कहाँ छन् धनिराम चौधरी ?

Dhaniram Chaudhary
एक बैठकमा मास्क लगाएरै मोबाइलमा कुरा गर्दै धनिराम चौधरी।

थारु कल्याणकारिसभाका केन्द्रीय अध्यक्ष, थरुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक धनिराम चौधरी गुम्नाम छन्। उनी विगत ८ महिनादेखि गुम्नाम छन्। भदौ ७ गते अप्रत्यासितरुपमा घटेको टीकापुर घटनापछि केही दिन मिडियामा छाएका उनी एकाएक गायब बने।

घटनालगत्तै मिडियाले एउटा बहालवाला सरकारी कर्मचारीले आन्दोलनको नेतृत्व गरेको भन्दै चर्को आलोचना गरेपछि संयोजक चौधरीको जागिर नै धरापमा पर्‍यो। प्रहरीले टीकापुर कान्डमा मुख्य अभियुक्त नै बनाएपछि उनी सार्वजनिकरुपमा हिँडडुल गर्नै छाडेको उनी निकट स्रोतले बतायो।

थारु समुदाय र थारु अगुवाहरुले थारु आन्दोलन तुहाउने काम गरेको भन्दै अहिले पनि उनको चर्को आलोचना गरिरहेका छन्। संघर्ष समितिका सदस्यहरुले पनि कि डटेर आन्दोलनमा होमिनुपर्ने नत्र संयोजकबाट हट्नुपर्ने बताइरहेका छन्। तर आन्दोलन शिथिल भइसकेपनि उनी सार्वजनिक रुपमा बाहिर निस्किन सकेका छैनन्, कारण प्रहरीको पक्राउ।

स्रोतका अनुसार जागिर बचाउनका लागि धनिराम चौधरी पटक पटक तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई कहाँ पुग्ने गर्थे। कांग्रेस कार्यकर्ता भएकै कारण तत्कालीन प्रशासन मन्त्री लालबाबु पण्डितले जागिरबाट बर्खास्त गर्ने बताए पनि उनले प्रधानमन्त्री कोइरालाबाट जागिर बक्सिस पाएका थिए।

प्रहरीबाट बच्न भने केही माननीयको डेरामा बस्ने गरेको स्रोतले बतायो। थारु कल्याणकारिणी सभाको बैठक होस् वा संघर्ष समितिको बैठक, उनी मास्क लगाएर बैठकमा सहभागी हुन्छन्। माननीयकै स्कर्टिङमा उनी बाहिर निस्किन्छन्। स्रोतकाअनुसार उनी शंखमुलस्थित एक थारु नेताको घरमा सेल्टर लिएर पनि बस्ने गरेका छन्।

टीकापुर कान्डपछि उनले मोबाइल नम्बर पनि परिवर्तन गरेका छन्। चिनेका नम्बरबाहेक अरु फोन आए बेवास्ता गर्नेगरेको स्रोत बताउँछ। फोन उठाउन परे मास्क लगाएरै कुराकानी गर्ने गरेको स्रोतले बतायो।

केपी ओली नेतृत्वको सरकारले आन्दोलनरत पक्षलाई चैत अन्तिमसम्मको म्याद दिएको छ। चैतपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले फेरि आन्दोलन गर्ने बताइरहेका छन्। तर थारुहरुको संघर्ष समिति गुम्नाम छ, धनिराम चौधरीजस्तै।

आखिर कहाँ छन् त धनिराम चौधरी?

Leave a Reply

Your email address will not be published.