भागीराम चौधरी।
चितवनमा नेपाल र भारतमा बसोबास गर्ने थारुहरुको जमघट भयो र दूतावासकी रन्जु प्रमुख अतिथि बनिन्। थारु सांस्कृतिक नृत्य उनको आतिथ्यका लागि पस्के चितवनका थारुले। रन्जुले पनि भारत सरकारको तर्फबाट पाँच करोड सहयोग गर्ने वाचा गरिन्। थारुहरुको संस्कृति, संरक्षण र प्रवर्द्धनमा उनले गरेको सहयोगको उद्घोषले सधै देखि एक्लै खाइरहेको प्रवृतिमा अम्लिएपनको मिसावट भयो। सके खर्च गर्नु, नसके फिर्ता गर्ने तर जसका लागि छुट्टयाइएको बजेट हो, उसलाई सुँइको समेत नदिने यो हाम्रो देशको ब्राहमण खसहरुको परम्परा हो।
चितवनको कार्यक्रममा सहभागी भएर फर्केका भारतीय विद्धत साथीले महाराणा प्रताप (राना थारुहरुको पुर्खा) को जयन्तीमा लखिमपुरको चन्दन चौकीस्थित आदिवासी जनजाति परियोजना कार्यालयमा हुने सानो कार्यक्रममा सहभागीका लागि उनै नेपालका थारु साथीलाई अतिथिको रुपमा आमन्त्रित गरे। चन्दन चौकीमा भएको महाराणा प्रताप जयन्तिमा थारुहरुको कुनै त्यस्तो विष्तृत योजनावद्धको कार्यक्रम थिएन तर पनि यो कार्यक्रमले भने ठूलै चर्चा पायो। दुवै कार्यक्रममा यो लेखक उपस्थित मात्रै होइन, कार्यक्रमसम्बन्धी अलिअलि जानकार पनि थियो। मैले जे बुझेको छु, तपाईँसँग छर्लंग पार्छु तर थारुहरुको यी स-सानो दुईवटा कार्यक्रमले नेपालका ब्रहामणवादी सोचका शासक, सामान्त कसरी झस्किएका छन्? म भने आश्चार्य चकित छु!
चितवनको थारु कार्यक्रम
मेरो जानकारीमा आएअनुसार चितवनको थारु कार्यक्रममा भारतीय राजदूतलाई प्रमुख अतिथि बनाउने खुबै कोसिस गरििएकाे थियाे। तर कुनै पनि साथी विद्धतले रन्जित रेलाई उक्त कार्यक्रममा जानका लागि सिफारिस गरिदिएनन्। थारु कल्याणकारिणी सभाको विरोध रहेको उक्त कार्यक्रममा बल्ल तल्ल भारतीय दूतावासकी विरगञ्ज प्रमुख रन्जु मुख्य अतिथि बनेर गइन्। कार्यक्रमकी प्रमुख अतिथि रन्जुले सबैलाई धन्यवाद दिँदै कुनै पनि समुदाय, विद्यालय, स्वास्थ्य चौकी निर्माणका लागि दूतावासले आवश्यक प्रकृया उपलब्ध भए पाँच करोडसम्म सहयोग हुन्छ भनिन्। भारतले नेपालमा यस्तो सहयोग उपलब्ध गराउँदै आएको वर्षौ भयो। नेपालका कति अस्पताल, स्वास्थ्य चौकी, विद्यालय, विश्व विद्यालय, एम्बुसलेन्स, स्कुल बस, सेना प्रहरीका प्रतिष्ठानमा भारतले अर्बौं सहयोग प्रदान गरेको छ। त्यतिमात्रै हैन, राजनीतिक दलका नेताहरुलाई चुनाव खर्च, उनका छोराछोरीलाई छात्रवृति, बिरामी हुँदा भारतले व्यहोर्ने औषधिसम्मको हिसाब त कति होला कति? एउटा दूतावासको कर्मचारीले प्रक्रियासम्मत मात्रै कुराकानी गर्छ। भारतीय दूतावासकी कर्मचारी रन्जुले केवल प्रक्रिया पुगे पाँच करोड सहयोग गर्न सकिन्छ, भनेर मात्रै भनेकी हुन्। ती चितवनकी नाच देखाउने बहिनीहरुले कहिले प्रकृया पुगाउलान र पाँच करोड पाउलान्? यो त ती थरुनी चेलीबेटीहरुले नाचे, प्रमुख अतिथिलाई खुसी बनाए अनि साँस्कृतिक प्रवर्द्धनका लागि पाँच करोड पाउन सकिने जानकारी पाए। यो लेखक आत्माबाटै भन्छ- ती थरुनी बहिनीहरुले प्रकृया पुर्याउन र पाँच करोड पाउन।
यो चितवनको थारु भेलाको खबर पनि आणविक धुँवाजस्तै काठमाडौं भरी रंगियो। पाँच करोडको प्रकृयालाई पाँच करोड दिइयो भनेर प्रचार गरियो। अहिले थारुको भेला बैठकले झस्किएको खस, ब्राह्मण सरकार चितवनको यो खबरले ठुस्कियो। धन्न थारु नेता धनिरामले हाम्रो सहयोग छैन भने पछि लामो स्वास लिँदै सुस्केरासम्म हाल्न भ्यायो। कोशी, गण्डकी, सुस्ता, महाकालीको सम्झौतामा राष्ट्राद्रोहको खोट समेत नदेख्ने अन्धो राष्ट्रवादमा रुमलिएर थारुहरुको साँस्कृतिक प्रवर्द्धनका लागि छुट्टयाइएको पाँच करोडमा देशद्रोह देख्ने अग्रज पत्रकारहरुको नश्लवादी सोँचको परकाष्ठा पनि छर्लंगै भयो। यहीनेर स्पष्ट हुन्छ कि हाम्रो देशमा थारु जनजाति आदिवासीमाथि खसवादी ब्राह्मणको नश्लवादी दृष्टान्त कहाँसम्म रहेछ?
लखिमपुर चन्दन चौकीको कार्यक्रम
चितवनको कार्यक्रममा चन्दन चौकीका एक राना थारु पनि सहभागी बनेका थिए। चितवनको कार्यक्रम पश्चात चन्दन चौकीमा राना थारुहरुले महाराणा प्रतापको जयन्ति मनाउने निधो गरे। उनै राना थारु मित्रले नेपालबाट केही थारुहरुलाई सहभागी भइदिन अनुरोध गरे। थारु एराउण्ड दी वर्ल्डका संयोजक महावीर चौधरी, थारु नेतृ इन्दु चौधरीलगायत करिब आधा दर्जन नेपाली थारु हामी उक्त कार्यक्रममा सहभागी भयौं। एराउण्ड दी वर्ल्डका संयोजक महावीर चौधरी र नेतृ इन्दु थारुको भाषण सामान्य थियो। न आन्दोलन न त आफूले जानेको महाराणा प्रतावको बिषय, भाषण त्यसै सामान्य हुने नै भैहाल्यो। कार्यक्रममा प्रमुख अतिथि (आदिवासी जनजाति योजना प्रमुख) यू.के सिंहले भारतीय थारुले अहिले २ प्रतिशत आरक्षण पाइराखेको र अब यसलाई भारत सरकारले बढाउनुपर्नेमा जोड गरे साथै भारत र नेपालका थारुबीचमा रोटीबेटीको सम्बन्ध भएकाले नेपाली थारु छात्र, छात्रालाई समेत भारतले निश्चित प्रतिशत छात्रवृति दिनुपर्छ भने। यू.के. सिंह परियोजना प्रमुख हुन् उनले यो कुराको पहल गर्न सक्छन। अन्त्यमा आयोजकको तर्फबाट बाँडिएको एकबट्टा मिठाई खाँदै हामी नेपाल फर्क्यौ।
नेपाल फर्केपछिको अर्को दिन यसो अनलाइनहरुमा सामाचार हेरेको त थारुहरुको चन्दन चौकी, चितवनको बिषयलाई समावेश गरेको भ्रामक खबर ब्यापक रहेछ। लेखक आफैँ दुबै कार्यक्रममा प्रत्यक्ष संलग्न छु, जे वास्तविकता हो त्योमाथि उल्लेख गरिसकेको छु। यो कस्तो अचम्म? थारुसँग मधेसीलाई मिल्न पनि नदिने? थारुहरु सोझो जाति, भूमीपुत्र हुन् भन्ने थारुलाई अधिकार पनि नदिने? कहिले धनिराम र सुरेन्द्रलाई लडाउने, कहिले रेशम, रामजनमलाई भिडाउने, थारुलाई अधिकारबाट वञ्चित गराउन खोज्ने यो कस्तो न्याय? भारतले जाबो पाँच करोड रुपैयाँ थारुहरुको संस्कृति संरक्षणमा खर्च गर्छु भन्दा तपाईँहरुको टाउको दुख्ने? यत्रो वर्षसम्म हुलाकी सडकको निहुँमा, माथिल्लो कर्णालीको निहुँमा, स्कुल, क्याम्पस, अस्पताल, प्रतिष्ठान बनाउने निहुँमा कति कमिसन खानु भो तपाईँहरुले?
हो, साँच्चिकै थारुहरु सोझा छन् लाटा पनि छन्। थारु बस्तीतिरको पहाडी समुदायमा यस्तो एउटा चर्चित गफ पनि छ। थारु पहिले जान्दैन, अर्कोले नहानी हान्दैन, हानेपछि मा कसम नमारी छाड्दैन।।। यो भनाईलाई डब्बाभित्र थन्काउन सरकार सरोकारवाला सबैले मद्दत गर्नुपर्छ, होइन भने खोइ के…? खोइ के…?
दाङ
यो पनि पढ्नुस्:
‘महाकाली, कर्णाली बेच्नेहरु थारुलाई राष्ट्रियताको पाठ नसिकाए हुन्छ’