सन्तोष दहित/दाङ।
हिन्दुहरुको हरीतालिका तीज संगै थारु गाउँ गाउँमा पनि आजदेखि अट्वारी पर्वको रौनक छाएको छ । हरेक वर्षको एकचोटि मनाइने आदिवासी थारु समुदायले अट्वारी पर्वलाई दोस्रो पर्वको रुपमा मनाउदै आएकाछन् । यदपि अट्वारी कुन दिन मनाउने भन्ने विषयमा नेपाली क्यालेण्डरमा तिथीमिति भने उल्लेख गरिएको छैन । सरकारी क्यालन्डेमा त झन परैको कुरा भयो । तर, पनि थारु अगुवाहरुको अनुसार हरेक वर्ष कृष्णजन्मन अष्टिमी पछिको दुइ आइतवार अर्थात १२÷१३ दिन पछि अट्वारी पर्व मनाउदै आएका छन् ।
थारु कल्याणकारिण सभा दाङका सभापति तेजमान चौधरीले यसवर्षको अट्वारी आज १९ गते अर्थात नेपाली महिला दिदीवहिनीहरुको हरतालिका तीजको दिन परेको बताउनुभयो । जन्मअष्टिमीको पछिको दुइ आइतवार अर्थात भाद्र महिनाको कुशे औसीको पछिको पर्ने आइतवारको दिन थारु समुदालका पुर्खाहरुले अट्वारी मनाउदै आएकोले आजको दिन थारु समुदायले अट्वारी मनाउन लागेको चौधरीले बताउनुभयो ।
उहाँको अनुसार अट्वारी पर्व थारु समुदायका (पुरुष) ले मात्र मनाउने गर्दछन् । ‘अट्वारी पर्वको अगाडीको रात अर्थात शनिबारको राति १ बजे उठि विभिन्न मिठा मिठा परिकार पकाएर दर खाने चलन रहेको चौधरीले भन्नुभयो,–‘दर खाइसकेपछि आइतबारको दिन भरि ब्रत बस्छौं ।, हामीलाई सहयोग गर्नलाई महिलाहरुले पनि ब्रत बस्नुहुन्छ ।’ ‘महिलाहरुले अट्वारीको लागि पूजापाठ गर्ने कोठमा निपपोट गरि सरसफाईमा सहयोग गर्दछन्, चौधरीले भन्नुभयो,– ‘पुरुषले भने अट्वारीको लागि घरका एक जना घरमुलि बजार गएर विभिन्न फलफूल ल्याउनुहुन्छ, घरमा बसेकाहरु भने अन्य सामग्री जुटाउनमा सहयोग गर्नुहुन्छ ।’
त्यसपछि बेलुका ४ बजेतिर नजिकै खोलामा नुहाइधुवाई गरि गन्यारी भन्ने काठबाट आगो निकाली रोटी पकाउने गरिन्छ, उहाले भन्नुभयो –‘यसरी रोटी पकाउने बेला पहिला भीमको लागि एकतर्फी रोटी पकाएर मात्र अरु रोटी पकाउने गरिन्छ ।’ किनकी अट्वारीमा भीमको नाममा पूजा गरिने भएकोले अट्वारीमा सुरुमा भीमको नाममा रोटी पकाउने गरेको चौधरीले बताउनुभयो । पूजापाठ गर्नुभन्दा पहिले आफ्नो भागमा परेको रोटी, फलफुल, काँक्रा, दहिबाट आधा आधा आफ्नो चेलीवेटीहरुको नाममा निकालिने गर्दछौ चौधरीले भन्नुभयो–‘ त्यसपछि भीमको नाममा आगोमा पुजापाठ गर्दछौ ।’ यसरी भीमको नामा पूजापाठ गरिसकेपछि घरका सवै सदस्यहरुले एकठाउँमा वसेर विभिन्न फलफूल, रोटी, दहि खाँदै दुःख सुखको कुरा गर्दै रमाउदै अट्वारी मनाउने गरेको उहाले जानकारी दिनुभयो । त्यसपछि भोलको दिन यसैगरि विहानै उठेर नुहाईधुवाई गरि ५ देखि ७ थरिको तरकारी पकाई भीमको नाममा पूजापाठ गरि खाना खाएर विवाह भएका दिदीवहिनीहरुलाई कोशेली ‘अग्रासन’ दिने जानेगरेको चौधरीले बताउनुभयो । यसरी दुइदिनसम्म थारु समुदायले धुमधामसंग अट्वारी मनाउदै आएपनि राज्यले थारु समुदायको अट्वारीलाई उपेक्षा गरेको गुनासो गर्नुभयो । उहाले भन्नुभयो कमसे कम थारु समुदायय संग छलफलगरि सरकारी क्यालेण्डरमा तिथीमिति उल्लेख गरि कम्तीमा एकदिन सरकारी विदा दिनुपर्छ ।
थारु अगुवाहरको अनुसार खासगरि अट्वारी पर्व मनाउने मुख्य कारण ऐतिहासिक घटना संग जोदिएको छ । दाङका थारु राजा दंगीशरण र पाँच पाण्डव मध्ये भीम सम्वन्धित छ । महाभारतका पाँच पाण्डवहरु र दाङका थारु राजा दंगिशरणवीचमा लामो समयदेखि राम्रो सम्वन्ध थियो । पाँच पाण्डव र दौपदी सवैजना सुर्खेतको काँक्रेविहारमा घुम्न बेला दाङका थारु राजा दंगिशरणको राज्यमा शत्रुहरुलाई आक्रमण गर्न लागेको खवसर थाहा पाएपछि टावाम पकाउदै गरेको रोटी छोडेर पाँच पाण्डव मध्ये भीम भोखै पेटमा पानी समेत नखाई राजा दंगिसरणको पक्षमा लड्न गए । भीमले राजा दंगिशरणको पक्षमा लडेर शत्रुहरुलाई हराउन सफल भएकाथिए । त्यहि विजयी उत्सवको अवसरमा थारु समुदायले अट्वारी मनाउदै आएकाछन । भीम जस्तै बलियो हुनको लागि पानी समेत केहि पनि नखाई थारु समुदायले अट्वारी पर्व मनाउदै आएकाछन् । संयोगबस उक्त घटना आइवारको दिन परेकोले थारु समुदायले आइवारको दिन अट्वारी मनाउने गर्दछन । अट्वारी पर्व तराईका दाङ, वाँके, वर्दिया, कैलाली, कञ्चनपुर ओ सुर्खेत जिल्लाका थारु समुदायहरुले मनाउदै आएकाछन् ।