष सञ्जु चौधरी, सचिव सुरुजकला माझी, सहसचिव आरती चौधरी, सदस्यमा रमेश चौधरी र कल्पना चौधरी छन्। सल्लाहकारमा प्रदीप भगत, देवराज चौधरी, कल्पना चौधरी, निरा भगत र जागेश्वर विश्वास छन्।

थारु कल्यानकारीणी सभा मोरङका अध्यक्ष प्रदीप भगतको सभातित्वमा भएको कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष चौधरीले शाखा विस्तारले थारु पत्रकार एउटै छातामुनि रहेर पत्रकारिता गर्दा थारुको माग मुद्दामा बल पुग्ने बताए। केन्द्रले तराईको २६ वटै जिल्लामा गठन गर्ने अभियान चलाएको समेत चौधरीले बताए।

नेपाल पत्रकार महासंघ शाखा मोरङमा १ सय २८ जना पत्रकारहरुले सदस्यता लिएका छन्। तर विभिन्न मिडिया हाउसमा आठ वर्षदेखि कार्यरत रहेका एक दर्जन थारु पत्रकार कसैले पनि साधारण सदस्यसमेत लिन सकेका छैनन्। थारु पत्रकारलाई बेचेर मिडिया हाउस चलाइरहेको तर मिडिया मालिकले सदस्यताका लागि पहल नगरेको मधेसी पत्रकार संघ मोरङका अध्यक्ष श्याम सुन्दरले बताए।

विभिन्न जिल्लामा शाखा विस्तार भइरहेको अवस्थामा यसको सुरुवात गर्नु नै थारु समुदायका लागि उपलब्धि भएको उपस्थित अतिथिहरुले बताएका छन्। कार्यक्रममा थाकस केन्द्रीय पार्सद देवराज चौधरी, थाकस जिल्ला सचिव जागेश्वर विश्वास, थारु महिला सभा मोरङ अध्यक्ष कल्पना चौधरी, कानुन ब्यवसायी रिना भगतलगायतका अतिथिहरुको उपस्थिति थियो। थारु पत्रकार संघ सुनसरीका अध्यक्ष कुलदिप चौधरी, सचिव सुनिल चौधरी, सदस्य कमला चौधरी, सल्लाहकार धिरेन्द्र चौधरीको पनि उपस्थिति थियो

Leave a Reply

Your email address will not be published.